|

काठमाडौं : नेपाली सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई स्थानीय तहसम्मै फैलाउन गृहकार्य शुरु गरेको छ।

सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी संयन्त्र विस्तार गर्न लाग्यो भनेर यतिबेला चर्चा परिचर्चा भइरहेको छ। यसै विषयमा न्यूज एजेन्सी नेपालले सेनाले फैलाउन लागेको गुप्तचरी संयन्त्रको उपादेयता र कामको बारेमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलसँग कुराकानी गरेको छ। प्रस्तुत छ पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश।

सैनिक गुप्तचरी संयन्त्र फैलाउने भन्ने विषय विषय के हो?  

सैनिक गुप्तचरी (मेलिटिरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो, अनौठो विषय होइन। प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा गर्ने विषय नै हो। अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि प्रत्येक देशको सेनाले जानकारी भएका अर्थात ज्ञात सुरक्षा सम्बन्धी खतराहरुको अनुगमन गर्ने त्यसको मुल्यांकन गर्ने, प्रवृति विश्लेषण (ट्रेण्ड एनलाइसिस) गर्ने र भविश्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुलाई पनि आकलन गरिरहने एक नियमित प्रक्रियाको पाटो मात्रै हो। त्यसैले यसलाई यही ढंगले बुझ्दा उपयुक्त हुन्छ जस्तो लाग्छ। 

यसले सेनाको नियमित कामलाई कहाँ कसरी सहयोग गर्छ?

मुख्यरुपमा सेनाको भूमिका भनेको राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा आफ्नो भूमिका निर्वाह गर्ने हो र संविधानले दिएको भूमिकालाई निर्वाह गर्छ। सही र सामयिक सूचना र प्रभावकारी सूचना संयन्त्र जसको व्यापकता र जसको विशेषता अथवा जसको क्षमताको आधारमा सूचना संकलन हुन सक्यो भने समयमा नै यस्ता खतराहरुको आकलन गर्न सकिन्छ र सोही अनुसारको पूर्वतयारीहरु गर्न सकिन्छ।

तालिम सम्बन्धी पूर्वतयारी होस्, थप सूचना संकलन गर्नुपर्ने पूर्वतयारी होस्, अथवा विश्लेषण र आफ्नो गतिविधिको प्राथमिकता तय गर्ने विषयमा होस् यसले सैनिक संगठनहरूलाई मद्दत पुर्‍याउने भएको हुनाले सूचना संकलन सैनिक दृष्टिकोणबाट ठूलो महत्व राख्दछ।

सेनाले गर्ने भनेको दूरगामी प्रकृतिका सुरक्षा चुनौतीलाई ध्यानमा राखी सूचना सूचना संकलन गर्ने हो। जबजब सूचना सामूहिक रुपमा र प्रभावकारी ढंगले हामीले संकलन गर्न सक्दैनौं, तबतब राज्यले क्षति बेहोर्नुपरेको अवस्था हामीले देखेका छौं।

त्यसले सेनाको सुरक्षा संयन्त्र प्रभावकारी हुनु भनेको अन्तत्वगत्वा राष्ट्रिय सुरक्षा सुदृढीकरण हुनु हो भन्ने हामीले बुझ्न आवश्यक छ। त्यसले सैनिक संगठनलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा सूचना संकलन गर्न अत्यन्तै महत्वपूर्ण र सहयोगको भूमिका हुन्छ। 

हाम्रो राज्य संयन्त्रभित्र सूचना संकलन गर्ने भिन्नै निकायहरू छन्। ​गुप्तचरी संयन्त्र र सेनाले संकलन गर्ने सूचनाहरू मिसिँदा कतै अन्तरविरोध पो हुने हो कि?

सबै संगठनको आफ्नो आफ्नो संवैधानिक दायित्व छ र उनीहरूको कार्यको प्रकृति फरक–फरक छ। तपाईंले इंगित गर्न खोज्नु भएका सुरक्षा निकायहरूको दिनानुदिन गरिने जिम्मेवारीहरूमा आवश्यक पर्ने सूचनाको प्रकृति फरक छ र सेनाले आफ्नो लागि आफ्नो पूर्वतयारीको लागि आवश्यक पर्ने सूचना संकलन गर्ने त्यसको प्रकृति र विषयवस्तुहरु फरक भएको हुनाले यस्तो विषयमा अन्तरविरोध हुने सम्भावना मैले न्यून देख्दछु।

तर अवश्य पनि विभिन्न सुरक्षा निकायका अथवा विभिन्न सूचना संकलन गर्ने संयन्त्रहरूबीच समन्वयको भने राम्रो आवश्यकता पर्दछ। जसले गर्दा सही र सामयिक सूचना अन्तत्वगत्वा सरकारले नै प्राप्त गर्ने हो। 

सीधा हेर्दा सेनालाई चाहिएको सूचना संकलन गरिन्छ भन्नुभयो। तर राज्यले कसरी प्राप्त गर्न सक्छ?

यसलाई कसरी बुझ्नु उपयुक्त हुन्छ भन्दा सेनाले सैनिक दृष्टिकोण र सैनिक आवश्यकता पूर्ति गर्नका लागि संकलन गर्ने सूचनाहरु राज्यको दैनिक अथवा नियमित कार्यप्रक्रियाहरूमा आवश्यकता पर्दछ जस्तो मलाई लाग्दैन।

किनभने यो दीर्घकालीन रुपमा उत्पन्न हुन सक्ने सुरक्षा सम्बन्धी खतराहरूलाई तयार पारिएको हुन्छ र कम्ब्याट इन्टेलिजेन्स भन्छौं, हामी सो सम्बन्धमा आधारित रहेर सूचना संकलन गरेको हुनाले राज्यको नियमित प्रक्रियामा यसको भूमिका अलिकति न्यून नै रहन्छ।

तर स्वभाविक रुपमा सेनाले राज्यलाई नै सहयोग गर्ने भएकोले बृहत्तर सुरक्षा सम्बन्धी संवेदनशीलता (लार्जर सेक्युरिटी इन्ट्रेष्ट) अथवा त्यस्तो किसिमको सुरक्षासम्बन्धी विषयमा आवश्यक परेको खण्डमा राज्यले सेनासँग सो सम्बन्धी विषयवस्तुहरूमा इनपुट माग्न सक्छ र हामी त्यो दिन सक्छौं। 

बजारमा फैलिएका अफवाहहरु बारे केही स्पष्ट पार्न चाहनुहुन्छ?  

मुख्यरुपमा बुझ्नुपर्ने कुरा के हो भन्दा अहिलेको विश्व परिवेशमा सूचना संकलन अत्यन्तै महत्वपूर्ण विषय हो। सूचना संकलन सैनिक दृष्टिकोणले मात्रै सिमित रहेको छैन।

आजभोलि आर्थिक सूचना संकलन पनि एउटा महत्वपूर्ण राष्ट्रिय सुरक्षाको पाटो रहेको छ। मुख्यरुपमा के हो भन्दा सूचना संकलनको प्रक्रियामा ओपन सोर्स इन्टेलिजेन्स अत्याधिक मात्रामा प्रयोग हुन्छ।

त्यसको मतलब हामी सबैजना व्यक्तिहरू सूचनाको स्रोत हुन सक्छौं। तर त्यसको अर्थ सबै जना सेनाको लागि अथवा अमुक संस्था विशेषको लागि इन्फर्मर हुन भन्ने बुझाइ गलत हुन्छ।

हामी सबै नै सूचनाका लागि कुनै न कुनै ढंगले हाम्रो विशेषज्ञताको कारणले विज्ञताको कारणले जसको कुनै सुरक्षाको आयाम त्यसमा जोडिएको हुनसक्छ। त्यसले गर्दा सूचनाको स्रोत चाहिँ हुन सक्छौं।

तर जुन आधिकारिक रुपमा इन्टेलिजेन्स वर्ल्ड इन्फर्मर भनेर चिनिन्छन् त्यस्तो किसिमको इन्फर्मर सबै होइनन्। त्यो किसिमले बुझिदिन एकदमै आवश्यक छ। जुन मिसकन्सेप्सन अथवा मिसप्रसेप्सन छ त्यो आवश्यक छैन जस्तो लाग्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.