महाप्रवन्धक न्यौपाने भन्छन् : मर्मत गर्नुपरेकाले उत्पादन घटेको हो

|

उदयपुर : उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकमा गोपी न्यौपानेले कार्यभार सम्हालेपछि उत्पादन घटेको छ। महाप्रबन्धकमा न्यौपाने नियुक्ति भएको ४५ दिनमा उद्योगले जम्मा ११ हजार मेट्रिकटन मात्र उत्पादन भएको छ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक पाएको थियो। उनले नियुक्ति पाएको हिजो शुक्रबार जम्मा ४५ दिन पुगेको छ। न्यौपाने महाप्रबन्धक नियुक्ति भएर आएसँगै अहिलेसम्म ११ हजार मेट्रिक टन मात्रै क्लिङकर उत्पादन भएको क्लिङकर उत्पादन विभागको प्रबन्धक रविचन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार माघ महिनाभरिमा ७ हजार ५ सय र फागुन महिनाको १४ गतेसम्म ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन भएको उनका अनुसार मेसिनरी सामान भएकोले बिग्रिने चल्ने भएकोले उत्पादनमा कम भएको जनाएको छ।

उद्योगले दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता भए पनि दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आए पनि पछिल्लो समय उत्पादनमा ह्रास आएको छ। नव नियुक्त महाप्रबन्धक न्यौपाने आएपछि झनै उत्पादनमा ह्रास आएको उद्योगका एक कर्मचारीले जानकारी दिए।

मर्मतका कारण उत्पादन घटेको दाबी

नवनियुक्त महाप्रबन्धक आएको ४५ दिनमा सरदर दैनिक २ सय ४५ मेट्रिक टनमा झरेको छ। यता, महाप्रबन्धक न्यौपाने उद्योगको मर्मत धेरै गर्नुपरेकाले उद्योग सञ्चालनमा कठिन भएको बताएका छन्। ‘उद्योग पूर्ण रुपमा मर्मत गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसको तयारी गर्दै छु, त्यही भएकाले उत्पादन घटेको छ।’

आर्थिक वर्ष २०७५-७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट बिक्री भएको थियो भने आर्थिक वर्ष २०७६-७७ मा नोभेल कोरोनाका कारणले १६ लाख ४१ हजार ४७ बोरामा सीमित भयो।

यस्तै, चालु आर्थिक वर्षको सिमेन्ट बिक्री गर्ने लक्ष्य २७ लाख ७२ हजार बोरा भए पनि अहिलेसम्म १० लाख २२ हजार ८ सय ९१ बोरा सिमेन्ट मात्रै बिक्री भएको बिक्री विभाग प्रमुख रामबहादुर जिसीले जानकारी दिए।

बजार क्रमशः खुम्चँदै

२६ वर्षदेखि त्रियुगा नगरपालिका–११ जलजलेमा अवस्थित उद्योगको सुरुवाती समयमा देशभर एक हजार एक सय डिलर थिए। अहिले घटेर करिब दुई सय डिलर मात्र छन्। यी डिलरले समेत सिमेन्ट बिक्री गर्न आनाकानी गर्दै आएका छन्।

उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट बिक्री गर्ने डिलरलाई प्रतिबोरा १५–२० रुपैयाँ मात्र कमिसन दिइरहेको छ। तर, निजी क्षेत्रका उद्योगले डिलरलाई सय रुपैयाँसम्म कमिसन दिइरहेका छन्। सिमेन्ट खोज्दै आउने ग्राहकलार्ई डिलरले बढी कमिसन पाउने निजी उद्योगकै सिमेन्ट प्रस्ताव गर्छन्। अर्कातिर निजी क्षेत्रको तुलनामा उदयपुरको गैँडाछाप सिमेन्ट अलिक महँगो पनि छ।

उद्योगले ५३ ग्रेडको ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ। निजी क्षेत्रको भन्दा उच्च गुणस्तर र लागत पनि महँगो पर्ने भएकाले बजार मूल्य बढी भएको उद्योगको तर्क छ।

उद्योग २०४४ सालमा स्थापना भई २०५१ सालदेखि व्यावसायिक उत्पादन शुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.