|

सिमरा : प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले लाईसेन्स र अन्य कागजपत्रबिना सडकमा कुद्ने ट्याक्टरको चेकजाँचमा कडाइ गरेको छ।

आवश्यक काजगपत्रबिना जथाभावी सडकमा गुडेका ट्क्याकटरका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले प्रदेश २ का ८ जिल्लामा ट्क्याटरहरुमा चेकजाँच बढाएको हो। 

‘हामीले अहिले दैनिक २ सय ५० भन्दा बढी ट्क्याटरहरुको लाइसेन्स, बिलबुक नवीकरण, अगाडि पछाडि नम्बर प्लेट स्पष्टसँग भए-नभएको हेडलाइट, ब्याकलाइट र सडकमा रोकिराखेको ट्‌याक्टरको पछाडि रिफ्लेक्टिङ पेपर छ/छैन चेकजाँच गरिरहेका छौँ’ प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख हिमालय कुमार श्रेष्ठले भने, ‘ट्रलीसहित गुड्ने ट्याक्टरहरुको हकमा अगाडि, पछाडि लाइट, नम्बर प्लेट नहुँदा दुर्घटना बढेको छ।’

पछिल्लो ३ महिनाको तथ्यांक केलाउँदा प्रदेश २ आठ जिल्लामा सबैभन्दा धेरै दुर्घटना ट्याक्टरको कारणले भएको भेटिएको छ। गएको मंसिरदेखि माघ मसान्तसम्म राजमार्गमा भएको ६३ वटा ठूला दुर्घटनामा ६२ जनाको  ज्यान गएको छ भने भित्री सडकमा भएको ८९ वटा दुर्घटनामा ९१ ज्यानको मृत्यु भएको छ।

सोही अवधिमा ११ सय १३ वटा साना दुर्घटना भएको  तथ्यांकमा उल्लेख छ।  यी दुर्घटनामा सबैभन्दा धेरै ट्याक्टरको लापरबाहीको कारणले हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

ठूलो सरकारी राजस्व छुटमा कृषि प्रयोजनका लागि खरिद भएका ट्क्याकटरहरु खोलाजन्य र उद्योगका अधिक  भार  बोकेर सडकमा गुड्ने गरेका छन्। अधिक भार बोकेर अनियन्त्रित ढंगले गुडेका टक्याक्टरले  अन्य सवारीसाधन र पैदल यात्रुलाई ठक्कर दिँदा  धेरै दुर्घटना हुने गरेको छ। 

‘अहिले १५ देखि २० प्रतिशत दुर्घटना ट्याक्टरकै कारण भएको देखेपछि हामीले यसलाई पनि मापदण्डभित्र ल्याउनुपर्छ भन्ने ध्येयले यी सवारीसाधनहरूको लाइसेन्स, काजगपत्र ठिक छ कि छैन चेकजाँच गरेर कारबाही गरिरहेका छौँ’ उनले भने।

ट्राफिक प्रहरीले मूल तथा भित्री सडकमा गुड्ने ट्याक्टरहरूको चेकजाँच गरेर चालकलाई सम्झाइबुझाइ केही दिनभित्र हेडलाइट, ब्याकलाइट, स्पष्ट देखिने गरी नम्बर प्लेट, साइड ऐना राखेर मात्रै सडकमा गुडाउन सुझाव दिएर चालकलाई छोड्ने गरेको छ।

जरिवाना काटेको सवारीलाई समेत दु:ख दियो : चालक

ट्याक्टर चालकहरुले भने जरिवाना काटेको सवारीसाधनलाई समेत २४ घण्टा नबित्दै सडकमा रोकेर ट्राफिक प्रहरीले दु:ख दिएको गुनासो गरेका छन्। विगतमा लापरबाही ढंगले गुडेका ट्क्याक्टरहरु अकस्मात चेकजाँच हुँदा आफूहरूलाई के गर्ने भन्ने ज्ञानसमेत नभएको चालक हिराबहादुर क्षेत्रीले जनाएका छन्।

‘यस्तो नियम अहिलेसम्म हामीलाई थाहा थिएन अहिले एक्कासि ट्राफिकले ब्‍याकलाइट, पछाडि देखिनेगरी नम्बर प्लेट, ऐना चाहियो भनेपछि हामीले कहाँबाट ल्याउने, ब्‍याकलाइट घरमा छ, जरिवाना काटेर पनि हाम्रो सवारीसाधन रोकेर राखेपछि घर कसरी जाने?’ चालक क्षेत्रीले गुनासो गर्दै भने।

सरकारले कृषि कर्मका लागि राजस्व छुटमा किसानहरुलाई दिएको अधिकांश ट्याक्टरहरू  व्यावसायिक प्रयोजनका लागि प्रयोग भएको भेटिएपछि ट्राफिक प्रहरीले सवारीसाधनको बिलबुकमा कुन प्रयोजनका लागि खरिद गरिएको भनी कडाइका साथ चेकजाँचमा गरेको छ।

‘कृषि प्रयोजनका लागि किनिएको ट्याक्टर भए पनि खेतको काम सकेपछि चालकलाई घर पोसेर राखेर त भएन नि ज्याला दिनुपर्‍यो, किस्ता तिनुपर्‍यो’ चालक क्षेत्रीले भने।

सामान्यतया बजारमा १८ लाख पर्ने ट्याक्टर सरकारी कृषि प्रयोजनका लागि छुटमा लिँदा १० लाख पर्ने चालकहरुले जनाएका छन्। यी छुटका ट्याक्टरहरू कृषकले खोजेको समयमा खेती गर्नलाई नभेटिने तर खोलातिर भने सयौँको संख्यामा लावालस्करसहित देखिने गरेको छ।

सरकारले छुटमा दिएको ट्याक्टरमा सवारी धनीले टेलर जडान गरेर खोलामा बालुवा, ढुंगा, गिटी र उद्योगका रड, फलाम बोक्न प्रयोग गरेको प्रदेश २ ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.