ओलीसँग १०० बढी सांसद् रहेको दाबी

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन्।

संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको भट्टराईको भनाई छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले ओलीको पक्षमा बहुमत सांसदहरू रहेको जिकिर गरे। उनले भने,‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ। तर, म दावाका साथ भन्छु उहाँ बहुमतमा हुनुहुन्छ। आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं।’

जनताले नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरू भएको उनले बताए। ‘ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरु भयो। यसको आभाष पाउनेबित्तिकै उहासँग दुई वटा विकल्प थिए। एउटा आत्मसमर्पण गर्ने, अर्को संसद् विघटन गर्ने’ भट्टराईले भने,‘यो बाहेक उहाँसँग अर्को विकल्प थिएन। भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो।’

संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरूले त्यहीँ प्रतिवाद गर्ने भट्टराईको भनाई छ। उनले आफूहरूले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए। चितवनको सभास्थल छोडेर काठमाडौं आएका प्रचण्ड–नेपाल हस्याँङफस्याँङ गर्दै अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै उनले आलोचना गरे।

प्रचण्ड र माधव नेपाललाई अहिले पनि सच्चिने ठाउँ रहेको उनले बताए। त्यसको लागि प्रचण्डले पार्टी कमिटि बैठकमा पेश गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने शर्त राखेका छन्। उक्त आरोपपत्र फिर्ता, संसदको पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्वीकार गर्नुपर्ने उनले धारणा छ।

ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरूले डटेर सामना गर्ने भन्दै उनले पार्टीका सांसदहरुले ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने चेतावनी दिए। उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे। कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि उनको भनाई छ। निर्वाचन आयोगले ओली समूहलाई नै आधिकारिकता दिने उनले दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.