|

पर्वत : कोरोना कहरपछि गण्डकी प्रदेशमै पहिलो ‘दोस्रो मगर महोत्सव’ पर्वत सदरमुकाम कुस्मा बजारमा सुरु भएको छ। मगर जातिका कला र संस्कृति प्रदर्शन गर्ने तथा मगर संग्राहलय स्थापना गर्न आवश्यक बजेट जुटाउन ३९ औँ मगर दिवसको अवसर पारेर शनिबारदेखि महोत्सव सुरु भएको हो।

मगर जातिका कला, संस्कृति, भेसभुसालगायतलाई राख्ने गरी सङ्ग्रहालय निर्माण गर्न पर्वतमा मगर महोत्सवको आयोजना गरिएको हो। पुन युवा क्लबको आयोजनामा फागुन २५ गतेसम्म सञ्चालन गरिएको  क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक कृष्ण पुनले बताए।

‘कला संस्कृतिको सम्बद्र्धनमा ऐक्यबद्धता खेल, व्यापार तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता’ भन्ने नाराको साथमा आयोजना गरिएको महोत्सवबाट बचत भएको रकमलाई सङ्ग्रहालय बनाउन खर्चिने गरी महोत्सवको आयोजना गरिएको उनको भनाइ छ। महोत्सवमा मगर जातिका आफ्नै मौलिक कला, संस्कृति, संस्कार, भेसभूषा, गीत, नृत्य लगायतका धेरै कुराहरू लोपोन्मुख अवस्थामा पुगेका संस्कृतिहरू प्रदर्शन गरिने छ।

२०७५ सालमा लगाइएको महोत्सवबाट बचत भएको रकम सहित अहिलेको महोत्सवबाट बचत हुने पैसाबाट सङ्ग्रहालयसहित अन्य क्षेत्रमा पनि खर्च गर्ने क्लबले बताएको छ।

जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, उद्योग, व्यापार, तथा व्यवसायको प्रवर्द्धनमा सहयोग गर्ने, खेलकुद तथा संस्कृतिको विकासमा सहकार्य गर्ने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्नेलगायत लक्ष्य लिइएको पनि अध्यक्ष पुनको भनाइ छ।

२०७५ सालमा पहिलो पटक मगर महोत्सवको आयोजना गरिएको भए पनि कोरोनाको जोखिमको कारण गत वर्ष रोकिएको महोत्सव यस वर्ष भने कोरोनाको प्रभाव केही कमजोर भएको बेलामा आयोजना गरिएको हो।

महोत्सवका आकर्षणका रूपमा एक लाख ५१ हजार प्रथम पुरस्कार राखिएको खुला भलिबल प्रतियोगिता, मगर जातिको पुर्ख्याैली नृत्य प्रतियोगिता, रत्यौली तथा भजन प्रतियोगिता, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बञ्जिजम्प अवलोकन, गुफाहरूको अवलोकनसहित कलाकारहरूको प्रस्तुति राखिने छ।

करिब ७२ लाख आम्दानी हुने लक्ष्य राखिएको महोत्सवबाट करिब २१ लाख रुपैयाँ बचत गर्ने लक्ष्य आयोजकले राखेको छ। महोत्सवमा दुई सय २० ओटा व्यावसायिक स्टल राखिने छ।

कोरोना कहरपछि गण्डकी प्रदेशमा यो नै सबैभन्दा लामो १० दिने महोत्सव आयोजना भएको हो। महोत्सवको प्रतिनिधि सभा सदस्य पदम गिरीले उद्घाटन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.