|

सिमरा (पर्सा) : पर्सा राष्ट्रिय निकुञ्जभित्रको सबैभन्दा ठूलो प्राकृतिक पानीको स्रोेत हलखोरिया दहको सफाई तथा संरक्षणमा निकुञ्ज जुटेको छ। दुर्लभ वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको हलखोरिया दह संरक्षणको अभावमा सुक्दै गएपछि निकुञ्जले सफाइ सुरु गरेको हो।

बर्खायामको पानीलाई सञ्चित गर्ने र जमिनमुनिको पानीलाई समेत रिचार्ज गरी चराचुरुङ्गी तथा वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गर्न सफाइ सुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। जलचर, चराचुरुङ्गी तथा वन्यजन्तुहरुलाई पानीको व्यवस्था गर्न मिचाहा प्रवृतिका झारहरु दहबाट निकालिएको यादवले जानकारी दिए। उनले भने, ‘हलखोरिया दह संरक्षण गर्न सके वन्यजन्तुलाई पानीको व्यवस्था मात्रै होइन बाराको पर्यटन प्रवर्द्धन गर्न समेत मद्दत पुग्दछ।’

दलदले जमिन भएको उक्त दह चराचुरुङ्गी तथा दुर्लभ वन्यजन्तुको बासस्थान तथा क्रिडास्थलको रुपमा चिनिन्छ। सफाइ गरेसँगै दहको स्वरुप नै  परिवर्तन भएको छ। १४ जना स्थानीय युवा परिचालन गरेर दुई साता लगाएर दहको सफाइ गरिएको छ। हलखोरिया दहसँगै निकुञ्जले अगामी दिनमा निकुञ्जभित्रका कामिनी दह, रामहोरी भाटालगायत दर्जनौं प्राकृतिक पानीका स्रोत भएका साना दहहरुको समेत सफाइ गर्ने योजना बनाएको अधिकृत यादवले बताए। जाडो छल्न साइबेरिया बाट आउने सारसदेखि स्थानीय प्रजातिका चराचुरुङ्गी क्रिडास्थलको रुपमा यहाँको दल रहेका छन्।

१६ हेक्टर क्षेत्रफलमा फैलिएको हलखोरिया दहको वरपर गैंडालाई मनपर्ने ‘नरकट’ नामका घाँस पाइन्छ। त्यसैले यस क्षेत्रमा गैंडा, दुर्लभ पाटे बाघ लगायतका वन्यजन्तु पनि देखा पर्ने गर्दछन्। प्रदेश २ को एक मात्र उक्त निकुञ्जले उक्त दहमा छिट्टै गोही समेत छोड्ने योजना रहेको जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.