झन्झटिलो कानुनी प्रावधान र उपकरणको अभाव

|

म्याग्दी : म्याग्दीका धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा तामाखानी झन्झिटिलो कानुनी प्रावधान र आधुनिक उपकरणको अभावमा सञ्चालनमा आउन सकेको छैन।

रघुगंगा गाउँपालिका–६ मा पर्ने ठाडाखानी गाउँको शिरानमा पर्ने रुमले भीर, धौलागिरि गाउँपालिका–५ मल्कबाङको मल्काबाङे भीर र मालिका गाउँपालिकाको ओखरबोटका साथै बेनी नगरपालिका–३ को चिनाखेत भीरमा रहेका १७ वटा तामाखानी छन्। खानीबाट तामा उत्खनन् नुहँदा सरकारले करोडौं रुपैयाँ राजस्व गुमाउनुका साथै स्थानीयहरु आयआर्जन गर्नबाट बञ्चित भएका छन्। 

रुमले भीरको तामाखानी करिब १०६ वर्षअघि १९७१ सालमा बन्द भएको थियो। उक्त खानी सञ्चालनमा स्थानीय र प्रदेश सरकारले कुनै चासो नदेखाएको स्थानीयहरु बताउँछन्। त्यसैगरी धौलागिरि गाउँपालिका–५ मल्कबाङका तामाखानीहरु पनि वर्षौदेखि सञ्चालनमा नआउँदा पुरिन थालेका छन्। करिब एक सय वर्षअघि स्थानीयवासीले ती खानीबाट तामा निकालेर घरयासी भाडाबर्तन बनाउने गर्दथे। तर, तत्कालीन सरकारले खानी उत्खनन् गर्नेहरुबाट बढी कर लिन थालेपछि बन्द भएको स्थानीयहरु जानकारहरु बताउँछन्।

मल्कबाङ गाउँमा मात्र एक दर्जनभन्दा बढी तामाखानी छन्। खानी उत्खनन् गर्नु स्थानीय छन्त्याल समुदायको पुर्ख्यौली पेशा हो। त्यहाँका पहाडमा तामा उत्खनन गरेका सुरुङहरु छन्। ‘पाखाभरि प्रशस्त तामाखानीहरु छन्, प्रयोगमा नआएपछि पुरिन थाले,’ स्थानीय दलमान छन्त्यालले भने, ‘माल पाएर पनि चाल नपाएपछि टुलुटुलु हेर्ने बाहेक हामीसँग विकल्प रहेन।’

तामाखानी सञ्चालनका लागि झन्झटिलो कानुनी प्रक्रिया र उपकरणको अभाव नै मुख्य समस्या भएको छन्त्यालको भनाइ छ। सरकारले सहज कानुनी व्यवस्था गर्नुका साथै सीप र प्रविधि उपलब्ध गराउन सके खानी सञ्चालनमा ल्याउन कुनै समस्या नरहेको रघुगंगा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य टेकजित छन्त्याल बताउँछन्। तामाखानीहरुको अध्ययन र अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउन स्थानीयले बारम्बार माग गरिरहेको उनले बताए। 

गाउँमै प्रकृतिक स्रोतसाधन भएर पनि उपयोग गर्नबाट बञ्चित भएको स्थानीय हिमाली छन्त्यालले बताए। उनले भने, ‘यहाँको तामाखानी सञ्चालनमा आउने हो भने रोजगारीका लागि खरबका खाडीमा जानु पर्ने बाध्यताको अन्त्य हुनुका साथै सरकारलाई पनि प्रसस्तै आम्दानी हुने थियो।’ आफ्ना पुर्खाहरुले खानी खनेका ठाउँ वरपर अहिले पनि तामाका धाउहरु भेटिने भएकाले यस क्षेत्रमा तामाखानीको सम्भावना अध्ययन गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ। तत्कालीन सरकारले खानी उत्खनन गर्नेहरुबाट बढी ‘भेजा’ (कर) लिन थालेपछि छन्त्याल समुदायले पुर्ख्यौली पेशा छाडेको उनले बताए।

मल्कबाङका घरहरुमा आजभन्दा १७१ वर्षअघि गाउँमै रहेका खानीबाट उत्खनन् गरिएको तामाबाट बनाइएका भाँडाहरु समेत छन्। स्थानीय लालबहादुर छन्त्यालको घरमा वि.सं. १९०४ सालमा बनाइएका भाँडाकुडा अहिले पनि छन्। सामानमा मिति उल्लेख भएका ६ माने पाथी र गाग्री रहेको उनले बताए।

धौलागिरि गाउँपालिकाको मल्कबाङसँगै वडा नम्बर १ गुर्जा, वडा नम्बर ७ मच्छिम, धारापानीलगायतका क्षेत्रमा समेत तामा, फलाम लगायतका खानी खनेका सुरुङ छन्। गाउँपालिकाभित्र रहेका यस्ता खानीका सुरुङहरुलाई संरक्षण र सम्भाव्यता अध्ययनका लागि गाउँपालिकाले नीति बनाए पनि कार्यान्वयन आउन नसकेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल बताउँछन्।

ठाडाखानीका स्थानीयवासी सुजन छन्त्यालले तामाखानी वर्षौंदेखि अलपत्र अवस्थामा रहँदा पनि स्थानीय सरकारले कुनै पहल नगरेको बताउँछन्। ‘हामीले स्थानीय सरकारबाट धेरै आशा गरेका थियौं। तामाखानी सञ्चालन, मालिकाको धुरीसम्म मोटरबाटोको पहुँच, केन्द्रीय लाइनको बिजुलीलगायतका धेरै सुविधाहरु पाइन्छ कि भन्ने लागेको थियो,’ छन्त्यालले भने, ‘तर तीन वर्ष बितिसक्दा पनि मालिकाको धुरीसम्म मोटरबाटो खन्नका लागि वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गर्नुबाहेक अन्य कामहरुबारे कुनै पहल भएको छैन।’

ठाडाखानी छन्त्याल र विश्वकर्माहरुको मात्रै बसोबास रहेको बस्ती हो। यहाँ रहेका ७५ परिवार छन्त्याल र १० परिवार विश्वकर्माहरुका पुर्खाहरुले करिब सय वर्षअघि रुमले भीरको तामा खनेर बिक्री र अन्नसँग साटेर जीवनयापन गर्ने गर्दथे। तर, तत्कालीन सरकारले अत्यधिक भेजा लिन थालेपछि तामा खानी बन्द गरेर बैकल्पिक पेशामा लाग्नु परेको रघुगंगा गाउँपालिका–६ का वडासदस्य समेत रहेका टेकजित छन्त्याल बताउँछन्। उनका अनुसार यस क्षेत्रमा अझै तामा खानीका पाँचवटा सुरुङ रहेका छन्। सुरुङको प्रवेशद्वारबाट दुई मिटरभित्र छिर्दा तामाका धाउहरु देख्न सकिन्छ। तामाखानी सञ्चालनका लागि स्थानीयवासीले गाउँपालिका र सरोकारवालाहरुलाई आग्रह गरिरहे पनि सुनुवाई नभएको वडा सदस्य छन्त्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.