|

म्याग्दी : पैदल हिँड्दा समेत आङै जिरिङ्ग हुने भीर! वर्षौंदेखि त्यही भीर हुँदै गाउँ–शहर आउजाउ गर्नुपर्ने बाध्यतामा रहेका दर्मिजा, चिमखोला,कुइनेमंगले लगायत क्षेत्रका बासिन्दाहरू!!

अब भने यहाँका बासिन्दा मोटर चढेर यो भीरलाई छिचोल्दै गाउँ–शहरमा पुग्न थालेका छन्‌। सडकसँगै सहजता र विकास गाउँमा भित्रिएको उनीहरूले महसुस गरेका छन्‌।

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि वडा नं ७ चिमखोला जोड्ने मोटरबाटो विस्तार ​वि.सं. २०७४ सालको माघदेखि गर्न थालिएको थियो। सडकको ट्रयाक खोल्ने काम सदरमुकाम बेनीदेखि रघुगंगाको मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भीरमा पुगेर रोकिएको थियो।

तीन वर्षसम्म लगातार प्रयास गरेपछि सडकको ट्रयाक निर्माणले पूर्णता पाएको हो। यो सँगै दर्मिजा,चिमखोला र कुइने मंगले लगायतका गाउँको मुहार विकास प्रवाहमा समेटिएको हो।

रघुगंगाा गाउँपालिका-७ चिमखोलाका ७९ वर्षीय पार्थबहादुर थापा जीपबाट झरेपछि दंग परे। पहिलोपटक जीप चडेर बेनीबाट आफ्नो गाउँ पुगेका थापाको चाउरिएको मुहारमा मुस्कान भरियो। ‘विकास-विकास भन्थे, कस्तो हुँदो रै'छ त भन्ने लाग्थ्यो,यस्टो पो हुँदो रै'छ,’ उनले भने 'जाँदा त खुब डर लागेको,फर्कँदा त पटक्कै लागेन।'

थापा मात्रै होइन, चरो नअडिने भीरमा मोटरगाडी गुड्न थालेपछि त्यस क्षेत्रका प्रायः सबै मानिसहरू दंगै परेका छन्। सडक र यातायातसँग विकासको के साइनो हुँदो रहेछ भन्ने कुरा यहाँका स्थानीयले बल्ल बुझ्न थालेका कुइनेमंगलेका हरि छन्त्यालले बताए।

देख्दै डरलाग्दो ‘अजिङ्गर भीर’ मा सडक निर्माण भएपछि रघुगंगा गाउँपालिका– ४ दर्मिजा, वडा नम्बर ७ चिमखोला र वडा नम्बर ८ कुइनेमंगले क्षेत्रका करिब ८ सय घरधुरी प्रत्यक्ष लाभान्वित बनेका हुन्।

आफ्नै जीवन कालमा यो भीरको बाटो हुँदै मोटर चढेर गाउँ र शहरमा आवत जावत गर्न सकिएला भन्ने कल्पना सम्म नगरेका यहाँका वृद्धवृद्धाहरू अहिले खुशीले दङ्गदास परेका स्थानीय अंकित पुनले बताए।

उनीहरूलाई सडक कसरी बन्यो? कति पैसा खर्च भयो? पैसा कुन सरकारले दियो? आदि कुराहरूको पनि चासो बढ्दै गएको छ। यस संवाददातासँग सँगै गाडीमा बसेका फबहादुर छन्त्यालले निकै चासोका साथ सोधे, 'थोरैमोरै खर्चले त के सकिन्थ्यो होला र? ज्यादा पैसो लाग्यो होला है बाबु!'

रघुगंगा गाउँपालिका र तुँदी पावर कम्पनीको साझेदारीमा यस वर्ष अजिङ्गर भीरमा सडक निर्माण गरिएको हो। कडा चट्टान भएको यस भीरमा विष्फोटक पदार्थको समेत प्रयोग गरी यस वर्ष करिब ८ सय मिटर सडक निर्माण भएपछि सडकको ट्रयाक निर्माणले पूर्णता पाएको हो।

यस भीरलाई लक्षित गरी चालू आर्थिक वर्षमा वडा नम्बर ७ चिमखोला र ८ नम्बर वडा कुइनेमंगलेको गौरवको योजनाको रुपमा १ करोड, वडा नम्बर ४ को २५ लाख रुपैयाँ बजेट परिचालन गरिएको र गाउँपालिकाको बजेट बराबर तुँदी पावर कम्पनीले साझेदारी गरेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। यस सडक खण्डमा संघ, प्रदेश र स्थानीय सरकार मार्फत गरी अहिलेसम्म करिब ३ करोड रुपैयाँ बढी बजेट खर्च भैसकेको उनले जानकारी दिए।

ट्रयाक खुलेपछि हिजो-आज दैनिक रुपमा जीप, बोलेरो, ट्रयाक्टर, मोटरसाइकल आवत जावत गर्ने थालेका छन्। यातायातका साधनहरू संचालन भएपछि गाउँ शहरसँग जोडिएको छ। स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ।

गाउँमा उत्पादन हुने तरकारी,कुखुरा,अन्न,भेडाबाख्रा विक्रि हुन थालेपछि स्थानीयको आय समेत बढेको छ। अत्यन्त दुर्गम ठाउँ भएकोले पहिले फाट्टफुट्ट मात्र सदरमुकामबाट मानिसहरू जाने गरेकोमा अहिले भने घुम्न र मनोरञ्जन गर्न बेनीबाट समेत मानिसहरू आउन थालेका स्थानीयले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.