प्रचण्ड–माधवलाई अरूका लागि कम्फर्टेबल सरकार चाहिएको जिकिर

|

पर्वत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला भएमा पनि त्यसलाई अनौठो नमान्न आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन्। 

पोखरा सभागृहमा चलिरहेको गण्डकी प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले आफूले देशको पक्षमा काम गर्दा प्रगति देख्न नसक्नेहरूबाट हमला पनि हुन सक्ने बताएका हुन्। उनको यो भनाइ प्रचण्ड—नेपाल पक्षमाथि नै केन्द्रित थियो।

‘हामी विकासको बाटोमा तीव्र गतिले अगाडि बढिरहेका छौँ। त्यसैले देश विदेशका तत्त्वहरू यसलाई ध्वस्त पार्न लागिरहेका छन्। पार्टीको नेतृत्व मैले गरेकाले, सरकारले राम्रो काम गरेकाले, देशमा विकास भएकाले म माथि प्रहार भएको हो,’ उनले भने, ‘यदि ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नु होला, तर यस्तो हुन दिइने छैन। म रहिनँ भने केही हुँदैन। पार्टी छ त्यसले प्रतिगमनका हतियारसँग घुँडा टेक्नु हुँदैन।’

देशको पक्षमा राम्रा काम गर्दा सफल प्रधानमन्त्री भएको देख्न नसकेर नै आफूले अपराधी तत्त्वहरूको सामना गर्नु परेको तर कुनै पनि अवस्थामा नडराई हरेक परिस्थितिको सामना गर्न आफू तयार रहेको पनि प्रधानमन्त्री ओलीको भनाई छ।

देशलाई काल्पनिक आकांक्षाको रूपमा मात्रै नराखिएको बताउँदै प्रधानमन्त्रीले देशको पछौटेपन हटाएर देशलाई समृद्ध बनाउने, स्वच्छता कायम गर्ने, यसका लागि पूर्वाधारको विकास गर्ने, शिक्षा स्वास्थ्य, बेरोजगार लगायतको काम गर्दा देशी र विदेशी तत्त्वहरूलाई सह्य नभएको बताए।

माधवकुमार नेपालले भाषणको क्रममा पटक–पटक प्रयोग गर्दै आइरहेको थेगो ‘विधि, पद्धति र प्रक्रिया’लाई पटक–पटक दोहोर्‍याएर बोल्दै ‘विधि, पद्धति र प्रक्रिया’ को कुरा गर्ने मान्छेले प्रधानमन्त्रीलाई कुर्चीबाट गलहत्याएर फाल्छौँ भन्न नमिल्ने बताए।

‘पार्टी फोरेर हिँड्ने कस्तो विधि र प्रक्रिया होरु बैठक बोलाएको ठाउँमा नआउने किन?’, उनले भने, ‘सक्नुहुन्छ भने अविश्वासको मत राखेर मलाई हटाए हुन्छ म तयार छु। त्यो त विधि, पद्धति र प्रक्रिया हो। विधि, पद्धति र प्रक्रिया भन्नेले कुर्चीबाट गलत्याउँछु भन्न मिल्छ?’ कार्की ब्याङक्वेटमा भोज खान आएका मान्छेलाई गनेर मेरा यति केन्द्रीय सदस्य छन् भनेर बोल्ने तर अध्यक्षले बोलाएको बैठकमै नआउनेहरूसँग विधि र प्रक्रियाको कुरा नहुने पनि प्रधानमन्त्री ओलीले बताए। आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भएमा त्यसलाई पुष्टि गरेर देखाउन आफैंले बैठक बोलाइदिने पनि उनको भनाइ छ।

उनीहरू (प्रचण्ड—नेपाल पक्ष) सँग बोल्ने टुंगोको ज्ञान र लोकतन्त्र भन्ने के हो भन्ने पनि थाहा नभएको प्रधानमन्त्री ओलीले बताए। अरूलाई लाञ्छना लगाउन उनीहरूले १९ पृष्ठ लामो आरोप पत्र बनाएर विश्वव्यापी रूपमा प्रचार गरिरहेको प्रधानमन्त्री ओलीको दाबी छ। प्रचण्ड—नेपाल पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत भएको भनेर बोल्ने आधार आफूले नै दिएको पनि प्रधानमन्त्रीको भनाइ थियो। त्यो बेलामा पार्टी एकताको लागि आफूले उनीहरूका मान्छेलाई खोजी खोजी राखेर बहुमत दिएको तर त्यो बहुमत पार्टी र देश बिगार्न मागिएको रहेछ भन्ने थाहा भएको पनि उनले बताए। साथै उनीहरूलाई अरूको लागि कम्फर्टेबल सरकार आवश्यक रहेको भन्दै व्यङ्ग्यसमेत गरे। 

‘बेलामा बहुमत हेरिनँ किनकि पार्टी र देश हेरेँ। जसले जति मागे उति दिएँ। एकीकरण गरिसक्दा साथ उहाँहरूले धन्दा सुरु गर्नुभयो। पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘यस देशलाई कम्फर्टेबल सरकार बनाइदिने। यो देशको विकास र जनताको विकास गर्ने सरकार होइन। कसैको लागि कम्फर्टेबल हुने सरकार उनीहरूलाई चाहिएको छ।’

प्रचण्ड—नेपाल पक्षका नेताहरू पार्टीमा मुख देखाउन नसकेर भाग्दै हिँडिरहेको बताउँदै उनले उनीहरूको पद आफूले नचलाएको बताए। संसदीय दलको नेता भएँ भनेर आफैं अबिर लाउने, आफैं लड्डु खाँदै हिँड्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले अहिले प्रचण्ड—नेपाल पक्षमा प्रधानमन्त्रीको कुर्चीमा दौडादौड भएको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.