|

जुम्ला : जुम्ला तिला गाउँपालिका-७, गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै बस्ती खरानी बनायो।

बलिरहेको आगो निभाउन न पानी थियो, नत कुनै अन्य उपाय! आगलागी भएको टुलुटुलु हेरि रहनुको विकल्प थिएन। हेर्दाहेर्दै बस्ती खरानीको थुप्रोमा परिणत भयो।

सो बस्तीमा अहिले स्थानीय जान पनि डराउने अवस्था छ। जताततै आगोमा डढेका सामान र संरचनाका कालो थुप्रो मात्रै देखिन्छ। आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा र बस्तुभाउ सबै जलेर नष्ट भएका थिए। उज्यालो भएपछि आगो लागेको कारण मानवीय क्षति भने हुन पाएन।

आगलागी भएको महिना दिन बित्यो। तर, अग्नि पीडितका लागि आवास निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। स्थानीय पर्वलाल रोकायाले भने,'अब हामीलाई आवास चाहियो। आफ्नै घरभित्र बसेर शान्तिको सास फेर्न पाउँ।' गाउँ नै खरानी भएको देख्दा उदेक लाग्ने गरेको रोकायाले बताए।

आगो लागेर बस्ती नै खरानी भएपछि गाउँबासी सबै निराश छन्‌। मानवीय क्षति नभएपनि अन्नपात र लुगाकपडा लगायत सबै सामग्री जलेका कारण गाउँबासी घर न थरका भएका छन्‌। 

'अहिले विभिन्न दातृ निकाय, सरकार, व्यक्ति संघसंस्थाले दिएको राहतले काम चलिरहेको छ। तर त्यो स्थायी समाधान होइन,' रोकायाले भने, 'दीर्घकालीन समाधान भनेको त आवास निर्माण नै हो। आवास निर्माणमा सरोकारवालाको चासो हुनुपर्‍यो।

अल्पकालीन समस्या समाधान निम्ति गृह मन्त्रालयबाट टेण्ट आइपुगेको पनि एक महिना पुग्न लागिसक्यो। तर, ती टेन्ट तिला गाउँपालिकामै थन्किएका छन्।

पर्वलालले राहत लिएर नाग्म बजार पुगेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासमक्ष भने,'अल्पकालीन समाधानका लागि पाल पुगेको छ भन्ने सुनेका छौँ। न देखेका छौँ। न पाएका छौँ। एकपटक लिइसकेपछि पाल फिर्ता गर्नुपर्छ भनेर गाउँपालिकाले भनेको छ। यो विषयमा पहल गरिदिनुपर्‍यो।' उनले अग्नि पीडितका लागि आएको पाल तत्काल उपलब्ध गराउन आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी थापाले पीडितका लागि घर निर्माण गर्न पहल भइरहेको बताए। उनले भने, 'संघ र प्रदेश कसले घर बनाइदिने भन्ने विषयमा सामान्य समस्या छ, तर दोहोरो नपर्ने गरी घर बनाइदिन्छौँ।' यो वर्षभित्रै घर निर्माण थाल्ने प्रयास भइरहेको थापाले बताए।

तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढाले अग्नी पीडितको घर जसरी पनि बनाइदिने बताएकी छिन्‌। आवास निर्माण गर्नेबारे सबै निकायसँग कुराकानी भइरहेको उनले दाबी गरेकी छिन्‌।

​आगलागीमा स्थानीयका ३१ वटा घर जलेर नष्ट भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.