|

योग-साधना गर्ने आत्मज्ञानी व्यक्तिलाई योगी उपाधि दिने गरिएको छ। तर, हिन्दु बाहूल्य भारतमा जसरी योगीको पोसाक लगाएर केही व्यक्तिले व्यापारलाई प्रश्रय दिएका छन् : उनीहरूका कारण समग्र योगी समुदायमाथि नै प्रश्न उठिरहेको छ। 

योगगुरु र आयुर्वेदाचार्यका रुपमा भारत हुँदै विश्वभर ख्याति कमाएका स्वामी रामदेवका कारण यतिखेर भारतको सत्तारुढ दल नै बुमर्‍याङमा परेको हो। 

रामदेवले योग र आयुर्वेदका नाममा यतिसम्म गरेका छन् कि, विश्वका घागडान चिकित्साविज्ञ र अनुसन्धाताहरू जुट्दासमेत पत्ता लगाउन मुस्किल भएको कोरोना भाइरसको औषधि भन्दै उनले बट्टामा जडिबुटीका धुलो भरेर बेच्न थाले। कोरोनिल नामको सो औषधि सार्वजनिक गर्न केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्द्धन नै पुगे। 

प्रमाणित नभएको तथाकथित औषधि सार्वजनिक गर्न पुगेका मन्त्रीमाथि भारतीय मेडिकल एसोसिएसन (आइएमए) ले स्पष्टीकरण नै सोध्यो।

यति हुँदासम्म पनि न रामदेव, न त सत्तारुढ भारतीय जनता पार्टीले नै आफूले गरेको त्रुटि सच्याएको छ। करामदेवको पतञ्जली कम्पनीले ल्याएको जडिबुटीको धुलोलाई फेरि अचुक औषधि भन्दै प्रचार गर्न थालिएको छ। आइएमएले आपत्ति जनाउँदा–जनाउँदै रामदेवको कम्पनीले यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी रहेको भन्दै हौवा फैलाइरहेको छ। 

तर, यो औषधि कोरोनाविरुद्ध प्रभावकारी रहेको कुनै पनि तथ्य या प्रमाण छैन। यतिसम्मकी, रामदेवले आफ्नो कोरोनिल सार्वजनिक गर्ने क्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट नै स्वीकृति प्राप्त भएको दाबी गरेका थिए।

तर, डब्ल्यूएचओले रामदेवको कोरोनिल धुलोलाई कुनै स्वीकृति या मान्यता नदिएको जवाफ दिइसकेको छ। 

के हो कोरोनिल ?

​रामदेवले कोरोनाको औषधि भन्दै ल्याएको कोरोनिल परम्परागत आयुर्वेदिक औषधिमा प्रयोग हुने जडिबुटीको मिश्रणमात्रै हो। यो औषधिलाई रामदेवकै कम्पनी पतञ्जलीले बेचिरहेको छ। 

रामदेवले गत जुनदेखि नै आफ्नो कम्पनीले बनाउने कोरोनिलबारे प्रचार थालेका थिए। कुनै आधार बिना नै उनले कोरोनिल कोभिड–१९ विरुद्धको औषधि भएको दाबी गरेका थिए।

रामदेवका पछि लाग्दा आफ्नै मन्त्री विवादमा मुछिएपछि भारत सरकारले कोरोनिलको बजारीकरण रोकिदिएको छ। कोरोनाविरुद्ध प्रभावकारी रहेको भन्ने कुनै आधार नभएको त्यहाँको औषधि नियामकले जनाएको छ।

तर, कर्पोरेट बाबा रामदेवसँग निकट सम्बन्ध रहेको भाजपा नेतृत्वको सरकारले रामदेवलाई कोरोनिल व्यापार गर्ने बाटो अझै खुला राखेको छ। उसले इम्यूनिटी बुस्टरका रुपमा कोरोनिलको बिक्री जारी राख्नसक्ने अनुमति दिएको छ। 

मोदीका मन्त्री यसरी फसे

फेब्रुअरी १९ मा पतञ्जली कम्पनीले एक कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धन समेत सहभागी थिए। मन्त्री उपस्थित कार्यक्रममै कोरोनिल कोभिड–१९ को उपचारनिम्ति प्रभावकारी रहेको दाबी गरिएको थियो। 

प्रमाणित नभएको र कतैबाट स्वीकृति नपाएको कोरोनिल नामक सो सामग्रीलाई औषधि भन्दै केन्द्रीय मन्त्रीले नै सार्वजनिक गरेपछि औषधि नियामक इन्डियन मेडिकल एसोसिएशन (आइएमए) ले आलोचना गरेको थियो। 

 

सो संस्थाले केन्द्रीय मन्त्रीकै उपस्थितिमा एक अवैज्ञानिक दबाइको प्रचार हुनु भारतीय जनताको अपमान भएको उल्लेख गर्‍यो। साथै, मन्त्रीसँग पनि आइएमएले सो रामदेवको सो सामानलाई किन औषधिका रुपमा प्रचार र समर्थन गरेको भनी स्पष्टीकरण सोधेको छ।

विवादित औषधि सार्वजनिक गर्ने कार्यक्रममा केन्द्रीय मन्त्री पुगेका विषयमा त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग बुझ्न खोज्दा कुनै जवाफ प्राप्त नभएको बीबीसी हिन्दीमा खबर छ। 

पतञ्जलीलाई मन्त्री जोगाउन सकस

आफ्नो विवादित उत्पादनमा फसेका मन्त्रीलाई जोगाउन अहिले रामदेवको पतञ्जली कम्मर कसेर लागेको छ। तर, औषधिजस्तो संवेदनशील विषयमा व्यापारिक कम्पनी र मन्त्रीबीचको मिलेमतोको दाग पखालिन त्यति सजिलो भने छैन। 

अहिले पतञ्जलीले सो कार्यक्रममा उपस्थिति भएका मन्त्री हर्षवर्द्धनले आयुर्वेद या आधुनिक चिकित्सा पद्धतीमध्ये कुनैको पनि समर्थनमा अभिव्यक्ति नदिएको दाबी गरेको छ।

'मुनाफा हठ' कायमै

मन्त्री नै फस्दा पनि व्यापारिक लाभ र मुनाफा चाहेको रामदेवको कम्पनीले कोरोनिल कोभिड–१९ को अचुक औषधि हो भन्न छाडेको छैन।

पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले बीबीसीसँग भनेका छन्, यो औषधिले मानिसहरू निको भएका छन्। 

सो कम्पनीले यो औषधिको वैज्ञानिक परीक्षण नै भइसकेको दाबी गर्न छाडेको छैन। यसको नतिजा निकै धेरै अन्तरराष्ट्रिय जर्नलमा पनि छापिएको बालकृष्णले बताएका छन्। 

कुनै व्यापारिक कम्पनीले आफ्ना सामानको प्रचार गर्न कसरी त्यसको पक्षमा अन्तरराष्ट्रिय स्तरमै मिडियाबाजी गर्छन्, त्यो छर्लंग भइसकेको तथ्य हो।

पतञ्जलीले सन् २०२० को नोभेम्बरमा स्वीट्जरल्याण्डस्थित एक जर्नलमा प्रकाशित लेखलाई नै आफ्नो औषधि प्रभावकारी रहेको प्रमाण भन्दै पेश गर्ने गरेको छ।

तर, सो लेखमा यो औषधिको ल्याब परीक्षणबारे मात्रै उल्लेख छ। 

माछामा परीक्षण गरेर मानिसलाई खुवाइँदै

कोरोनिलको परीक्षण माछामाथि गरिएको थियो। त्यस्तो परीक्षणलाई कति मान्ने भन्ने प्रश्न समेत गर्नु बेकार हुन्छ। किनकी, यो परीक्षण कुनै प्रविधिसम्पन्न ल्याबमा मुसा या बाँदरमाथि औषधि परीक्षण गरेजस्तो होइन। 

अर्कातर्फ, यो औषधिले कोरोना संक्रमितलाई निको पारेको कुनै प्रमाण छैन। स्वीट्जरल्याण्डमा छापिएको सो लेखमा पनि कोरोनिलको प्रारम्भिक परीक्षणमात्रै भएको र यसलाई विश्वसनीय बनाउन मानिसमै विस्तृत क्लिनिकल ट्रायल गर्नुपर्ने उल्लेख छ। 

बेलायतको साउथहेम्प्टन विश्वविद्यालयमा कार्यरत विश्व स्वास्थ्य विशेषज्ञ डा. माइकल हेडले बीबीसीसँग भनेका छन् कि प्रारम्भिक परीक्षणबाटै कुनै औषधि मानिसका लागि उपयुक्त छ भन्नै मिल्दैन। परीक्षण सफल भइसकेपछि पनि नियामकबाट मञ्जुरी प्राप्त गर्नु अर्को विषय हो, किनकी नियामकले अनुमति नदिए औषधि प्रयोग गर्न पाइँदैन। 

उनी भन्छन्, कुनै औषधि ल्याब परीक्षणमा सफल देखिन्छ, तर मानिसमा प्रयोग गर्दा काम नगर्ने हुनसक्छ। 

डब्ल्यूएचओकै दुरुपयोग

रामदेवले आफ्नो उत्पादन बेच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कै दुरुपयोग गरे। उनले कोरोनिललाई असल उत्पादन अभ्यास (जीएमपी) को प्रमाणपत्र मिलेको दाबी गर्दै आफूले डब्ल्यूएचओकै सर्टिफिकेशन स्कीमअनुसार औषधि उत्पादन गरेको बताएका थिए। 

उनको कम्पनीका वरिष्ठ कार्यकारी राकेश मित्तलले एक ट्वीट गर्दै कोरोनिललाई डब्ल्यूएचओले मान्यता दिएको लेखेका थिए। यथार्थ बाहिरिएलगत्तै उनले सो ट्वीट हटाएका थिए। 

भारतमा कुनै पनि औषधिलाई आइएमएले नै मान्यता दिन्छ। असल उत्पादन अभ्यासको प्रमाणपत्र दिने निकाय पनि यही हो। तर रामदेवको कम्पनीले आइएमएबाट कोरोनिललाई औषधि मान्न सकिने कुनै प्रकारको प्रमाणपत्र या स्वीकृति पाएको छैन। 

डब्ल्यूएचओले बीबीसीलाई भनेको छ कि संस्थाले कोभिड–१९ उपचारका लागि कुनै पनि परम्परागत दबाई प्रभावकारी रहेको पुष्टि गरेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.