पहिलो र दोस्रो चरणमा ९२.५ प्रतिशतले लगाए खोप
पहिलो र दोस्रो चरणमा ९२.५ प्रतिशतले लगाए खोप
विराटनगर : मोरङमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरू हुने भएको छ। फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई पहिलो र दोस्रो चरणमा खोप लगाइएपछि ज्येष्ठ नागरिकलाई तेस्रो चरणमा खोप लगाउन सुरू गरिन लागेको हो।
तेस्रो चरणको अभियान फागुन २३ गतेदेखि सुरू हुने स्वास्थ्य कार्यालय मोरङले मंगलबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। यस चरणमा एक लाख ३५ हजार ४९३ जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य प्रमुख डा. सुरेश मेहेताले जानकारी दिए। डा. मेहेताका अनुसार तेस्रो चरणमा ५५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई पहिलो प्राथामिकतामा राखिएको छ।
‘फ्रन्टलाइनमा रहेर काममा खटिनेहरूले पहिलो र दोस्रो चरणमा खोप लगाएपछि तेस्रो चरणको मोरङमा खोप अभियान सुरु हुन लागेको छ,’ डा. मेहेताले भने, ‘हामीले यसको तयारी तीव्र बनाएका छौं।’ तेस्रो चरणमा खोप अभियान सञ्चालनका लागि खोप भ्याक्सिनेटरहरुका लागि तालिमको पनि व्यवस्था गरिएको उनले बताए।
तालिमपछि तेश्रो चरणको खोप अभियान
खोप भ्याक्सिनेटहरुका लागि फागुन २० देखि २२ सम्म तालिम दिएपछि तेस्रो चरणको अभियानका लागि खोप लगाउन उनीहरु फिल्डमा खटिने डा. मेहेताले जानकारी दिए। तालिममा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाका प्रमुख, मेडिकल अधिकृत र स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागी हुनेछन्।
‘तालिम दिनुभन्दा अगाडि खोप लागउने केन्द्रहरूमा भ्याक्सिन तथा खोपजन्य सामग्रीहरु स्थानीयका स्वास्थ्य संस्थाहरूमा फागुन २२ गतेभित्रमा पुगिसक्छ,’ डा. मेहताले भने। फागुन १७ देखि २२ गतेसम्म स्थानिय तहको खोप समन्वय समितिको बैठक, वडा खोप समन्वय समितिको बैठक, महिला स्वयंसेविकाहरुको गोष्ठी र भ्याक्सिन तथा खोपजन्य सामग्रीहरु स्थानिय तहको स्वास्थ्य संस्थाहरुमा पु¥याउने कार्यक्रम रहेको छ।
पहिलो र दोस्रो चरणको खोप अभियानमा ९२.५ प्रतिशतले लगाए खोप
मोरङमा पहिलो र दोस्रो चरणको अभियानमा ९२.५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ। कार्यालयको अनुसार पहिलो र दोस्रो चरणमा फ्रन्टलाइनमा रहेर काम गर्ने ११ हजार १९३ जनाले खोप लगाएका हुन्। डा. मेहताका अनुसार पहिलो चरणमा ५ हजार ८५९ र दोस्रो चरणमा ५ हजार ३३४ जनाले खोप लगाएका छन्।
माघ १४ देखि २४ गतेसम्म पहिलो चरणमा मोरङको आठवटा स्थानमा खोप लगाउने केन्द्र तोकिएको थियो। दोस्रो चरणको फागनु १ देखि १० गतेसम्म मोरङको नौवटा खोप केन्द्रबाट कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले जानकारी दिए। जनवास्थ्य प्रमुख डा. मेहतालले कोरोनाविरुद्धको खोपले संक्रमण रोक्न प्रभावकारी हुने भएकोले निर्धक्क भएर लगाउन सबैलाई आग्रह गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।