|

ताप्लेजुङ : ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा मंगलबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीका कारण मेरिङदेन गाउँपालिका–३, दोभान बजारका ४७ वटा घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए।

आगो करिब दुई घण्टापछि स्थानीय, दमकल र सुरक्षा निकायका जनशक्तिले नियन्त्रणमा लिएका हुन्। सदरमुकाम फुङलिङबाट पुगेको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको हो। आगो फैलन नदिन एक्स्काभेटर प्रयोगले केही कच्ची घरहरू भत्काएको थियो। बस्तीतर्फको जोखिम कम भए पनि आगो नजिकैको जंगलतर्फ फैलिएको छ। त्यसलाई पनि नियन्त्रणको प्रयास जारी रहेका बताइएको छ।

अहिले क्षतिको विवरण संकलन तथा तत्काल राहत वितरणका सन्दर्भमा सरोकारवालाबीच बैठक जारी रहेको छ। प्रारम्भिक जानकारी अनुसार ४७ वटा घरमा रहेका ७९ परिवार विस्थापित भएका छन्। उनीहरुले बिहानका खाना समेत नखाएका कारण खानाको व्यवस्थाका लागि पनि तयारी थालिएको स्थानीय राजु पोखरेलले बताए। 

बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो। स्थानीय टंका गुरागाईले आगो भोला पौडेलको घरबाट सल्किएको बताए। पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको बताइएको छ। सदरमुकाम फुङलिङबाट १७ किमि दूरीमा रहेको उक्त बजारमा ८५ वटाजति घर थिए। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.