प्रयोगकर्तामध्ये ४० प्रतिशत बेरोजगार

|

इलाम : इलाम नगरपालिका–७ फूलगाछीबाट गत सोमबार लागुऔषधसहित चारजना युवा पक्राउ परे। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बूलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका ह्ुन्। उनीहरुको साथबाट ब्राउन सुगरजस्तो देखिने ७५० मिलिग्राम लागुऔषध र सेवनका लागि प्रयोग गरिने सामग्री, स्टिलको प्लेटलगायतको सामग्री प्रहरीले बरामद गर्‍यो। 

गत माघ १९ मा प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका–४ लखनचोकमा देउमाई नगरपालिका–३ शान्तिडाँडाका ४७ वर्षीय रमेश अधिकारीलाई लागुऔषधसहित पक्राउ गर्‍यो। झापाको बिर्तामोडबाट माई नगरपालिकाको दानाबारी आउँदै गरेका मे १० प ५१७४ नम्बरको मोटसाइकलमा सवार अधिकारीको साथबाट ४५० मिलिग्राम ब्राउन सुगर बरामद गर्‍यो। लागुऔषधसँग जोगिडएका दुई महिनाको अवधिमा भएका यी केही प्रतिनिधि घटना मात्र हुन्।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा लागुऔषधसहित ३० जना पक्राउ परेका छन्। जसमा २५ जना पुरुष, तीनजना महिला र दुईजना बालक रहेका छन्। लागुऔषधसँग सम्बन्धित १३ वटा मुद्दा दर्ता भएका छन्। यस्तै, सोही अवधिमा तीन हजार ६७१.९ मिलिग्राम ब्राउन सुगर, चार किलो ७४३ ग्राम गाँजा र नौ थान लठ्याउने एम्पुललगायतको ट्याब्लेट बरामद गरेको सुवेदीले जानकारी दिए। आर्थिक वर्ष २०७६/०७७ मा लागुऔषध प्रयोगकर्ताको संख्या १४ रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। जसमा पाँचवटा मुद्दा दर्ता भएको छ भने नौजना प्रतिवादी पक्राउ परे।

सुवेदीअनुसार इलाममा १६ देखि २० वर्ष उमेरका लागुऔषध प्रयोगकर्ता बढी छन्। ‘उमेरभन्दा पनि आवश्यकताको आधारमा सबै उमेर समूहका छन्। तर धेरै जसो भर्खर कलेज जान थालेका युवाहरुको संलग्नता पाइन्छ। बालबालिकाहरुलाई भने ओसारपसारको रुपमा प्रयोग गर्ने गरिएको छ,’ सुवेदीले भने, ‘बालबालिकाहरु पक्राउ परे पनि सजायमा छुट हुने भएकाले ओसारपसारका लागि बालबालिकाहरुको प्रयोग गर्ने गरेको देखिन्छ।’ मुख्य नाकामा प्रहरी परिचालन भए पनि नेपाल–भारत खुला सिमाना भएको कारण चोर बाटो प्रयोग गरेर लागुऔषध भित्रिरहेको उनले बताए।

नेपाल प्रहरीले पहिचान गरेको लागुऔषध ओसारपसारको मुख्य चार नाकामध्ये झापाको काँकडभिट्टा नाका इलामबाट करिब २० किलोमिटरको दूरीमा मात्र पर्छ। काँकडभिट्टा र इलामको पशुपतिनगर नाका हुँदै इलाममा लागुऔषध भित्रने गरेको प्रहरीले बताएको छ। 

सन् १९६० को दशकमा नेपालमा हिप्पीहरुको आगमन भएपश्चात् लागुऔषध प्रयोगकर्ता बढ्दै गएको विभिन्न अध्ययनहरुमा उल्लेख गरिएको छ। नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्युरोको अनुसार कुल अपराधको करिब नौ प्रतिशत लागुऔषधसँग सम्बन्धित रहेका छन्। प्रहरी र सशस्त्र प्रहरीले सीमामा लागुऔषध नियन्त्रणका लागि टोली परिचालन गरेका छन्। प्रहरीका अनुसार कारोबारमा संलग्नले नेपालमा सञ्जाल विस्तार गर्न पारिवारिक नाता सम्बन्धका व्यक्तिहरूलाई बढी प्रयोग गर्दै आएका छन्। खरिदकर्तासम्म सहज रूपमा पुर्‍याउन सकिने भएकाले पनि पारिवारिक सम्बन्धलाई माध्यम बनाउने गरेको अनुसन्धानमा पाइएको प्रहरीको भनाइ छ।

ब्राउन सुगरको तस्करीमा लागेका गिरोहले नेपालको पूर्वी सहरमा ल्याएपछि ‘डोज’को हिसाबले बिक्री गर्दछन्। एक ग्राम ब्राउन सुगरको ४० डोज बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। भारतबाट पूर्वको सहरहरूमा ल्याएपछि तीन हजारदेखि पाँच हजार रूपैयाँसम्म प्रतिडोज बिक्री हुने गरेको बताइन्छ।

लागुऔषध प्रयोगकर्तामध्ये ४० प्रतिशत बेरोजगार

केन्द्रीय तथ्यांक विभागको सहयोगमा गृह मन्त्रालयले २०७६ कात्तिक १३ देखि मंसिर १५ सम्म गरेको लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार लागु औषधको प्रयोगकर्ताहरु धेरै जसो बेरोजगार रहेका छन्। झण्डै ४० प्रतिशत व्यक्तिले बेरोजगारीका कारण लागूऔषध प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ। तथ्यांकअनुसार २०६९ को तुलनामा २०७६ सालमा ५ दशमलक ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ।

२०६९ मा ९१ हजार ५३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४२४ पुगेको छ। जसमा ९१ हजार ५३४ पुरुष र ४६ हजार ३०९ महिला रहेका छन्। महिला प्रयोगकर्तामध्ये ७१.७ प्रतिशत बेरोजगार रहेका छन्। साथीहरुको संगतले ६७ दशमलव ७ प्रतिशतले लागुऔषध प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। डुलन्ते बिक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलब ४, अन्य पसलबाट ७ दशमलब २ र इन्टरनेटको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागुऔषध लिइरहेका छन्।

के कारवाही हुन्छ?

लागुऔषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ (ङ) मा अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। तर, चिकित्सा केन्द्रमा तीन महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरी दिएमा पन्ध्र, पन्ध्र दिनमा चिकित्सा केन्द्रबाट उपचार गराई राखेको जानकारी पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ।

ऐनको दफा १६ मा एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः यस ऐन अन्र्तगत अपराध गरेमा निजलाई त्यस्तो पछिल्लो पटकको निमित्त सजायमा थप पाँच बर्षसम्म कैद र एक लाख रुपैयासम्म जरिवाना हुने उल्लेख गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.