|

काठमाडौं : अमेरिकाले रुसका विपक्षी नेता एलेक्स नाभाल्नीलाई विष दिएर हत्या प्रयास गरिएको भन्दै रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएको हो। अमेरिकाले रुसका सात शीर्ष अधिकारीका साथै रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो। बाइडेनले रुसप्रति पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा कडा नीति लिएका छन्। प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय एफएसबीका प्रमुख एलेक्जेन्डर बार्टनिनकोभ तथा रक्षा उपमन्त्री एलेक्सी क्रिभोरोच्को र पावेल पोपाभ रहेका छन्।

यसअघि युरोपियन युनियनले पनि नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाइसकेको छ। प्रतिबन्ध लागेका रुसी अधिकारीको अमेरिकामा रहेको सम्पती फ्रिज भएको छ। नाभाल्नीमाथि ६ महिना अघि साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको अमेरिकी गुप्तचर निकायले निष्कर्ष निकालेको छ।

नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिनुहुन्छ । रुसले भने नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ। रुस सरकारले हाल नाभाल्नीलाई जेलमा राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.