|

पर्सा : तराईका जिल्ला मध्ये पूर्वपश्चिम महेन्द्र राजमार्गले नछोएको पर्सामा सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन्। यो गत सात महिनादेखिको तथ्यांक हो। 

यो अवधिमा पर्सामा २५ जना सख्त घाइते पनि भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीले बताए। जिल्लाभित्र सवारी दुर्घटना हुने प्रमुख कारण भने तीव्र गति नै भएको तथ्यांकले पुष्टि गरेको छ।

दोस्रो प्रमुख कारण भने चालकको लापरबाही रहेको प्रहरीले जनाएको छ। समथर भू–सतह रहेको पर्सामा दुर्घटनाको तेस्रो कारण भने सडकको अवस्था भएको पर्सा ट्राफिकले जनाएको छ। 

यान्त्रिक गडबडीले भने कुनै पनि सवारी दुर्घटना नभएको पर्साका ट्राफिक प्रहरी प्रमुखसमेत रहेका प्रहरी निरीक्षक कार्कीले बताए। यो आर्थिक वर्षको सात महिनामा दुर्घटनामा ज्यान गुमाउने मध्ये एक बालक र सबै पुरुष रहेका तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष ०७६/०७७ मा पनि यो जिल्लामा ३ बालक, ४ महिला र १९ पुरुषसहित जिल्लाभित्र २६ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। गत वर्ष पनि जिल्लाभित्रका सबै दुर्घटनाका कारण तीव्र गतिकै कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

घाइते भएकाहरुमा पनि २८ जनाको अवस्था गम्भीर रहेको तथ्यांक छ। गत वर्ष दुर्घटनामा सम्लग्न ६७ सवारीमध्ये ३८ वटामा बढी क्षति भएको पर्सा ट्राफिक प्रहरीले जनाएको छ। 

चालु आर्थिक वर्षको सात महिनामा नै पर्सामा गत वर्षभन्दा ७ वटा बढी सवारी दुर्घटना भएका पाइएको छ। यो सात महिनामा नै ७४ वटा सवारी साधन दुर्घटनामा परेका छन्। ती सवारीमध्ये पनि १६ वटा क्षतिग्रस्त छन्। ०७६/०७७ को वर्ष दिनमा जम्मा ६७ वटा मात्र सवारी दुर्घटना भएका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.