|

काठमाडौं : पशुपति मन्दिरको मूल शिवलिंग प्रदेश सभा सदस्य तथा पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यको घरमा रहेको पाइएको छ। शिवलिंग भएको ठाउँमा शौचालय निर्माण गरिएको भेटिएको छ। 

पशुपति मन्दिरका मूल भट्टले गर्भ गृहमा प्रवेश गर्नुअघि उक्त शिवलिंगमा शपथ लिन्छन्। पशुपति क्षेत्रमा यस्ता ११ वटा शिवलिंग छन्। शिवका पुजारीले ती एकादश रुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भ गृहमा प्रवेश गर्न पाउँदैनन्।

पुरातात्त्विक महत्त्वका सामग्रीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न नमिल्ने व्यवस्था छ। घना बस्ती अगावै मन्दिरका मुल शिवलिंगहरु यत्रतत्र रहेका थिए। मन्दिरका जग्गाहरू अतिक्रमण गरी शिव लिंगमाथि विभिन्न भौतिक संरचना निर्माण भएका छन्।

वैद्य यसअघि २०६७ देखि ७० सम्म विकास कोषको कोषाध्यक्ष थिए। त्यसअघि विभिन्न कार्यसमितिमा सदस्यसमेत भई काम गरिसकेका छन्।

विकास कोषको जग्गा अतिक्रमण गरी उनले घर निर्माण गरी विकास कोषका एक अधिकारीले बताएका छन्। विभिन्न शक्तिको आडमा रहेर उनले शिवलिंग रहेको जग्गामा घर बनाएको ती अधिकारीले प्रस्ट पारे।

‘पशुपति मन्दिरको मूल भट्टले जहाँ बस्न दिन्छन्, त्यहीँ बस्ने प्रचलन थियो। यहाँको बस्तीहरु पुरानो बस्ती हो। शिव लिंगको ठाउँलाई नछोडी घर बनाएका छन्,' ‍उनले भने, ‘त्यो जमिन पशुपतिले अधिग्रहण गर्न चाहेको छ। पुरातात्विक महत्वका ती शिवलिंग सर्वसाधारणको दर्शनमा राख्ने हाम्रो चाहना हो।'

त्यसैगरी, विकास कोषका पूर्वसदस्य सचिव सदस्यसचिव शिवशरण राजभण्डारीको घरमा पनि शिवलिंग रहेको विकास कोषले जनाएको छ।

' नक्सा पास गरेर घर बनाएँ'

कोषको जग्गा अतिक्रमण नगरी घर बनाएको प्रदेश सभा सदस्य तथा विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य बताउँछन्। उनका अनुसार घर बनाउने समयमा प्राचीन तथा ऐतिहासिक स्थानमा भवन तथा भौतिक संरचना निर्माण गर्दा सबै सरोकारवाला निकायसँग छलफल गरी घर बनाइएको हो।

वैद्यले थाहाखबरसँग भने, 'घर बनाउँदा पुरातत्त्व विभाग, जिल्ला प्रशासन कार्यालय, विकास कोष र काठमाडौं महानगरपालिकासँग छलफल गरेर बनाएको हुँ। प्राचीन स्थलमा घर निर्माण गर्दा चारै निकायसँग छलफल भएको हो। सरोकारवाला निकायले स्वीकृत दिएपछि घर निर्माणका लागि नक्सा बनेको हो।'

विकास कोषको जग्गा अतिक्रमण नगरिएको वैद्यको दाबी छ। यदि जग्गा अतिक्रमण गरेको भए घर निर्माण गर्दा नक्सा पास नुहने उनको भनाइ छ। प्राचीन स्थलहरूको संरक्षण गर्नुपर्छ भन्ने मानिस भएकोले सार्वजनिक सम्पत्ति नहडप्ने उनले सुनाए। जग्गा अतिक्रमण गरेको भए पुष्टिसहित दाबी गर्न विकास कोषलाई उनले चुनाैती दिए। 

'वैद्य विभागमा नक्सा पास गर्न आए'

स्थानीयले पशुपति क्षेत्रमा घर निर्माण गर्दा पुरातत्त्व विभागको अनुमति लिने गरेका छन्। वैद्यले घर निर्माण गर्दा पुरातत्त्व विभागमा नक्सा पास गर्न आएको विभागका एक कर्मचारीले बताए।

नक्सा अनुसार त्यो जग्गा वैद्य परिवारको रहेको उनले जानकारी दिए। उनले भने, 'पशुपतिको मूल शिवलिंग त्यस क्षेत्रमा पर्छ भन्ने छ। तर, नक्सा हेरेर मात्र यकिनका साथ भन्न सकिन्छ। घर निर्माण गर्दा  शिव लिंगका लागि जग्गा छोडेको छ कि छैन त्यो महत्वपूर्ण हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.