‘मन्त्रीले भनेझैँ नि:शुल्क दिँदा दुरुपयोग’

|

काठमाडौं : पशुपतिमा शव दाहसंस्कार गर्दा बर्सेनि २ करोड ५० लाख रुपैयाँ बराबरको दाउरा प्रयोग हुने गरेको छ। शव अन्त्येष्टि गर्दा वर्षमा २५ लाख किलोग्राम दाउरा जलेर सकिने गरेको हो।

एउटा शव जल्न सरदर २ सय ५० देखि ३ सय किलोग्राम दाउरा आवश्यक पर्ने गरेको छ। यस हिसाबले दैनिक सरदर २५ वटा शव जलाउँदा ९ हजार किलो दाउरा खपत हुने गरेको हो। दैनिक औषतमा २५ वटा शव जलाउन काठ माग हुने गरेको पशुपति दाउरा डिपोले जनाएको छ।

विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि भने दाउरा खपत घटिरहेको छ। यसअघि शव जलाउनकै लागि वार्षिक ३५ देखि ४० लाख किलोग्राम दाउरा प्रयोग हुने गरेको थियो।

शवको आकार अनुसार दाउरा लाग्ने गरेको पशुपति क्षेत्र दाउरा डिपोका प्रमुख द्रोण पोखरेलले बताए। उनका अनुसार कोषका कर्मचारीले शव जलाउन दाउरा उपलब्ध गराउन कुपन पठाएपछि त्यहीअनुसार दाउरा पठाइन्छ।

शव जलाउने दाउरा प्रतिकिलो १० रुपैयाँ पर्छ। धार्मिक प्रयोजनमा लागि भने प्रतिकिलो १३ रुपैयाँका दरले उपलब्ध गराइरहेको छ। हरेक वर्ष महाशिवरात्रिमा विकास कोषले ५० हजार टन दाउरा खरिद गर्ने गरेको छ।

शव जलाउन देशभरका विभिन्न जिल्लाबाट काठ आयात हुने गरेको छ। कैलाली, कञ्चनपुर, बारा, रौतहट, सुनसरी, चितवन, नवलपरासी, धादिङ र गोर्खाबाट दाउरा आयात हुन्छ। 

साल, चिलाउने, कटुस, बुढधमेरो, जामुनलगायत अन्य कुकाठ पनि आयात हुने गरेको छ। राष्ट्रिय वनबाट ल्याएको काठ नपुग्दा निजी वनबाट पनि काठ ल्याउन थालिएको पोखरेलले जानकारी दिए।

निजी वनबाट खरिद गर्दा ९ रुपैयाँ १७ पैसा प्रतिकिलो गर्ने गरेको डिपो प्रमुख पोख्रेलले जानकारी दिए। डिपोले साउनयता हालसम्म १६ लाख किलो दाउरा खरिद गरिसकेको छ।

सरकारी वनमा दाउरा कम उत्पादन हुन थालेपछि निजी वनबाट खोजी गरेर दाउरा ल्याउन थालेको पोखरेलले बताए। राष्ट्रिय वनबाट टिम्बर कर्पोरेसनका सवारीसाधनले ल्याउने गरेको छ। कटान, राजश्व संकलन, ढुवानी, लोड र अनलोडमा रकम खर्च हुने गरेको उनले जानकारी दिए। 

'शव जलाउन नि:शुल्क दाउरा दिए दुरुपयोग'

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्दा दाउरा सित्तैमा उपलब्ध गराउने बताएका थिए। दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्था अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले नि:शुल्क दाउरा उपलब्ध गराउने आलेको भनाइ थियो।

सरकारले चाहे सित्तैमा दाउरा उपलब्ध गराउनसक्ने भएपनि मन्त्रीले भने झैँ, शव जलाउन सित्तैमा काठ उपलब्ध गराउन कठिन हुने वन विभागका एक कर्मचारी बताउँछन्।  ती कर्मचारीले  भने, 'दाउरा नि:शुल्क उपलब्ध गराएमा दुरुपयोग हुन्छ। ३ सय किलो लाग्ने ठाउँमा ४ सय किलो माग गर्न सक्छन्।' 

दैनिक ९ हजार दाउरा लाग्नेमा नि:शुल्क उपलब्ध गराउन थालेमा शवको चाप बढेर अहिले उपलब्ध भइरहेको काठले नपुग्ने उनको दाबी छ। शव जलाउन राष्ट्रिय वनबाट नपुगेर निजी क्षेत्रबाट खरिद गर्न थालिएको उनले जानकारी दिए।

नि:शुल्क दाउरा उपलब्ध हुन थालेका उपत्यकाका सबै घाटमा लाने शव यतै ल्याउन थाल्ने उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.