|

ओखलढुंगा : चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा पर्ने चर्चित धार्मिक पर्यटकीयस्थल ककनी ओझेलमा रहको छ। अहिलेसम्म ककनीमा विद्युत र सडक नहुँदा ओझेलमा परेको हो।

ककनी पर्यटकलाई आकर्षण सुन्दर गर्ने ठाउँ भए पनि विकासले गति नलिएका कारण यहाँ अझै पर्यटकलाई भित्र्याउन सकिएको छैन। २०७२ सालको भूकम्पमा भत्किएका गाउँका ३०० भन्दा बढी घर भग्नावशेषकै रूपमा रहेका छन्।

ककनीबासीले बल्लतल्ल सरकारी अनुदानमा दुई कोठे घर त बनाएका छन्, तर ती घर संयुक्त परिवारका लागि उपयुक्त नभएको उनीहरूले गुनासो गरिरहेका छन्‌। 

सानो घर भएकै कारण मुख्यबाली आलु भित्र्याउन समेत समस्या परेको वडाध्यक्ष झनक कार्कीले बताए। गाउँका प्रायः सबै युवा र पुरुषहरू कमाउनका लागि शहर र विदेश पलायन भएका छन्।

बिरामी हुँदा समस्या

ककनीमा बिरामी हुँदा झनै समस्या हुने गरेको छ।

गाउँमा अस्थायी स्वास्थ्य इकाई राखिएको भए पनि स्वास्थ्य चौकी छैन। त्यहाँ भनेको बेला सिटामोलसम्म पनि पाइन्न।

बिरामी भएको बेला हुने/खानेहरुले हेलिकप्टर चार्टर गर्ने, तर आफूहरूले अस्पतालको मुखै देख्न नपाउने स्थानीय चक्र तामाङ बताउँछन्‌। ​बिरामी हुँदा धामीझाँक्री र घरेलु औषधिको भरमा बस्नुपर्ने यहाँका स्थानीयको बाध्यता रहेको छ।

भीरको बाटो चार घण्टा हिँडेपछि बल्ल कोषहाट आइपुगिन्थ्यो। कोष हाटमा दशकअघि नै बस गुडेको देखेका स्थानीयले अहिले भने गाउँमै साना जीप पुगेको देखेका छन्‌, तर हिउँदमा मात्र।

सुनकोसी गाउँपालिका–९ को पहलमा सात किलोमिटर सडक निर्माण गरेर केर्मेटार हुँदै दोभानसम्म सडक पुगेको भए पनि आधा वर्ष अर्थात ६ महिनामात्र साना गाडी आउने स्थानीय रामु तामाङ बताउँछन्।

 गाउँपालिकाको विशेष गुरुयोजनामा ककनी

ककनी चम्पादेवी धार्मिकस्थलमा धार्मिक पर्यटक भित्र्याउन र ककनी चम्पादेवी संरक्षणका लागि वृहत ककनी चम्पादेवी योजना बनाई यसको डीपीआरसमेत तयार भएको चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीले बताए।

उनले यहाँ धार्मिक पर्यटक भित्र्याउनका लागि विशेषगरी साँघुटार-घोराखोरी-दलीडाँडा-ककनी र नवलपुर-पलापु-सिद्वपोखरी-फेदीगुठ ककनी पदमार्ग निर्माणको योजना समेत बनाइरहेको दाबी गरे। चम्पादेवी गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनको लागि अग्रसर भएर काम गर्न सके सुनकोशीको ककनी गाउँमा पनि साच्चैँ परिवर्तन हुने थियो।

संभावना भएपनि आकाशको फल

गाउँबाट एक घण्टाको उकालो हिँडेपछि चर्चित धार्मिक तथा पर्यटकीय स्थान चम्पादेवी ककनी मन्दिर पुगिन्छ।

त्यहाँ दर्शन गर्न घण्टौँ हिँडेर हजारौँ दर्शनार्थी आउँछन्। सडक नभएकै कारण हिँड्नुपर्ने बाध्यता छ।

सडक, बिजुली, स्वास्थ्य सेवा पुर्‍याएर होमस्टे गाउँका रूपमा विकास गर्न सकेमा ककनी मन्दिर आउने दर्शनार्थी राख्न सकिन्छ तर यो सपना सपना मै सीमित छ।

यस्तै, ककनी गाउँभन्दा तल तीनतले झरना रहेको छ। यसको प्रचार प्रसार गर्नसके पर्यटक आकर्षित गर्न सकिन्छ।

धार्मिक तथा प्राकृतिक हिसाबले चर्चामा रहेको यस क्षेत्रको पूर्वाधारको विकास गरे पर्यटन प्रवर्द्धन गरेर आयआर्जनमा वृद्धि गर्न सकिने भएपनि आकाशको फल आँखातरी मर भनेजस्तो भएको छ।

यसको विकासका लागि बृहत् गुरुयोजना आवश्यक रहेको ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवार बताउँछन्। पर्यटकीय गाउँ बनाउन गाउँपालिकाले बृहत् गुरुयोजना निर्माण गरेर संघ र प्रदेश सरकारसँगको स्रोत साझेदारीमा विकास गर्नसके ककनी साँच्चिकै ककनी हुने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.