|

धनकुटा : धनकुटाको शहीदभूमि गाउँपालिकाले गत साउन भदौको वर्षाका कारण पूर्णरूपमा घर क्षति भएका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ। गाउँपालिकाले घरैमा पुगेर प्रतिपरिवार नगद २० हजारसहित कम्बल प्रदान गरेको हो। शहीदभूमि गाउँपालिकाको वडा नं ६ मा बाढीपीडित मानबहादुर राना मगर र जमान सिंह राईको परिवारलाई घरमै पुगेर नगद २०-२० हजार रुपैयाँसहित कम्बल प्रदान गरेको हो।

शहीदभूमि गाउँपालिका वडा नं. ६ मा बाढीपीडित १३ घरपरिवार भए पनि अति विपन्न तथा घरपूर्ण रुपमा क्षति भएका दुई परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष हेमकुमार राईले जानकारी दिए। पीडित परिवारमध्ये जमान सिहं राईको घर सबै पहिरोले बगाएपछि अहिले छिमेकीको जग्गामा बासको बेरा र त्रिपालको छानो भएको गोठ बनाई बसिरहेका छन्।

त्यस्तै, मानबहादुर मगरको पनि घर पूरै भत्केको कारण आफ्नै जग्गामा बास र त्रिपालको छानो भएको गोठ बनाएर बसिरहेका छन्।

गाउँपालिकाले जिल्ला विपद व्यवस्थापन समितिमा बाढिपहिरोपीडितको नामावली तथा पीडित परिवारका क्षति विवरण यसअघि नै पठाइसकेको भए पनि राहत आएको छैन। राहत आउन ढिलो भएकाले फेरि वर्षातको समय सुरु हुन लागेकाले उनीहरूलाई जस्ताको छानो लगाएर बस्नका लागि  राहत पुगोस् भनेर राहत वितरण गरिएको वडाअध्यक्ष राईले बताए।

उनीहरूलाई यसअघि रेडक्रस धनकुटा, गाउँपालिका र वडा कार्यालयबाट खाद्यान्न, त्रिपाल, कमल लगायतको सामग्री प्रदान गरिएको थियो। वडाको अन्य बाढीपीडितले भने आफैँ घर बनाएर बसेका छन्।

गाउँपालिकाका बाढीपीडितलाई घर बनाउन, बस्ती स्थानान्तरण तथा व्यवस्थापन गर्नका लागि जिल्ला विपद व्यवस्था पनि समितिमार्फत पहल भइरहेको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.