|

जनकपुरधाम : पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे क्षेत्र देशको भविष्य र मधेशको भाग्य रहेको बताएका छन्‌।

​जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा शुरू भएको दोस्रो जनकपुर साहित्य महोत्सवमा बोल्दै पूर्वराष्ट्रपति यादवले चुरेसँग मधेशको भाग्य र सिंगो मुलुकको भविष्य जोडिएको बताएका हुन्‌।

​नेपालको अन्न भण्डार रहेको चुरे क्षेत्रमा वनजंगल विनाश हुँदा मरुभूमिकरण र पानीको मुहान सुक्दै गएकोमा सचेत गराउँदै यसप्रति गम्भीर रूपमा ध्यान दिन उनले प्रदेश सरकारलाई आग्रहसमेत गरे।

'प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिएको कृषि उपजको भविष्य बचाउन सकिएन भने भोलि गएर यो मरुभूमिमा परिणत हुन्छ,’ पूर्वराष्ट्रपति यादवले भने, ‘चुरे छँदा ३०-४० वर्षअघि हाम्रो घरमा ६० फिटमा कल गाड्दा पानी आउँथ्यो। अहिले साढे ३ सय फिट गाड्दा आउँछ। यस्तै अवस्था रहने हो भने ४० वर्षपछि के हुन्छ?’

जनकपुरधाम भूमि साहित्य, कला, संस्कृतिको धरोहर रहेको र परापूर्व कालमा ऋषिमुनिले बसेर साहित्य रचना गर्ने जनकपुरको मठमन्दिर, पोखरी र बगैँचाको संरक्षण हुन नसकेकोमा पूर्वराष्ट्रपति यादवले चिन्ता व्यक्त गरे।

पूर्वराष्ट्रपति यादवले चुरेले वर्षाको पानी रिचार्ज गरेर राख्ने गरेको र अहिले चुरे विनाश हुँदा पानीको सतह धसिँदै गरेकाले संरक्षणमा ध्यान नदिए जनजीवन नै ध्वस्त हुने तर्फ सचेत गराएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.