|

बैतडी : अधिकांश आपराधिक घटनाहरू परिवार र आफन्तबाटै हुने गरेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौलीमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरीले यस्तो बताएको हो।  

नागरिकका गुनासा सुन्ने र शान्तिसुरक्षा कायम गर्न थप के कुरा गर्नुपर्छ भनेर प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताए। उनले भने,‘हामीले आयोजना गरेको कार्यक्रममा उपस्थित  व्यक्तिहरूले नै परिवार र आफन्तबाटै जोगिन गाह्रो भएको बताउँदै आएका छन्।’

गएको १ महिनायता जिल्लामा भएका घटनाहरूलाई हेर्दा अधिकांश घटनाहरू आफन्त तथा परिवारबाटै भएका देखिएको अधिकारीले बताए। फागुन १८ गते मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का राजबहादुर चन्दले तीन महिने छोराको हत्या गर्नुका साथै बुवा, आमा, श्रीमती र भाइलाई कुटपिट गरे। 

यस्तै गत माघ अन्तिम सातातिर जिल्लाको पुर्चौडी नगरपालिकामा बुवाले आफ्नी छोरीलाई गोली हानी हत्या गरे। गत माघ २१ गते दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा भाइ नाता पर्ने दिनेश भट्टको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। 

यसरी ठूला आपराधिक घटना परिवार र आफन्तबाटै हुन थालेपछि शान्तिसुरक्षा कायम गर्न चुनौती थपिएको अधिकारीले बताए। उनले भने,‘घरपरिवारबाटै हिंसा र आपराधिक घटना हुन थालेपछि प्रहरीलाई समेत सुरक्षा चुनौती बढेको छ।’

मदिरा मुख्य कारण 

बैतडीका भएका अधिकांश आपराधिक घटनामा मदिरा सेवन मुख्य कारण देखिएको छ। नागरिक सुनुवाइ कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मदिरा सेवन गरेकै कारण हिंसा र आपराधिक घटना बढी हुने गरेका बताए। उनले भने ‘करिव ९० प्रतिशत आपराधिक घटना मदिरा सेवनका कारण हुने देखिएका छन्।’

दैनिक उपभोग्य तथा खाद्यान्न पाइने पसलहरूमा समेत मदिरा सहजै बिक्री हुने गरेको स्थानीयले गुनासो गरेका छन्। मदिरा बिक्री वितरण, सेवन रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूको महत्वपूर्ण भूमिका हुने प्रहरीको भनाइ छ। 

नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूको गुनासालाई सम्वोधन गर्दै प्रजिअ जोशीले समाजका घटने घटनाहरूको न्यूनिकरणका लागि प्रहरी र नागरिकबीच सहकार्यको विकल्प नरहेको बताए। जिल्ला प्रहरी कार्यालय बैतडीले डेढ दर्जन बढी विद्यालयमा जिल्लाका हाल सम्म सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिसकेको जनाएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.