|

कैलाली : गत फागुन १५ गते मृत भेटिएका कैलालीको गोदावरी नगरपालिका–५ का ३६ वर्षीय शिवचरण रानाको उनकै प्रेमिकाको योजनाबाट हत्या भएको खुलेको छ। 

रानाको प्रेमिका स्थानीय जयन्ती चौधरीले दुई जना आफन्तको प्रयोग गरी उनको हत्या गरेको स्वीकारेको कैलालीले प्रहरीले जनाएको छ। प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत चौधरीलाई सार्वजनिक गरेको छ। जयन्तीले आफ्नै योजनामा रानाको हत्या भएको बयान दिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुप शमशेर जबराले बताए।

जबराका अनुसार राना र चौधरीबीच अवैध प्रेम सम्बन्ध रहेको खुलेको छ। ‘राना र चौधरीबीच लामो समय देखि अवैध सम्बन्ध रहेछ’ जबराले भने,‘राना र अर्को युवतीबीच पनि अवैध सम्बन्ध रहेको कुरा चौधरीले थाहा पाएपछि दुवै जनाबीच खटपट सुरु भएको अनुसन्धानबाट खुलेको छ।’

चौधरीका श्रीमानले रंगेहात छोपेपछि गाउँले बसेर रानालाई दुई लाख रुपैयाँ जरिवाना तिराउने सहमति भएको अनुसन्धानबाट खुलेको छ। रानाले दुई लाख जरिवाना तिर्ने सहमतिसँगै अब देखि कहिलै नजिक नहुने सहमति गरे पनि आफूलाई बारम्बार भेट गर्न बोलाउने गरेकाले चौधरीले हत्याको योजना बुनेको बयान प्रहरी समक्ष दिएकी छिन्।

रानाको हत्याको योजना यसअघि पटक–पटक असफल भए पनि चौधरीले प्रहरीलाई भनेकी छिन्। हत्यामा संलग्न दुई युवक भने फरार रहेको प्रहरीले जनाएको छ। चौधरीले सुपारी दिएर हत्या गर्न लगाएकी हुन् या के हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राना फागुन १५ गते शनिबार बिहान मृत फेला परेका थिए।

उनी गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका थिए। रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको पाइएको थियो। निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै निर्माणाधिन नालामा टाउकोमा गहिरो घाउ, रगत बगिरहेको र छड्के परेको अवस्थामा रानाको शव भेटिएको थियो। घटनालगत्तै प्रहरीले युवतीसहित ६ जना संदिग्धलाई उच्च निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.