|

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक स्तरोन्नतिलाई तीव्र रुपमा अघि बढाउन म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बेनी–जोमसोम सडक खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

शेरचनका अनुसार आगमी मंगलवारदेखि दैनिकरुपमा बिहान ७ देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माणको काम हुनेछ्। उक्त समयमा सडक खण्डमा सवारी साधनहरु सञ्चालन रोक लगाइएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ को तिप्ल्याङ क्षेत्र, अन्नपूर्ण गाउँपालिका–३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका–४ को घाँसादेखि लेतेसम्मको निर्माणाधीन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको हो। मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माणको क्रममा रोक लगाएको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी निर्माणाधीन सडकलाई गति दिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ।

बेनी–जोमसोम सडक चार प्याकेजमा काम भइरहेको छ। निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण–३ र मुस्ताङको थासाङ–४ को सीमाक्षेत्रमा पर्ने बादरजुङ्गे भीरमा सडक चौडा गर्नका लागि रक कटिङको काम भइररहेको छ। यस्तै, अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सुपरभाइजर शेरचनले बताए। 

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको काम २०७४ सालदेखिसुरु भएको हो। बेनी–जोमसोम चार खण्ड र जोमसोम–कोरला सात खण्डमा काम सुरु गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.