|

काठमाडौं : मुस्कान खातुन सदाझैँ बिहानै उठिन्। मुस्कानको भाषामा उनी फ्रेस भएर बसिरहेकी थिइन्। उनको मोबाइलमा रज्जु म्यामको करिब ७ बजेतिर फोनको घण्टी बज्यो। उनलाई फोन अमेरिकी राजदूतावासबाट आएको थियो।

'बधाई छ मुस्कान तिमीलाई, तिमीले अन्तर्राष्ट्रिय साहसी महिला आइडब्ल्युओसी अवार्ड पाएका छौ, 'फोनमा रज्जु म्यामले मुस्कानलाई वाक्य हो। जीवनमा सोच्दै नसोचेको पुरस्कार र सम्मान पाउँदा आफैं छक्क परेको खातुन सुनाउँछिन्।

'धेरै पीडाबाट गुज्रेकी छु। यो सम्मान पाउनु भनेको मेरो लागि ठूलो सरप्राइज हो, 'उनले थाहाखबरसँग पुरस्कार पाएको सुनेपछि भनिन्, 'पुरस्कारमा धनराशि कति छ त्यो ठूलो कुरा होइन। सम्मानित हुनु भनेको मेरो जीवनको लागि खुड्किलाहरू चढेजस्तो भएको छ। सबैका लागि प्रेरणा भएको छु र सबैको हित हुने काममा लागिरहन्छु।'

मलालाले पाइसकेको पुरस्कार पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। मैले जस्तै अन्य महिलाले पीडा भोग्नु नपरोस् भनेर अझ धेरै काम गर्ने उनको भनाइ छ।

उनलाई अन्तर्राष्ट्रिय साहसी महिला आइडब्ल्युओसी अवार्ड पुरस्कार ३ करोड नेपाली जनताले पाएको जस्तो लागेको छ। पुरस्कारले मलाई नेपाली महिलाको क्षेत्रमा काम गर्नलाई अझ धेरै हौसला प्राप्त भएको उनले प्रतिक्रिया दिइन्।

उनी एसिड आक्रमणबाट निको भएपछि निरन्तर एसिड पीडितको लागि कानुन बनाउन सक्रिय भइन्। अस्पतालमा हुँदा उनले अठोट गरेकी थिइन। निको भएपछि प्रधानमन्त्रीलाई भेटेर र कुरा राख्ने उनले सोचेकी थिइन्। पछि उनले महान्याधिवक्तासहित प्रधानमन्त्रीलाई भेटेकी थिइन्।

संकट, पीडा र संघर्षबाट मानिस कहिले भाग्न नहुने उनले बताइन्। 'मेरो जीवनमा केही समय अँध्यारो थियो,' खातुनले भनिन्, ' बिस्तारै उज्यालोको प्रकाश पाएको छु। सबैको माया र साथले ठूलो हौसला प्राप्त गरेको छु।

उनी कलंकीको ब्राइट फ्युचरमा स्कुलमा कक्षा ९ मा पढ्छिन्। उनको पढाइको सबै खर्च राज्यले बेहोर्ने उनले जानकारी दिइन्। खातुनलाई उक्त पुरस्कार मार्च ८ तारिखका दिन भर्चुअल कार्यक्रममार्फत् अमेरिकी प्रथम महिला र विदेश मन्त्रीले प्रदान गर्नेछन्।

२०७६ भदौ २० गते छपकैया घरबाट बिहान साढे ६ बजे स्कुल गइरहेका अवस्थामा वीरगन्ज–२ छपकैयाकै छिमेकी दुई युवकहरूले मुस्कानमाथि तेजाब प्रहार गरी सिकिस्त घाइते बनाएका थिए।

मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले मुस्कानको प्लास्टिक सर्जरी गरेको थियो। वीरगन्जको छपकैया निवासी मुस्कानको कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो।

आइडब्ल्युओसी हाल १५ औं वर्षमा प्रवेश गरेको र उसले प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानवअधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने गरेको अमेरिकी दूतावासले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.