|

काठमाडौं : नेपालले कोभ्याक्स फ्यासिलिटी अन्तर्गत प्राप्त गरेको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ।

खोप लिएर टर्किस एयरलायन्सको विमान विहान ११  बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप कोभ्याक्सले खरिद गरेर नेपाल पठाएको हो। विमानमा खोप लगाउन आवश्यक सिरिञ्जसमेत ल्याइएको छ।

खोप लिन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र विभागीय सचिव लक्ष्मण अर्याल लगायत मन्त्रालयका उच्च अधिकारीहरू पुग्नेछन्‌। उनीहरूलाई युनिसेफ नेपालका प्रतिनिधिहरूले खोप हस्तान्तरण गर्ने कार्यक्रम छ।

कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई नि:शुल्क खोप उपलब्ध गराउनेछ। त्यस अनुसार नेपालले ६० लाखभन्दा धेरै जनताका लागि कुल १ करोड २० लाख डोज खोप नि:शुल्क पाउने छ। तर, माग अनुसार उत्पादन हुन नसकेकाले विभिन्न चरणमा खोप उपलव्ध गराउने योजनामा कोभ्याक्स लागेको छ।

खोप बनिसकेपछि त्यसको गर्न प्रयोग धनी तथा गरिब देशहरूले समुचित रुपमा पाऊन् भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंक लगायतका विभिन्न १० वटा संस्थाको सहकार्यमा बनेको गाभी एलायन्सले ‘कोभ्याक्स एसोसिएसन’ निर्माण गरी खोप वितरण गर्न थालेको हो।

अहिलेसम्म विभिन्न मुलुकमा कोभ्याक्सले एक करोड २० लाख डोज खोप पठाइसकेको छ। यसअघि कोभ्याक्स सुविधाबाट पनि कोभिशिल्ड खोप नै आउने र पहिलो चरणमा २२ लाख ५६ हजार खोप आउने बताइएको थियो। तर‚ हाल खोप सबै देशमा पुर्‍याउनुपर्ने र उत्पादन कम भएकाले हाल नेपालले पहिलो चरणमा तीन लाख ४८ हजार खोप मात्रै आउने बताइएको छ।

कोभ्याक्सको सुविधाको खोप पाउने दक्षिण एशियाका दुई मुलुकमा नेपाल सहित श्रीलंका परेको छ। श्रीलंकामा पठाइएको २ लाख ६४ हजार डोज खोप आज विहानै कोलम्बो पुर्‍याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.