|

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको हत्या प्रकरणमा गठन भएको छानविन समितिको प्रतिवेदन सार्वजानिक गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईको नेतृत्वमा गठन भएको छानविन समितिले प्रतिवेदन बुझाएपछि जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो। प्रहरीको छानविनले मिसिलमा फोटो अर्कै व्यक्तिको राखेको पाइनु ‘मानवीय त्रुटि’ भएको देखाएको छ। उक्त घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक उद्धव पोखरेल र अनुसन्धानमा खटिएका प्रहरी जवान योगीन सार्कीलाई विभागिय कारवाही अनुसार सचेत गराई जवाफदेही बनाउनुपर्ने छानविन समितिले सिफारिस गरेको छ।

मृतक प्रवीण भनि मिसिलमा राखिएको फोटो गत साउन ३ गते करेन्ट लागेर मृत्यु भएका उर्लाबारी–७ का २६ वर्षीय नविनराज घिमिरे गहतराजको रहेको पाइएको छ। प्रहरीले किर्ते कागज बनाउन नसक्ने मोरङ प्रहरी प्रमुख एसपी सन्तोस खड्काले बताए। ‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने भएकाले प्रहरीले किर्ते गरी कागज बनाउन सक्दैन। खड्काले भने,‘यस घटनामा प्रहरीले कुनै पनि दुराशय राखेको छैन।’

प्रवीणको रहस्यमय तरिकाले मृत्यु प्रकरणको अनुसन्धानमा लापरवाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक पोखरेलको विरोध गरेका थिए।

छानविन समितिले पाँच बुँदे सुझाब मोरङ प्रहरीलाई पेश गरेको छ। जसमा घटनाबाट पीडित अथवा प्रभावित परिवारजनसँग अनुसन्धान अधिकृत लगायत अनुसन्धानमा खटिएका अन्य प्रहरी कर्मचारीहरुले पारदर्शी रुपमा पीडितमैत्री व्यवहार नियमित रुपमा गरी आवश्यक समन्वय,  सम्पर्क, सहकार्य तथा परामर्श गर्नु पर्ने सुझाब दिइएको छ।

यस्तै लाशजाँच मुचुल्का तथा पोष्टपार्टम प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक–घाउँखत, शरीरमा लगाएको कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरुसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनु पर्ने। अविलम्व पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि तुरुन्त पठाई प्रतिवेदन यथाशिघ्र प्राप्त गर्न सम्बन्धित निकाय एवं पक्षसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने सुझाब दिइएको छ।

यस्तै अनुसन्धान मिसिल तयार पार्दा लेखन कार्य तथा अनुसन्धानमा खटिएका अनुसन्धानका सहयोगी प्रहरी कर्मचारी समेतले पंजिका बनाउँदा लगायत अन्य कागजात गर्दा समेत गम्भीरताकासाथ हेरी अनुसन्धान अधिकृतबाट नियमित रुजु तथा प्रमाणित गराउनु पर्ने। लासजाँच प्रकृति मुचुल्काको कार्य गर्दा सबै प्रकृतिका घटनास्थल तथा लाशको प्रर्याप्त फोटो अनिवार्य लिनुपर्ने सुझाब दिइएको छ।

यस्तै प्रवीणको मृत्यु भएको घटनाका सबै ६ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेका मध्ये दुई जना पुर्पक्षको लागि थुनामा, २ जना धरौटी र २ जना प्रहरीको न्यायीक हिरासतमा रहेका छन्। हत्या आरोपमा पक्राउ परेका मध्ये प्रवीणका साथीहरू मोरङ रतुवामाई नगरपालिका–१० का २९ वर्षीय मेहरमान दर्जी र  सुदीप परियार, मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको इजलासले पुर्पक्षको लागि थुनामा छन्।

होटल संचालक उर्लाबारी नगरपालिका–९ का ३४ वर्षीय कुमार राई र घरवेटी उर्लाबारीका रमेश गिरी धरौटीमा रिहा भएका छन्। फरार भएका थप दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापा गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल छन्। पक्राउ परेका मध्ये रणपहेलीलाई मोरङ प्रहरीले भैरहवाबाट शुक्रबार साँझ पक्राउ गरेको हो भने पौडेल झापा प्रहरीको हिरासतमा छन्।

उर्लाबारी इन्चार्ज परिवर्तन 

मोरङ प्रहरीले इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्चार्ज परिवर्तन गरेको छ। प्रहरी निरीक्षक पोखरेललाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर प्रहरी निरीक्षक कुन्दन देव पठाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.