|

हाम्रो धर्म संस्कृतिले नारी शक्तिलाई विशेष दर्जामा राखेकोमा दुईमत छैन। तर, समयक्रममा यसको अवमूल्यन भयो।

पश्चिमा समाजमा जस्तै नारीलाई अपहेलित गरियो। यसलाई महशुस गर्दै समाजमा पुन: नारीको कामको मूल्यांकन नारीको नाममा अधिकार, कानून, नीति नियम, प्रशंशा, सहभागिता र निर्णय क्षमतासम्मका भूमिकाबारे बहस र समावेशीको सिद्धान्त अनुसार काम हुँदै आएको छ। 

महिला भएकै कारणले हुने विभेदको कुराभन्दा थोरै माथि उठेर यसको रुपान्तरणलाई हेर्नु जरूरी देखिन्छ। यी कारणले महिला पछि परेका छन् या पछि पारिएका छन् भन्ने कुरा मात्र उठाइरहँदा महिलाहरूको योगदानक्षेत्र पछि परेको हुनसक्छ। महिला पुरूषसरह हुनुपर्छ भन्ने होइन, महिलाले गर्न सक्ने कामको मूल्यांकन, महिलाको योगदान र भूमिकाको कदर गरिनुपर्छ - त्यो महत्वपूर्ण हो। 

हामी जे चीज पाउन चाहन्छौं त्यो अरूले पाएको छ भने त्यसको प्रशंसा गर्न जाने पुग्छ। कसैले पाएको जस्तै चिज पाउन त्यसको ईर्ष्या होइन, सम्मान दिन जान्यो भने त्यो चिज आफूसँग आउँछ। महिलाले घर, समाज र राष्ट्रका विविध क्षेत्रमा पुर्‍याएका योगदान र उनीहरूको भूमिकाको मूल्यांकन गर्दै गयौं भने सानातिना विभेद छायाँमा पर्दै जान्छन्।

रूपान्तरण र विकासको लागि सानातिना अफवाह र बहिष्कारलाई ठूला योगदानका उदाहरणबाट परास्त गर्नुपर्दछ। घरको व्यवस्थापनदेखि लिएर, नोकरी, समाजसेवा, परोपकार, राजनीति र राष्ट्रकै उच्च तहमा पुग्ने हैसियत राख्ने नेपाली महिलाहरूको योगदान र भूमिकाका पक्षलाई मनन गरौं।

घरेलु कार्यमा योगदान 

मेरी श्रीमती त नोकरी गर्दिनन्, घरमै बस्छिन् भन्ने श्रीमान या घरका अन्य सदस्यलाई राम्ररी थाहा छ - २४ घण्टाको समयमा उनले घर, बालबच्चा, वृद्ध, भान्छाको व्यवस्थापन र अन्य आइपर्ने क्षेत्रमा कसरी कति समय योगदान दिएकी हुन्छिन्। आर्थिक लाभ या आम्दानीलाई नगदमा बुझ्ने हाम्रो मान्यताले घरेलु काममा योगदान दिने महिलाहरूको कदर हुन सकेको छैन। 

घर-परिवारलाई पुग्ने कृषि कर्म, ज्याला नलिई उनले गर्ने दिनभरको कर्मलाई अंक गणितले उत्पादन र प्रत्यक्ष नगदमा परिणत गर्न नसक्ला, तर जीवनको आधा हिस्सा जहाँ घरको काम आवश्यक छ, त्यसमा करिव ६५ प्रतिशत महिलाको योगदान रहेको अनुसन्धानले देखाएको छ। 

नोकरी या व्यवसाय गरेर नगद आर्जन गरेर घर चलाउने महिलाहरूको संख्या ३५ प्रतिशत जति छ भन्ने उल्लेख पाइन्छ। यो तथ्यांक पनि शहरी क्षेत्रसँग विकट ग्रामिण क्षेत्रलाई तुलना गर्न मिल्दैन। 

हाम्रो जस्तो परिवेशमा केवल अनुमान लगाउन सक्छौं-एक महिलाले आफ्नो घरको व्यवस्थापनमा कति श्रम र समय लगाउँछिन्। जहाँ नगद आम्दानी नभएको कारण उनको मूल्यांकनमा वेवास्ता गरिएको हुन्छ। घरको सुन्दरता र व्यवस्थापन एकदिन आमा या श्रीमती घरमा नहुँदा भावनात्मक रूपमा मात्र महसुस गर्न सकिन्छ। अदृश्य भूमिकामा रहेका महिलाहरूको कदर गर्न जान्ने हो भने मात्र महिलाहरू प्रतिको सच्चा सम्मान हुनेछ। 

अर्थतन्त्रमा योगदान 

देशको अर्थतन्त्र भन्ने वित्तिकै यसका मापन हुन्छन्– कृषि, उद्योग, व्यापार व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगारमा कसरी योगदान पुगेको छ।

यसमा महिला सहभागिता कति प्रतिशत रहेको छ या छैन ? हाम्रा तथ्यांकले देखाएका छन् कृषि क्षेत्रले कूल जनसंख्याको ६६ प्रतिशत रोजगार प्रदान गरेको छ। 

नेपालको कृषि प्रणाली सोचे अनुरूप व्यवसायीकरणमा जान नसकेपनि परिवारको बिहान र बेलुकाको छाक टार्ने निहुँमा महिलाले उब्जाएको उत्पादनले गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान दिएको छ भन्न मिल्ने कि नमिल्ने?

कृषि र भूमि उपयोगमा करिव ७२ प्रतिशत जनसंख्यामध्ये १० प्रतिशत महिलाको कृषि भूमिमा स्वामित्व रहेको तथ्यांकले देखाउँछ। महिला संलग्नताकै कारण गार्हस्थ उत्पादनमा २८.९ प्रतिशत योगदान पुर्‍याएको मान्न सकिन्छ। 

परम्परादेखि नै महिलालाई ज्यालाविहीन कामदारका रूपमा काम गराउने र हेरिने प्रचलन आजसम्म पनि यथावत छ। महिलाको अर्थपूर्ण सहभागिता तथा नेतृत्व कायम दिगो विकासका लक्ष्य र सहस्राब्दी विकास लक्ष्यमा कम्तीमा पनि १३ वटा लक्ष्यले कृषि तथा लैंगिक समानताको अर्थ प्रष्ट हुन्छ। लक्ष्य प्राप्त गर्न पनि नीति नियमको कार्यान्वयन सहित महिलाको भूमिका र योगदानको कदर आवश्यक रहन्छ।

अहिलेको परिप्रेक्ष्यमा स्थानीय तहले समेत आर्थिक विकासमा महिला सहभागिता जनाउन समावेशीकरणको आधारमा महिलाले योगदान दिन सक्ने क्षेत्रमा लगानी बढाउन सक्नुपर्दछ।

महिला र उद्यमशीलता

हामीकहाँ औद्योगिक विकास हुन नसक्नुको कारण धेरै महिला श्रम विदेशिने क्रम बढ्दो छ। उद्यमशीलता आर्थिक विकासको मेरुदण्ड भएकै कारण महिलामैत्री उद्योगहरूको स्थापना र त्यसमा लगानीको वातावरण जरूरी देखिन्छ। औद्योगिक क्षेत्रबाट गार्हस्थ उत्पादनमा करिव १४ प्रतिशत योगदान पुर्‍याएको देखिन्छ। 

ठूलाठूला उद्योगमा महिला सहभागिता नगन्य देखिएपनि साना र घरेलु उद्योगमा महिलाहरूको राम्रो सहभागिता हुन सक्दछ। नेपालको उद्यमी संख्या ३६ हजार ६ सय ४२ रहेकोमा महिला उद्यमी जम्मा १० हजार ७ सय ३८ मात्र छन् भन्ने तथ्यांकले देखाउँछ।

​घरेलु उद्योगका हाते कपडा बुनाइ र सिलाई, फलफूल, तरकारी खेती, अचार बनाउने जस्ता साना तथा घरेलु उद्योगमा महिलाको रूचि र सहभागिता बढ्दो छ। यस कार्यलाई व्यवसायीकरण र उचित बजार व्यवस्थापन गर्न सकिएमा अर्थतन्त्रमा टेवा पुग्न सक्छ। 

महिलामा वित्तीय साक्षरता 

सरकारले समूहमार्फत १५ लाखसम्म बिनाधितो महिलालाई ऋण दिने निर्णय प्रकृयाले महिलालाई काम गर्ने वातावरण सृजना गरेको छ। तर, यसको कार्यान्वयन सबै निकायसम्म पुग्न सकेको छ या छैन त्यसको अनुगमन र मूल्यांकन जरूरी देखिन्छ।

यसलाई संचालन गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिन्छ। ऋण लिन र त्यसको व्यवस्थापन गर्न अनि लगानीमा आँट गर्न महिलाहरूलाई कसरी प्रेरणा दिने वित्तीय साक्षरता र परामर्श त्यतिनै आवश्यक देखिन्छ। 

विशेषगरी विकटका ग्रामिण क्षेत्रमा महिला उद्यमशीलता, महिलाले गर्ने व्यापार व्यवसाय र लगानी जस्ता कुराहरू असम्भवप्राय: मानिन्छन्। परम्परागत घरायसी तथा घरेलु कामकाजमा व्यस्त हुने र उत्पादनशील कार्यमा संलग्नता रहे पनि आर्थिक रूपले घरका प्रमुख बुबा वा श्रीमानमै आश्रित रहने अवस्थाबाट रूपान्तरण हुन सकिरहेको छैन। 

तथापि, यो परम्परामा बिस्तारै परिवर्तन आउदै गएको र उद्योग, व्यापारिक क्षेत्रमा महिलाको पनि आकर्षण बढ्न थालेको पाइन्छ। अहिलेको समयमा करिव ४५ प्रतिशत महिलाको आफ्नै बैंक खाता रहेको अध्ययनले बताउँछ।

शिक्षित महिलाको संख्यामा वृद्धिसँगै रोजगार, स्वरोजगारमा आर्कषण बढेको र व्यापार व्यवसायमा महिला उन्मुख भई आत्मनिर्भर हुने संख्यामा पनि थप वृद्धि भइरहेको छ। 

साना व्यापार व्यवसायमा करिव ७० हजारको संख्यामा महिला रहेको अनुमान गरिएको छ। पर्यटकीय क्षेत्रमा महिलाको सहभागिता उत्कृष्ट छ।

घरमै बसेर पर्यटकको खानपान र बसाइ व्यवस्थापनमा महिलाको योगदान महत्वपूर्ण भएको, तर यसबाट प्राप्त आर्थिक स्रोत परिचालनमा एकल निर्णय गर्ने क्षमता र अवसरबाट भने महिलाले अझै अवसर नपाएको देखिन्छ। 

वैदेशिक रोजगारीमा महिला 

नेपालबाट प्रतिवर्ष नेपाली श्रमिक विदेशी श्रमबजारमा पुग्ने गरेको तथ्य जाहेर छ। मुलुकमा रोजगारविहीन रहनुपर्दा वैदेशिक रोजगारप्रति आकर्षण उच्च छ। तथ्यांकअनुसार करिव ४३ लाख युवा औपचारिक तथा अनौपचारिक वैदेशिक रोजगारमा गएका छन्। 

जम्मा ५ प्रतिशत मात्र दक्ष कामदार रहेको र अन्य अदक्ष भएकै कारण आर्थिक बचत गर्न सकेका छैनन्। देशमा भित्रिने रकम विप्रेषणले देशको गार्हस्थ उत्पादनमा ९ प्रतिशत थप योगदान पुर्‍याएको छ। वैदेशिक रोजगारमा पनि महिलाको संख्या बढ्दो छ।

रेमिट्यान्स भित्र्याउने संख्यामा महिलाको संख्याले पनि योगदान गरेको छ। तर, विदेशमा महिला कामदारमाथि हुने हिंसाले वैदेशिक रोजगार क्षेत्र भने महिलाका लागि जोखिमपूर्ण छ।

केही समययता नेपालले महिला विकासका लागि आर्थिक सशक्तिकरणको महत्वलाई अंगिकार गर्दै आएको र सरकारको आर्थिक रणनीतिमा लैंगिक बजेटलाई पनि समावेश गरेको छ। 

तर, बजेट कार्यान्वयनमा विभिन्न कानुनी र नीतिगत, संस्थागत र संरचनागत, स्रोतसाधन र व्यवस्थापकीय समस्याका कारण नेपालमा लैंगिक उत्तरदायी बजेटले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन। लैंगिक उत्तरदायी बजेट विनियोजन प्रभावकारी नहुदा महिला पुरुषको तुलनामा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत जीवनोपयोगी सुविधाबाट वञ्चित छन्। 

समग्रमा भन्नुपर्दा 'तिमी कसको छोरी या कसको श्रीमती, कसको दिदी या कसको श्रीमती?' भन्दापनि 'तिमी आर्थिक रूपमा सक्षम छौ कि छैनौ?' त्यो महत्वपूर्ण देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.