|

बर्दिया : गएको पुष १७ गते राती बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी पाटेबाघले एक महिलाको ज्यान लियो।

झण्डै २१ वर्षअघि २०५६ सालमा निकुञ्जको यही क्षेत्र आसपास राजमार्गमै पाटे बाघले मोटरसाइकलमा सवार कैलाली लम्कीका फिल्म हल साहुलाई आक्रमण गर्दा ज्यान गएको थियो। 

अहिले उस्तै प्रकृतिको घटना दोहोरिएपछि सबैको चासोको विषय बनेको छ बर्दिया निकुञ्ज। निकुञ्ज अन्तर्गत राजमार्गमा यात्रा गर्ने यात्रु र पाटे बाघको जम्काभेट भइरहन्छ। बाघ र मानिसबीच भइरहेको जम्काभेट तथा क्षति मानव-वन्यजन्तु द्वन्द्वमा नयाँ जोखिम हो।

फाल्गुण १७ गते  बर्दिया राष्ट्रिय निकुञ्जमा भैसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट ज्यान गयो।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउपालिका–६ नौरंगाबाट बाघले झम्टेर लगेका थारुको शव करिव ६ सय मिटरपर क्षतविक्षत अवस्थामा फेला परेको थियो। 

बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन्। बाघको आतंक बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित बनेका छन्।

स्थानीयबासीले मानिस खान पल्केको नरभक्षी बाघलाई नियन्त्रणमा लिन या मार्न प्रशासनसँग माग गरिरहेका छन्। संरक्षणकर्मीहरूले भने बर्दिया निकुञ्जमा संख्या बढेको र बासस्थान क्षेत्रमा पर्ने सडकमा बाघ निस्कनु स्वाभाविक रहेको बताइरहेका छन्।

वन्यजन्तु पनि छैनन् सुरक्षित

फाल्गुन १५ गते मात्रै एम्बुलेन्सले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ घाइते भयो। पुर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने बर्दियाको बुढी खोला नजिक एम्बुलेन्सले ठक्कर दिँदा उक्त बाघ घाइते भएको थियो।

नेपालगञ्जबाट पश्चिमतर्फ गइरहेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बाघलाई ठक्कर दियो। एबुलेन्सले ठक्कर दिएलगत्तै एम्बुलेन्स चालकले नै बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई जानकारी गराए। उक्त घाइते बाघ अझै सम्म पनि भेटिएको छैन, निकुञ्जले खोजी गरिरहेको जनाएको छ।

बर्दिया निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी साधनले ठक्कर दिँदा यसअघि २ वटा पाटेबाघ मारिएका छन्।

यस्तै, यस आर्थिक वर्षमा प्राकृतिक कारणले ४ वटा बाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर पुषराज गोलेले बताए। चित्तल ३६ वटा, बँदेल ४ वटा, जरायो ५ वटा लगायतका अन्य थुप्रै साना प्रजातिका वन्यजन्तुहरू मारिएका छन्। 

निकुञ्ज अन्तरगतको राजमार्गमा सवारी साधन तीव्र गतीमा चल्ने गरेका कारण सवारी साधनको ठक्करबाट वन्यजन्तुहरू मारिन्छन्। मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा मात्रै होइन, जनावर पनि सुरक्षित नभएको बर्दिया निकुञ्जका सहायक वार्डेन असिमकुमार थापाले बताए। 

जोखिमबीच पनि संरक्षण मोह उस्तै

बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्ज भएकै कारण प्रत्येक दिन जसो वन्यजन्तु आक्रमणका घटनाहरू सुनिन्छन्। तर पनि वन र वन्यजन्तु संरक्षणप्रति केही स्थानीयको मोह उस्तै छ।

केही स्थानीयले बदलाको भावनाले वन्यजन्तुहरूसँग बदला लिएपनि वर्षौदेखि संरक्षण अभियानमा होमिँदै आएका संरक्षणकर्मीहरूको माया भने उस्तै देख्न सकिन्छ। 

वन्यजन्तुमैत्री संरचना निर्माणको चर्चा मात्रै

पछिल्लो केही समययता बर्दियामा वन्यजन्तुमैत्री संरचना निर्माणबारे चर्चा चलिरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन र वन्यजन्तुसँग जोडिएका जुनसुकै सभा–सम्मेलन तथा गोष्ठीहरूमा संरक्षणकर्मीहरूले वन्यजन्तुमैत्री संरचनाकै कुरा गरिरहेका हुन्छन्। 

पाटे बाघ, जंगली हात्ती, गैँडा, चित्तल लगायत वन्यजन्तुहरू ओहोरदोहोर गर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्गमा वन्यजन्तुमैत्री सडक तत्काल बनाउन संरक्षणकर्मीहरूले पटक–पटक माग समेत गर्ने गरेका छन। 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया निकुञ्जको कर्णाली चिसापानीदेखि अम्रेनी पोष्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने र तत्कालका लागि निकुञ्जभित्रका राजमार्ग किनारको झाडी सफा गर्नुपर्ने संरक्षणकर्मीहरू पटक-पटक उठाउँछन्। 

तर, अहिले सम्म वन्यजन्तुमैत्री संरचना निर्माणका लागि कुनै कदम नै चालिएको छ, न त राजमार्ग छेउछाउको झाडी सफाइको काम नै शुरू भएको छ। निकुञ्जले झाडी सफाइको काम सडक डिभिजनले गर्ने बताउँदै आएको छ। सडक डिभिजनले भने निकुञ्जसँग सहकार्य गरेर झाडी गरिरहेको बताएपनि काम भने शुरू नभएको स्थानीय बताउँछन्। 

सडक विभागले बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ३१–३१ मिटर सडक खाली गराउँदै आएको छ। तर, निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा भने दायाँ–बायाँ ३१–३१ मिटर सडक खाली गर्ने काम सडक विभागले गरेको छैन। निकुञ्जभित्रको राजमार्ग किनार आसपास रुख–बिरुवा र घाँसले ढाकेको छ। वन्यजन्तु त्यही घाँसमा बसिरहेका हुन्छन्। 

सवारीसाधनको आवाज सुनेपछि वन्यजन्तु तर्सिने र सवारी साधनमा आक्रमण गर्ने जोखिम हुन्छ। त्यसैले, अर्को वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको संरक्षणकर्मी रमेश थापाको भनाई छ। 

बाघ हेर्न बर्दिया

आन्तरिक र बाह्य पर्यटकहरूले बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई नै रोज्ने गर्छन्। यो निकुञ्जमा पछिल्लो समय पाटे बाघको संख्या पनि बढ्दै गएको छ। कोरोना महामारी फैलनु अघिका वर्षहरूमा बर्दिया निकुञ्जका आकर्षक पाटेबाघले स्वदेशी र विदेशी पर्यटकलाई मोहित पार्ने गरेको थियो। बाघ हेर्नकै लागि बर्दियामा पर्यटकको ओइरो लाग्थ्यो।

तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्र ५ सय ७ वर्ग किलोमिटर रहेको छ। जंगली हात्तीपछि पाटे बाघ अहिले आक्रामक बन्न थालेका छन् र जनधनमा क्षति पुर्‍याइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.