एसएसपी नेतृत्वको प्रहरी टोली घटनास्थलमा, यातना दिने गरेका पति समातिए

|

दैलेख : सोमबार ४ सन्तानसहित कर्णाली नदीमा हेलिएकी सुखी बडुवाल अझै भेटिएकी छैनन्‌।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सीमामा रहेको कर्णाली नदीमा उनी सन्तानसहित हेलिएकी थिइन्‌।

सुखीका २ छोरीहरूको शव भेटिएको छ। हराइरहेका ३ जनाको खोजी र घटनाबारे थप अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट एसएसपी सहितको टोली घटनास्थलमा पुगेको छ। 

दैलेखको आठबीस नगरपालिका–३ बिमलेका एकै परिवारका दुई जना बालिकाको शव सोमबार अछामको पञ्चदेवल विनायक नगरपालिका–४ बेलखेत भन्ने स्थानमा फेला परेको थियो।

फेला परेका शव दैलेखको आठबीस नगरपालिका–३ का मानसिंह बडुवालका छोरीहरू १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको रहेको प्रहरीले जनाएको छ। दैलेख प्रहरीका अनुसार माछा मार्ने जालमा अड्किएका दुई बालिकाको शव हात बाँधिएको अवस्थामा सोमबार फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी राजेश साउँका अनुसार घटनास्थलमा प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी अर्जुन चन्द सहित जिल्लाबाट डीएसपी सम्मिलित टोली खटिएका छन्‌। घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। 

सुखी बडुवाल तीन छोरी र एक छोरा लिएर माइती जान भनी हिँडेकी खुलेको प्रहरीले जनाएको छ। ​मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले मदिरा सेवन गरी दिनहुँ यातना दिने गरेको थाहा लागेको छ।

यातना सहन नसकेरै आमाले आफूसहित सबै सन्तानलाई कर्णालीमा बगाएको हुनसक्ने स्थानीयबासीले अनुमान गरेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.