|

रुकुम (पूर्व) : लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वका कृषि दाँतेओखर खेतीतर्फ आकर्षित भएका छन्। प्रशस्त मात्रामा हाडेओखर पाइने यस जिल्लाका किसान उन्नत जात अर्थात दाँते ओखर खेतीतर्फ आकर्षित भएपछि टर्कीबाट १९ हजार कलमी बिरुवा ल्याइएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ रुकुम पूर्वले सञ्चालन गरेको ओखर जोन कार्यक्रमअन्तर्गत ओखरका बिरुवा खरिद गरेर ल्याइएको हो। परियोजनाका कार्यालय प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले क्षेत्रगत आधारमा दुई जातका ओखरको बिरुवा ल्याएको बताए। 

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकासँगै सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रका लागि फर्नर जातको पोथी र फर्नेट जातको भाले बिरुवा ल्याइएको प्रमुख डाक्टर चौबेले जानकारी दिए। उनका अनुसार जिल्लाको तल्लो भेगका लागि भने चेन्डलर जातको पोथी र फ्यांकीवट जातको भाले बिरुवा ल्याइएको छ।

यस वर्ष ल्याइएका यिनै बिरुवाले ८/१० वर्षपछि मातृ बिरुवाको रूपमा काम गर्ने र त्यसपछि बाहिरी देशबाट बिरुवा आयात गर्नुपर्ने बाध्यता हट्ने डा. चौबेले जानकारी दिए।

किसानलाई अनुदानमा वितरण

किसानको मागका आधारमा टर्कीबाट आयात गरिएका ओखरको बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिने कार्यालयले जनाएको छ। टर्कीबाट बिरुवा खरिद गरेर ल्याउँदा प्रतिबिरुवा ४५० रुपैयाँ परेपनि कृषकले २२५ रुपैयाँमा खरिद गर्न पाउनेछन्‌।

जिल्लामा रहेका तीन गाउँपालिकामध्ये सिस्ने गाउँपालिकाको वडा नम्बर ३ बाहेक अन्य ३० वटै वडामा ओखर जोन कार्यक्रम लागू गरिएको छ। ओखर पाइने सम्भावित सबै क्षेत्रका किसानलाई मागका आधारमा दाँते ओखरको कलमी बिरुवा वितरण भइरहेको कार्यालयले जनाएको छ।

अहिले परियोजना अन्तर्गत क्षेत्र विस्तार र चक्लाबन्दी भइरहको छ। 

सिँचाइ समस्या कायमै  

ओखरका लागि रुकुम पूर्व उपयुक्त ठाउँ भएपनि सिँचाइ अभाव छ। हाल कायम समस्या न्यूनीकरण गर्न कार्यालयले यस आर्थिक वर्षमा चक्लाबन्दी कार्यक्रममार्फत सिँचाइ योजनाको कामलाई अगाडि सारेको डा. चौबेले बताए। 

जिल्लामा ओखर जोन कार्यक्रम लागू भएको पहिलो वर्षमा परीक्षणका लागि भारतको जम्मु काश्मिरबाट ७/८ हजारको हाराहारीमा बिरुवा ल्याइएको थियो। परीक्षण सफल भएपछि गएको वर्ष टर्कीबाटै ३ हजार ८ सय बिरुवा ल्याइएकोमा यस वर्ष १९ हजार बिरुवा ल्याइएको हो।

यस कार्यालयबाट मात्रै २९/३० हजारको हाराहारीमा दाँते ओखरको बिरुवा वितरण भइसकेको छ। रुकुमपूर्वमा किसानदेखि जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.