सत्ता समीकरणमा लाग्दा पार्टी विभाजन हुन सक्ने खतरा

|

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एक भंग गर्ने निर्णय गरेपछि नयाँ सत्ता सहकार्यको समीकरण खोजी भइरहेको छ। नेकपा भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि नयाँ सरकार गठनको लागि समीकरण खोजी तीव्र भइरहेको छ। 

नेकपाको एकता भंग भएपछि संसद्मा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार निर्णय गर्नका लागि जसपाको साथ खोजेका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीले जसपालाई आफ्नो पक्षमा ल्याउन पहल गरिरहेका छन्। 

यता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओली सरकार ढाल्न कांग्रेस र जसपासँग साथ मागिरहेका छन्। ओली सरकार थाल्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सकारात्मक भएको बुझिएको छ। 

मंगलबार प्रचण्डले देउवा र भट्टलाई भेटवार्ता गरेका थिए। यता, जसपाको तत्कालीन राष्टिय जनता पार्टी (राजपा) पक्षले ओलीसँग सत्ता सहकार्यका लागि कार्यदल समेत बताएको छ। कार्यदल बनाएको विषयमा संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव बेखबर नै थिए।  

माओवादीसँग सत्ता सहकार्य गरेर ओली सरकार ढाल्न बाबुराम सकारात्मक देखिएपछि प्रचण्डले जसपा अर्को पक्ष ठाकुर र महतोसँग पनि छलफल गरेका छन्। 

एमालेसँग सत्ता सहकार्य गर्न कार्यदल

नेकपा एमालेसँगको सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले कार्यदल गठन गरेको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको टोलीले कार्यदल गठन गरेको हो।

कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्। सत्ता सहकार्यबारे गठन गरिएको कार्यदलमा एमालेका तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङ छन्। 

जसपा सांसद रेशम चौधरीलाई रिहाइको सर्तमा सत्ता सहकार्यको कार्यदल गठन गरिएको स्रोतले बतायो। कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी अहिले जेलमा छन्। ​

तर, जसपाले कार्यदल निर्माण गरिसक्दा समेत संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई जानकारी नभएको बुझिएको छ। यो समूह प्रधानमन्त्री ओलीसँग रुष्ट छ। 

अध्यक्ष ठाकुर पक्षले ओलीसँग सहकार्यका लागि सकारात्मक भए पनि भट्टराई र उपेन्द्र यादव पक्ष त्यसविरुद्ध उभिएका छन्। सरकारमा जाने विषयमा जसपा पनि दुई धारमा बाँडिएको छ। 

यसअघि पनि प्रधानमन्त्री ओलीले संविधान संशोधन नगर्ने देखिएपछि जसपा सरकारबाट बाहिरिएको थियो। उपप्रधानमन्त्रीसहित सरकारमा रहेका यादवले मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव लग्दा रोकेपछि यादवले सरकारबाट बाहिरिएका थिए। 

जसले माग पूरा गर्छ उसैलाई समर्थन

सरकारमा आफ्नो नेतृत्व गर्ने क्षमता नभए पनि जसले आफ्नो माग पूरा गर्छ उसैलाई समर्थन गर्ने जसपा वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन्। संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘केपी ओली सरकारलाई पहिले समर्थन गरेको हौँ, शासकहरूलाई सित्तैमा समर्थन गर्दैनौँ। हामी त्यसका लागि मात्रै जन्मेका होइन। हामीले भन्दै आएको माग पूरा भएपछि मात्रै सहमति हुन्छ।’

उनले रेशम चौधरी, थरूहट आन्दोलनको मुद्दा र संविधान संशोधनलगायत माग गरेको खण्डमा सत्ता सहकार्य गर्न सकिने तर्क गरेका छन्। उनले ओलीलाई पहिल्यै पनि विश्वास गर्दा धोका पाएको हुनाले ओलीले जति कसैले ठग्न अरु कसैले नजानेको आरोप लगाए।

‘सरकारको नेतृत्व गर्ने क्षमता छैन। जनताले दिएपछि गछौँ। एमाले माओवादी र कांग्रेसले संविधान बनाउन नै प्रतिगमन गरेको थियो’, उनले भने, ‘त्यसमा ओलीले फेरि अहिले प्रतिगमन गरेको हो।’

उनले सबैतिर छलफलका लागि कार्यदल बनाएको तर्क गरे। ‘हाम्रो माग पूरा भएपछि सरकारमा जाने बारेमा सोचौँला। पार्टीभित्र एकै मत छ। तपाईंहरुले भन्नुभएको जस्तो विमति छैन’, उनले भने। 

‘निर्णय भएको छैन’

तत्काल कसलाई समर्थन गर्ने भन्नेबारे कुनै निर्णय भइनसकेको नेता लक्ष्मणलाल कर्ण बताउँछन्। 

‘अहिले सरकार जाने भनेर कुनै निर्णय भएको छैन। एजेण्डा नबोकी हामी कहाँ सरकारमा जाने कुरा हुन्छ’, उनले भने, ‘एमालेसँग वार्ता गर्न कार्यदल निर्माण भएको छ। तर, औपचारिक रुपमै भने होइन।’

समय हेरेर अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मंगलबारको संसदीय दलको बैठकमा कुरा भएको उनले बताए। ‘हामीले सबैसँग कुरा गर्न खुला गरेका छौँ’, उनले भने, ‘पार्टीभित्र छलफल गरेरै कतापट्टि समर्थन गर्ने भन्नेबारे निर्णय लिन्छौँ।’

कार्यदलमै अनविज्ञता!

यस्तै, सरकारमा जाने भन्ने विषयमा कुरा आएको भए पनि कुनै निर्णय नभएको नेता रामबाबु यादव बताउँछन्। उनले अध्यक्ष ठाकुर र वरिष्ठ नेता ठाकुरले एमालेसँग सत्ता सहकार्यका लागि निर्माण गरेको कार्यदलको विषयमा अनविज्ञता प्रकट गरे। 

‘संसदीय दलको बैठकमा राजनीतिक घटनाक्रमको विषयमा कुरा भयो तर, कुनै निर्णय भएन’, उनले भने, ‘अहिले दुवै पक्षसँग कुरा भए पनि आफ्नो माग जसले पूरा गर्छ त्यही हाम्रो समर्थन रहन्छ।’

निर्णायक मोडमा जसपा

नेकपाको एकता भंग गरेपछि सत्ता सहकार्य लागि चौथो दल जसपा निर्णय बन्न पुगेको छ। अदालतले नेकपा एमाले र माओवादीलाई ब्यूँताएपछि संसदीय समीकरण बदलिएको छ। 

प्रतिनिधि सभामा एमालेको १ सय २१, कांग्रेसको ६३, माओवादी केन्द्रको ५३  र जसपाको ३४ सांसद छन्। यी ४ दलबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसँग १/१ सांसद छन् भने १ स्वतन्त्र सांसद छन्।

अब एमाले र कांग्रेस मिलेर पनि बहुमत सरकार गठन गर्न सक्छन्। यस्तै एमालेले जसपालाई आफ्नो पक्षमा तान्न सक्यो भने पनि सरकार बन्न सक्छ। एमाले र माओवादी केन्द्रबीच सहकार्य जारी रहेको खण्डमा पनि सरकार गठन हुन सक्छ। 

तर, यो विकल्प अत्यन्त न्यून छ। प्रचण्डले कुनै पनि हालतमा अब ओलीसँग सहकार्य गर्न नसक्ने तर्क गर्दै आइरहेका छन्। ओलीलाई दबाब दिन कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर पनि नयाँ सरकार गठन गर्नसक्ने देखिन्छ।

तर, प्रधानमन्त्री ओलीले जसपाको तत्कालीन राजपालाई आफ्नो पक्षमा ल्याएर भएपनि आफ्नो सरकार जोगाउने दाउ खेलिरहेका छन्। जसको कारणले जसपा विभाजन हुनसक्ने आकलनसमेत गर्न थालिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.