|

म्याग्दी : हिन्दू धर्मावलम्वीहरूले भगवान विष्णुको अंश मानेर पुजा गर्ने पवित्र शिला ‘शालिग्राम’ पाइने विश्वकै एकमात्र नदी हो कालीगण्डकी। दामोदर कुण्डदेखि मुक्तिनाथ र म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै गुल्मीको रिडीसम्मको क्षेत्रमा धार्मिक तथा वैज्ञानिक रूपले समेत महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइन्छ।

बहुमूल्य शालिग्राम पाइने कालीगण्डकी यही क्षेत्र सबैभन्दा बढी दोहन भैरहेको छ। राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकको गलेश्वर क्षेत्र वरपर व्यापकरूपमा नदीको उत्खनन् गरी ढुंगा निकालेर सडक र बजारको संरक्षणका नाममा अस्थायी संरचना निर्माण गरिएको छ।

ग्याबिन जाली र वाल लगाउने वहानामा जमेर बसेका ढुंगालाई स्काभेटरको सहायताले नदीको बीचबाट निकालेर फुटाली झन्‌ जोखिम निम्त्याइँदा समेत सरोकारवाला निकायले मुख खोल्न र काम रोक्न सकेका छैनन्। जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको नदीको बीचबाट निकालेर भारी मेसिन (स्काभेटर) प्रयोग गरी छियाछिया पारिएको छ।

तटबन्ध गरिएको क्षेत्रमा नदी कटान तीव्र रूपमा भैरहेको अवस्थामा नदी उत्खनन् र नदीजन्य वस्तुको चोरी निकासी गर्न सजिलो हुने गरी एक्साभेटर र टिप्पर पुर्‍याउन सडकसमेत बनाइएको छ। कुनै निकायसँग सम्झौता पनि नगरी र नदी उत्खनन्‌को मापदण्ड विपरित नदी दोहन भैरहेको स्थानीयले गुनासो गरेका छन्।

गत वर्ष कालिगण्डकीमा आएको बाढीले नदीको धार परिवर्तन गरेको स्थानमा तटबन्धका लागि अन्यत्रबाट ढुंगा ल्याएर काम गर्नुपर्नेमा हेभी इक्युपमेण्ट जथाभावी प्रयोग गरी नदीबाट ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ भने सदरमुकाम काली पुल क्षेत्र थप जोखिममा परेको स्थानीय श्याम क्षेत्रीले बताए।

उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको वहानामा नदीको तीव्र वेग रोक्नसक्ने ढुंगा निकाल्दा समेत जनप्रतिनिधि र सरोकारवाला निकाय मौन बसेपछि हरेक वर्ष नदीको अस्तित्व संकटमा पर्नुको साथै सौन्दर्य समेत गुम्दै गएको छ।

तटबन्ध निहुँमा ठेकेदार मोटाउँदै, सरोकारवालाका आँखा बन्द 

सडक र वजार संरक्षणका लागि कालीगण्डकी नदीमा तटबन्ध गर्न थालेको वर्षौं भएको छ। यो बीचमा कालीगण्डकी नदीमा धेरै पानी बग्यो, तर संरक्षणका लागि गरिएको तटबन्ध प्रभावकारी भने हुन सकेन। बरु, तटबन्धका लागि ठेक्का लिएका ठेकेदारहरूले भने नदी उत्खनन्‌लाई वहाना बनाए र टन्नै कमाए।

ठेकेदारको प्रभावमा परेर हो वा जिम्मेवारीबाट तल झरेर हो-सरोकारवालाहरूले मुख खोलेनन्। न कुनै अनुगमन भयो., न त जथाभावी रूपमा नदीको अस्तित्व मासेर टन्ने कुम्ल्याउनेहरूलाई कुनै कारबाही नै! बरु सरोकारवालाहरूको वेवास्ताको फाइदा उठाउँदै ठेकेदारहरूलाई नदी दोहन गर्न थप बल पुगिरह्यो।

वातावरणीय परीक्षण प्रतिवेदन र सम्वन्धित कार्यालयसँग भएको सम्झौता विपरित नदीको उत्खनन् हुने गरेको भन्दै रोक्न पटक पटक अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको बेनी नगरपालिका वडा नं ८ का वडा सदस्य हिमबहादुर भण्डारीले बताए।

‘ढुंगा निकाल्न नदिने प्रयास भएकै हो तर कार्यान्वयन गर्ने निकायले नै वास्ता नगरेपछि हामीले मात्रै सकिएन‘ वडा सदस्य भण्डारीले भने। उनले स्काभेटरको प्रयोग गरी नदीको गर्भ खनिरहेको पाइएकोले स्थायी रूपमा नै रोक्न आवश्यक पहल हुनुपर्ने बताए।

मानवीय कमजोरी नै जोखिमको कारण

कालीगण्डकीमा मानव सिर्जित कमजोरीका कारण नै जोखिम बढ्दै गएको जानकारहरूको भनाइरहेको छ। नदीका ढुंगा र नदीजन्य अन्य वस्तु निकाल्न नदिनका लागि स्थानीयको दवावले मात्रै काम नगरेपछि सुरक्षा निकायको समेत सहयोग लिएको तर सुरक्षा निकायले पनि यहाँ हुने उत्खनन रोक्न नसकेको स्थानीयबासी बताउँछन्‌। 

बेनी नगरपालिका वडा नं ६ को क्षेत्रमा पर्ने जलेश्वर क्षेत्रमा तटबन्ध गर्ने ठेक्का बेनी नगरपालिका मार्फत शिव जिसी र पूर्वाधार कार्यालय मार्फत ठेकेदार विपिन खड्काले लिएका छन्। अस्थायी संरचनाको काम भएपनि हालसम्म बजेट स्वीकृत नभएकाले समस्या भइरहेको पूर्वाधार कार्यालयका प्रमुख नवराज पौडेलले बताए।

‘नदीमा रहेका ढुंगाले वर्षामा नदीको वेगलाई रोक्न सघाउँछन्‌, नदीको छेउछाउ र बीच भागमा रहेका ठूला ढुंगा नफुटाइ अरू ठाउँबाट ढुंगा ल्याएर काम गर्न ठेकेदारलाई अनुरोध गरिएको हो,’ उनले भने।

बजेट अभावकै कारण जहाँ सम्भव छ त्यहीबाट ढुंगा निकालेर काम गर्नु पर्ने वाध्यता रहेको ठेकेदारहरूको भनाइ छ। वस्ती वरिपरिको क्षेत्रमा नदी भित्रबाट ढुंगा निकाल्दा नदीले धार परिवर्तन गरी थप कटानको जोखिम हुने भएकोले सतर्क रहनु पर्ने प्राविधिकको भनाइ रहेको छ।

उत्ताउलो विकासे मोडलको परिणाम

‘कालीगण्डकीमा उत्ताउलो विकासको मोडल प्रयोग भइरहेको छ,’ एक प्राविधिकले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, ‘यहाँ प्राविधिकहरूले दिएको सुझाव नै कार्यान्वयन हुँदैन।’ उनका अनुसार अहिलेसम्म भएको विनासको प्रमुख कारण भनेकै मानवीय लापर्वाही नै हो त्यसपछि बल्ल प्राकृतिक कारण हो।

संरक्षणका नाममा जोखिम निम्त्याउने काम 

बेनी बजार संरक्षणका नाममा विगत ६ वर्षदेखि काम हुँदै आएको छ। तर, बजार संरक्षणका लागि नदी किनारमा तटबन्ध निर्माण गर्दा विगतमा नदीबाट ढुंगा निकालिएको स्थान अहिले झन्‌ बढी जोखिममा परेको छ।

बजार संरक्षणका लागि पर्खाल लगाउने नाउँमा जथाभावि नदी किनाराका ढुंगा र बालुवा निकाल्दा संरक्षण होइन, जोखिम बढेको भन्दै स्थानीयले बेनी नगरपालिकामा गुनासो गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.