|

भक्तपुर : भक्तपुरबाट ४२ लाख अवैध रकमसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङ रहेका छन्।

पेप्सीकोलाबाट सानोथिमितर्फ आउँदै गरेको बा २१ च ३८३९ नम्बरको कार जाँच गर्दा उनीहरुलाई रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जाँचका क्रममा विनोदले चलाएको कारको डिक्कीमा हजार, ५०० र १०० रुपैयाँ दरका नोट फेला परेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उक्त रकम २७ लाख रहेको गिरीले बताए।

विनोदले उक्त रकम बालकोट बस्ने सुमन घिमिरेको भएको बताएपछि सुमनको कोठामा छापा मार्दा थप १५ लाख ३० हजार रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको चेक समेत बरामद गरेको छ। प्रहरीका अनुसार सुमन घिमिरेको नाममा काटिएको दुई लाख ५० हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक एक थान, नौ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक एक थान, एक लाख ५० हजार रुपैयाँको स्ट्यार्ण्ड चार्टर बैंकको चेक एक थान, नौ लाख ९९ हजार रुपैयाँको नेपाल बैंकको चेक एक थान, १५ लाख रुपैयाँको महालक्ष्मी विकास बैंकको चेक, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार नगद जम्मा गरेको भौचर समेत बरामद भएको छ। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

अनुसन्धानका क्रममा पक्राउ परेका सुमन घिमिरे २०७४ कात्तिक १९ गते र पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाडौंबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा जुवा खेलेको वा खेलाएको अभियोगमा मुद्दा दर्ता भएको र २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धबाट बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको खुल्न आएको गिरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.