यात्री सोध्छन्‌ : बिजुलीको पोल कि हिँड्ने बाटो

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले दुई वर्षअघि माइतीघर मण्डला, चाबहिल र जय बागेश्वरी लगायत स्थानमा आकाशेपुल निमार्ण गर्ने योजना ल्यायो। त्यही योजना अनुसार महानगरपालिकाले माइतीघर नजिकै आकाशेपुल निर्माण गर्‍याे। 

२०७७ साउनमै निर्माणकार्य सकेर उक्त पुल सर्वसाधारणका लागि खुला गरिएको छ। तर, महानगरपालिकाले सर्वसाधारणलाई वारपार गर्न मात्रै होइन, आकाशे पुललाई नै बिजुलीको पोलसमेत बनाएको छ। 

बिजुलीका तार पुलका खब्बामा बाँधिएको छ। तार गुजिल्टो पारिएको छ। मानिस आवतजावत गर्ने पुलमै बिजुलीको तार बाधिँदा करेन्ट लाग्ने जोखिम उच्च छ। यात्रुहरू त्रसित हुँदै यात्रा गर्न बाध्य छन्। तर, महानगरपालिकाले सुरक्षाका हेक्का नै राखेको देखिँदैन, न त विद्युत व्यवस्थापनको नियामक प्राधिकरणले नै यस्तो लापरवाही हटाएको छ।

यो आकाशे पुलमा पहिला बीचबाटै तारकाे लठ्ठा छिराइएको थियो। ती तार भने अहिले हटाइएको छ। 

‘महानगरपालिकाले पासो थाप्यो’

महानगरपालिकाले बनाएको आकाशेपुललाई बिजुलीको पोल जस्तै बनाइएको सोही पुलमा भेटिएका कपनका वसन्त भण्डारीले बताए। उनले भने, ‘पुल बनाउनु राम्रो र यात्रुलाई फाइदाजनक हो। तर पुलमा तार लतारिएको छ। यसो हेर्दा मान्छे हिँड्नका लागि भन्दा पनि बिजुलीको लागि पोल बनाइएको जस्तो देखिन्छ।’

यसले सर्वसाधारणको ज्यान जोखिम भएको भन्दै उनले तत्काल सबै तार हटाएर मात्रै सर्वसाधारण ओहोरदोहोर गर्न दिन महानगरलाई सुझाए।

‘यो पुल फलामको बनाइएको छ। केही भएर बिजुली सर्ट भयो भने पुलमा यात्रा गर्नेलाई करेन्ट लागि हाल्छ। कसैको ज्यान तलमाथि भयो भने को जिम्मेवार बन्छ?,’उनले प्रश्न गरे, ‘यो भन्दा जोखिम अरु केही होइन। त्यसैले यो तारलाई तुरुन्त हटाएर जमिनमुनि गाड्नुपर्छ।’ 

उनले पुलको डिजाइन पनि गलत भएको भन्दै आक्रोश पोखे। ‘महानगरपालिकाले पुल त बनायो, तर फुटपाथमा पैदलयात्रु हिँड्ने बाटो चाहिँ छैन। यसले झनै शहर कुरुप बनाएको देखियो,’ उनले भने।

माइतीघर मण्डला अगाडिको आकाशे पुलमा मात्रै होइन, महानगरपालिकाले बनाएको चावहिलको आकाशेपुल पनि उस्तै जोखिमयुक्त देखिन्छ। त्यस्तै, नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको पुलमा पनि जोखिम छ। त्यहाँ पनि पुरै बिजुलीको तारले बेरिएको छ। तर, हटाउन कुनै निकायले चासो देखाएका छैनन्। 

पुलमा भेटिएका पुरानो बानेश्वरका नवराज शर्माले बिजुलीका तार पुलमै बेरिँदा जोखिम हुने गरेको बताए। ‘तार सर्ट भयो भने करेन्ट लागिहाल्छ नि!,’उनले भने, ‘यसरी सर्वसाधारणको ज्यानलाई खतरामा राख्नुभएन, यी सबै तार हटाउनुपर्‍याे।’

महानगरपालिकाले विकास खर्चका नाममा बजेट सकाउने कामको मेलो मात्रै गरेको पनि उनले आरोप लगाए। ‘महानगरपालिकासँग जति पनि बजेट छ, त्यसबाट कसरी व्यवस्थित र दिगो विकास गर्ने भन्ने केही योजना रहेनछ। जसरी पनि विकासका रकम सक्न काममा मात्रै लागेको देख्छु।’ 

महानगरपालिका भन्छ : तार हटाउँछौँ

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेको भन्दै सबै तार हटाउँदै जाने बताए।

‘सञ्चार मन्त्रालय,विद्युत प्राधिकरण र इन्टरनेट व्यवसायसँग तार हटाउनेबारे समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘अहिले हामीले मात्रै बिजुलीको तार पहिचान गर्न नै सक्दैनौँ, विस्तारै सबै तारलाई हटाउँछौँ।’

उनका अनुसार माइतीघर मण्डला अगाडिको आकाशे पुल निर्माणमा ८६ लाख रुपैयाँ खर्च भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले चावहिल चोकमा बनेको आकाशेपुल गत असाेज २१ गते उद्घा‍टन गरेका थिए। 

तस्बिर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.