|

काठमाडौं : वि.सं. २०६८ सालमा 'सानु कहाँ छौं' बोलको लोकदोहोरी गीतबाट नेपाली लोकदोहोरीमा प्रवेश गरेका गायक मेक्सम खातीले अहिलेसम्म २०० वटा भन्दा बढी गीतहरू ल्याइसकेका छन्।

दाङका स्थायी निवासी खातीले गाएका गीतहरू आम दर्शकले रुचाएका छन्। गलाकै कारण लाइभ दोहोरी र स्टेज कार्यक्रमका लागि देश तथा विदेशमा दर्शकको रोजाइमा छन्। सानु कहाँ छौ, रुँदै रुँदै तिम्रो शहर, गुल्मी जाने हो, पुकुली माया लगायत लोकप्रिय गीत गाएका उनी एक वर्षअघि अष्ट्रेलिया पुगे।

स्वदेशमै सफलताको सिँढीतर्फ उक्लँदै गर्दा अस्वभाविक लाग्नेगरी उनी जसरी परदेश लागे, उनी पलायन नै भएका हुन् कि भन्ने धेरैले सोचेका थिए। तर, उनी केही समयअघि नेपाल फर्किए। अहिले केही गीतमार्फत लोकदोहोरी क्षेत्रमा पुन: सक्रिय बनेका छन्।

केही गीत बजारमा ल्याउने तयारी गरिरहेका खातीसँग नेपाली लोकदोहोरी क्षेत्र, अहिले चलिरहेको चलन र गीतबारे थाहाकर्मी राजु पौडेलले कुराकानी गरेका छन्‌।

पहिलोपटक आफ्नो गीत चर्चामा आउँदा कस्तो अनुभव हुने रहेछ

पहिलो गीत चर्चामा हुँदा म १५ वर्षको थिएँ। त्यसबेला चर्चित हुनु र नहुनुको मजा र पीडाबोध गर्ने अवस्थामा म थिइनँ। म भाग्यमानी हुँ, किनभने म पहिलो गीतबाट नै दर्शकको मनमा बस्न सफल भएँ। 

आफ्नो पहिलो सिर्जना नै लोकप्रिय बनेपछि नयाँ सर्जकलाई नयाँ सिर्जना गर्दा कतिको दबाब महसुस हुन्छ? 

एकदमै धेरै हुन्छ। मेरो पहिलो गीत 'सानु कहाँ छौ" एकदमै हिट भयो। आज म जे छु : यही गीतले छु।

यदि त्यो गीतलाई दर्शकले मन नपराइदिएको भए लोकदोहोरी क्षेत्रमा हुन्थेँ भन्ने लाग्दैन। गीत लोकप्रिय बनेपछि विस्तारै मलाई अन्य गीतहरूमा उल्लेख्य मेहनत गर्नुपर्ने दबाब शुरू भइहाल्यो। अरू गीत दर्शकले मन पराएनन् भने के गर्ने भन्ने भयो। केही उतारचढावहरू आउने रहेछ।

पछिल्लो समय बाँच्ने भन्दा नाच्ने गीतहरू निकाल्न हानथाप गरिरहेका छन्, यसप्रति तपाईंको बुझाई के हो

अहिले टिक्नेभन्दा बिक्ने गीतहरू निकाल्ने जमात छ। यसमा म सहमत छु। म चाहिँ टिक्ने गीत गाउनुपर्छ वा सिर्जना हुनुपर्छ भन्नेमा छु। 

यसरी सोच्ने सर्जकहरू हुँदाहुँदै बिक्ने गीतको हालीमुहाली चाहिँ किन भएको होला? 

यसमा केही कारण छन्। पहिलो कुरा त स्टेज कार्यक्रमहरू हुन्छन्। जहाँ दर्शक रमाउन जानुहुन्छ - उहाँहरूलाई नचाउन पनि आवश्यक रह्यो।

माहोल जमाउन पनि आवश्यक छ। यद्यपी; काम गर्दै जाने हो। आज गरेको कामले १० वर्षपछि हेर्दा पनि आफूले मुख छोप्नुपर्ने बाध्यता नआओस्‌ भन्ने न हो। 

तपाईंका सबै गीतहरू चर्चित वा लोकप्रिय छैनन्, दिक्क लाग्दैन

काम हो। आफैँलाई मन परेका कामहरू पनि सबैलाई मन पर्दैनन्। दृष्टिकोण आ-आफ्नै हुन्छन्। आफ्ना सिर्जना सबैले मन पराए भने खुशी हुनु स्वभाविक हो।

मन पराएनन् भने मैले सिक्न बाँकी छ भन्ने बुझ्नुपर्छ। यो सिकाइको निरन्तरता मात्र हो। समयक्रममा सिक्दै जाने हो। हार खानु पनि त भएन। 

एक दशकको अवधिमा तपाईंले लोकदोहोरीमा क्षेत्रमा के-के परिवर्तन भएको देख्नुभयो?

परिवर्तन जरुर भएको छ। यसका सकारात्मक र नकरात्मक रहेका छन्। स्टुडियोदेखि बजारीकरणसम्म ठूलो परिवर्तन भएको छ। गायनमा आउने कलाकारहरू सिकिरहेका छौं, छन्।

स्वर र क्षमता हुनेले सजिलै प्लेटफर्म पाएका छन्। तर, विकाससँगै विकृतिहरू पनि छन्। हामी भाइरलमा रमाउन थालेका छौं। भाइरलले केही दिन खुशी त दिन सक्छ। यसले दीर्घकालीन रूपमा उपलब्धि केही हुँदैन।

युवापुस्ताले अग्रजको सम्मान नगर्ने प्रवृत्ति बढेको छ भन्छन्, धरातल भुल्ने अहिलेको पुस्ता कहाँसम्म पुग्छ? 

मलाई लाग्छ - अग्रज पुस्ताले कोरेको गोरेटोमा हामी हिँडेका हौं। उहाँहरूले बनाएको बाटोमा हामीलाई हिँड्न सजिलो भएको हो। हामीले यसलाई भुल्न हुँदैन पनि।

उहाँहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो। यसकारण हामीले हाम्रो मर्यादा नाघ्न हुँदैन। 

अहिले सुन्ने गीत लोकदोहोरी र लोक गीतसँग म्याच गर्ने खालका छन्?

म चल्ने भनेको मेरो पुस्तासँग हो जस्तो लाग्छ। यो समयको माग हो। परिवर्तित समयसँगै परिवर्तनका बाछिटाहरू संगीतमा पनि देखिनु यसको धर्म हो। हिजो जुन विम्ब र प्रतीक हालेर गीत गाइन्थ्यो, आज पनि त्यसैगरी गाउनुपर्छ भन्ने होइन।

हाम्रा माग र आवश्यकताहरू पनि फरक-फरक हुन थालेका छन्। गीत-संगीतमा पनि विस्तारै परिवर्तन भएको सत्य हो। परिवर्तन जुनसुकै क्षेत्रमा भएका छन्। 

सर्जक खातीले दर्शक खातीलाई दिने सुझाव के छ? 

कमजोरी बिनाको मान्छे त हुँदैन। मेरा गायनका कमजोरीहरू छन्। मैले कमजोरी देखेर नै विगत ५ वर्षभन्दा बढी संगीतबारे अध्ययन र अभ्यास गरिरहेको छु। सिक्न बाँकी धेरै छन्। हार मान्नुहुन्न भन्ने कुरामा म सबैभन्दा बढी सचेत छु। 

कोरोना महामारीका बीच मानिसहरू घरभित्र थुनिए, आफ्नोबारे सोच्न समय निकै पाए, तपाईंले यो अवधि कसरी बिताउनुभयो?

त्यतिखेर म अष्ट्रेलियामा थिएँ। यो बीचमा म पूर्ण रूपले दर्शक बनेँ।

म त गायक पो हुँ। अथवा म त सेलिब्रेटी हुँ भन्ने स्वाङ हुन्छ नि! त्यो भ्रम चाहिँ टुटेको छ। किनभने यो समयले आफूतर्फ फर्किने र आफ्ना कमि कमजोरीहरूको मूल्यांकन गर्न लामो समय दियो।

गायन यात्रामा तपाईंको सारथी को हुनुहुन्थ्यो?

म हिँडेको बाटोमा मेरो सारथी मेरो दाजु (नरेश खाती) हो। उहाँ नभएको भए म यो क्षेत्रमा हुँदैन थिएँ। दाइ आफैँमा राम्रो गायक हुनुहुन्छ। उहाँले गाएका गीत हिट छन्। तर, दाइले सधैँ 'भाइ फ्रस्ट'को सिद्धान्त लिनुभयो।

किनभने दाइले सिर्जना गर्नुभएको अधिकांश गीत मैले गाएको छु। मेरो जीवनको बेस्ट सहयात्री मेरो दाइ नै हुनुहुन्छ। 

अहिले भाइरल हुने नाममा गायनले सबैभन्दा बढी असर कसलाई गरेको छ? लोकसंगीत क्षेत्रलाई कि व्यक्तिलाई? 

लोकसंगीतले एउटा इतिहास बोकेको छ। यसको धरातल कमजोर छैन। भाइरलका नाममा लोकदोहोरीको प्रयोग हुँदा स्वयम्‌ लोकदोहोरीको जगलाई समस्यामा त नपार्ला। यद्यपी; सबैभन्दा बढी असर त्यहि व्यक्तिलाई हुन्छ, जो भाइरल बन्न रुचाउँछ।

तर, वर्षौंदेखि यही क्षेत्रमा काम गर्ने व्यक्तिहरूले भाइरलको लोभ गर्छन् भन्ने चाहिँ लाग्दैन। 

तपाईंले भनेजस्तो भाइरल हुन नरुचाउने हो भने अनेक फण्डा चाहिँ किन अपनाउँछन्‌?

चर्चाको भोक एउटा नशा हो। यसमा फसेपछि बाहिर निस्कन अत्यन्त कठिन छ। भ्युजमा धेरै देखिएपनि त्यहाँ आउने कमेन्टहरू पढ्न सकिने खालका हुँदैनन्।

​यसकारण सुन्दर काम गरेर हुने भाइरललाई त सम्मान नै गर्नुपर्छ। तर, अनेक हतकण्डा अपनाएर हुने भाइरलबारे त आफू सुरक्षित रहने न हो।

पहिलेको पुस्ता र अहिलेको पुस्तालाई दिइने सम्मानबीच कस्तो अन्तर देख्नुहुन्छ

फरक छ नि! पहिले कलाकारहरू कम हुनुहुन्थ्यो। उहाँहरूको काम एउटा तहको हुन्थ्यो। ती गीतहरूले लामो समयसम्म प्रभाव पार्न सक्थ्यो।

अहिले कलाकारको संख्या उल्लेख्य छ, प्रतिष्पर्धा छ। सिर्जना किनबेच हुन्छ। पैसामा सिर्जना किन्ने भएपछि महत्व घट्छ।

दर्शकहरू मूल्यांकन गर्न सक्षम छन्। कला र क्षमताका आधार दर्शकले मूल्यांकन गरिहाल्नुहुन्छ। दर्शकलाई भ्रममा राख्न सकिँदैन।

यसरी हेर्दा कलाकारलाई हेर्ने दर्शकको माया र सम्मान पनि साँघुरिएर गएको छ। अहिलेका सबै जना खराब हुन भन्ने होइन। तर, सिर्जना किनबेच चाहिँ हुन्छ। यो चाहिँ सत्य हो। पैसाले सिर्जना किन्न सकिएला, तर गला किन्न सकिँदैन नि!

हामी बाँच्ने भनेको हाम्रो व्यक्तित्व, व्यवहार र प्रस्तुतिले नै हो। यसकारण सम्मान दिऔं, सम्मान लिऔं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.