​निर्णायक बनेपछि नेतृत्वको दाबी गर्दै जसपा

|

काठमाडौं : पछिल्लो समय नेपाली राजनीति तरङ्गित भएको छ। दुई तिहाई नजिकको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको निर्णयपछि भंग भयो। आन्तरिक झमेलाकै कारण पार्टी विभाजनमै पुग्यो।  

अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुनर्स्थापित गरिदिएपछि नयाँ सरकार निर्माणका लागि जोडबल चलिरहेको छ। ओली नेतृत्वको नेकपा एमाले सरकार ढालेर नयाँ गठनबन्धनको सरकार गठन बनाउने दाैडधुपमा बाँकी दल लागिपरेका छन्। यद्यपि कसको नेतृत्वमा सरकार बनाउने वा ओलीकै सरकारमा जाने भन्नेमा दलहरूबीच मतैक्यता देखिएको छैन।  

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँगको तिक्ततापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार गिराउन प्रयासरत छन्। माओवादीसहित बनेको एमाले सरकारमा छ। तर माओवादीले सरकारबाट समर्थन फिर्ता लिए ओली अल्पमतमा पर्ने देखिन्छन्।  

तर, माओवादीले एमाले सरकारविरुद्ध नयाँ गठबन्धन भइनसक्दा सरकारबाट हात नझिक्ने रणनीति बनाएको छ। 

त्यसो त माओवादी सर्वोच्चले संसद् पुनर्स्थापित गरिदिएपछि संसद् कार्य अवधिभर चल्नुपर्ने पक्षमा छ। कुनै रणनीतिबिना समर्थन फिर्ता लिए ओलीले चाल्नसक्ने कदमले पुनः संसद भड्खालोमा फस्न सक्नेतर्फ माओवादी सशंकित पनि छ। 

निरन्तर छलफल 

ओली सरकारलाई ढाल्न गठबन्धनको सरकार बनाउने विषयमा माओवादीले कांग्रेस र जसपासँग निरन्तर रुपमा छलफल गरिरहेको छ। 

दुवै पार्टी बीच छलफल सकारात्मक दिशामा बढिरहेकाले कांग्रेस र जसपासँग बेग्लाबेग्लै वार्ता बसेर संयुक्त रुपमा छलफल गर्ने नेता नारायणकाजी श्रेष्ठ बताउँछन्। 

‘सबै ढंगबाट वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ। ओली सरकारले प्रतिगमन गरेको छ अदालतले सच्याएको बेलामा कसरी जाने भन्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘सत्ता सहकार्यपछि संघीयता लोकतान्त्रिक गणतन्त्रपछिको समाजवादमा जाने लक्ष्यलाई संयुक्त रुपमा सरकार लानु हाम्रो एजेण्डा हो।’

वर्तमान सरकारलाई हटाएर जाने विषयमा गठबन्धन सरकार निर्माण गर्ने विषयमा कांग्रेस पनि सकारात्मक भएको उनको भनाइ छ। 

यता माओवादी नेता देवेन्द्र पौडेल पनि सत्ता सहकार्यको विषयमा सबैसँग निरन्तर छलफल भइरहेको बताउँछन्। ‘हामीले सबैसँग निरन्तर छलफल गरिरहेका छौँ। तर, निष्कर्षमा पुग्न सकेका छैनौँ’, उनले भने। 

कांग्रेस अनिर्णित !

ओलीको कदमविरुद्ध आन्दोलनमा निस्किएको भए पनि कांग्रेसले एमाले सरकार ढाल्ने विषयमा अझै निर्णय लिन सकेको छैन। कांग्रेस अनिर्णयको बन्दी बन्दा ओलीविरुद्धको मोर्चाबन्दी अगाडि बढ्न नसकेको माओवादी र जसपाको ठहर छ। 

शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले भने, ‘कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको छ।’ 

देउवाले भने थिए, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन। र परिस्थिति पर्यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन।’ 

यद्यपि, कांग्रेस संसदीय दलको बैठकमा पनि देउवालाई नेतृत्व लिएर जान सांसदहरुले आग्रह गरिसकेका छन्। तर, उनले अझै पर्ख र हेरको रणनीतिमा बसिरहेका छन्। 

सभापति देउवाइतरका नेताहरुले पनि अबको सरकारको जिम्मेवारी कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै आएका छन्। त्यसो त कांग्रेसलाई प्रधानमन्त्री दिन माओवादी तयार भएको बुझिएको छ। 

जसपामा विवाद 

सत्ता सहकार्यको विषयमा निर्णायक रहेको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ। जसपाले सत्तामा जान एमाले र माओवादी दुवैसँग छलफल गरिरहेको छ। तर, दुवै पार्टीसँगको वार्ता सकारात्मक भएको बताउँदै आए पनि निर्णय लिन सकेको छैन।

दुवै पार्टीभित्र छलफल चलिरहे पनि आफ्नो एजेण्डा पूरा नगरेसम्म सत्ता सहकार्यबारे छलफल बढ्न नसक्ने जसपा अध्यक्ष महन्थ ठाकुर बताउँछन्।

‘छलफल सकारात्मक भइरहेको छ। तर, अहिले हामीले मधेश र जनजातिको समस्याको विषयमा उठाइरहेको छौँ। हाम्रो हातमा केही छैन। संसद र प्रशासनमा उहाँहरुको वर्चस्व छ’, उनले भने, ‘माग पूरा भयो भने ठिकै छ, होइन भने उहाँहरुले जे गर्नुहुन्छ गर्नुहुन्छ।’

यता अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओली नेतृत्वको सरकारसँग सहकार्य नहुने स्पष्ट पारेका छन्। शनिबार माओवादी केन्द्रसँगको छलफलपछि बाहिरिने क्रममा उनले भनेका थिए, ‘ओलीको सर्वसत्तावाद परास्त गर्ने विषयमा छलफल भएको छ। बैठक सकारात्मक छ। ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य हुँदैन।’

प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायत विषयलाई कार्यान्वयन गरे धन्यवाद मात्रै दिन सकिने यादवको तर्क थियो। 

निर्णायक बनेपछि नेतृत्व खोज्दै जसपा

गठबन्धनको सरकारमा निर्णायक पोजिसनमा पुगेपछि जसपाले नेतृत्वको दाबी गर्न थालेको छ। 

जसपा अध्यक्ष ठाकुरले केही दिनअघि सञ्चारकर्मीसँगको कुराकानी क्रममा तपाईं प्रधानमन्त्री बन्ने चर्चा चलिरहेको छ नि भन्ने प्रश्नमा उनले भनेका थिए, ‘मलाई त्यो विषयमा जानकारी छैन। तपाईंहरुले नै सुनाउनुभयो।’

तर, गठबन्धनको सरकारमा निर्णय भूमिकामा देखिएपछि जसपाले नेतृत्वको दाबी गर्न थालेको छ। जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जसपा अरुको पछि लागेर सरकारमा नजाने बताएका छन्। 

पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ। सामाजिक सञ्जालमार्फत उनले जसपा कसैको पुच्छर नबन्ने दाबी गरेका छन्। 

सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन्।

ट्विटरमा उनले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा : १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो २. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र विरुद्ध कसैसँग सम्झौता गर्दैन। ३. यो कसैको पुच्छर हैन, आफैं देशको नेतृत्व गर्ने शक्ति हो।’

एमाले विवादले फाइदा हुन सक्छ

एमाले अध्यक्ष ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालबीच विवाद चर्किरहेको छ। ओलीले एकलौटी रुपमा नेता खनाल–नेपाल समूहलाई हटाएर माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुलाई नेतृत्व दिएपछि एमालेभित्रको विवादले उग्र रूप लिएको हो।  

शुक्रबार बसेको ओली पक्षको बैठकले नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो। ओली समूहले चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 

तर, खनाल–नेपाल पक्षले शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीको कदमलाई काउन्टर दिन समानान्तर कमिटी गठन गरेको छ। यो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। बैठकमा नेता नेपालले ओलीसँग मिलेर जाने सम्भावना कमै मात्र रहेको ब्रिफिङसमेत गरेका छन्।

माओवादीले सरकारबाट समर्थन फिर्ता लिएको खण्डमा ओलीले विश्वासको मत नदिए सरकार स्वत ढल्नेछ। त्यसलै एमालेभित्रको विवादको कारणले गठबन्धनको सरकार निर्णयमा सघाउ पुर्‍याइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.