|

कोभिड महामारीले फेरि एकपटक विश्वव्यापीकरणको महत्व अझै प्रगाढ तवरले बुझाएको जस्तो भान भएको छ। जसको ज्वलन्त उदाहरणको रूपमा कोभिड खोपको विश्वव्यापीकरणलाई लिन सकिन्छ। एक देशमा खोप उत्पादन हुनासाथ अर्को मुलुकले खोपको आशा गरिरहेका छन्।

हामी अहिले एकैठाउँमा बसी विश्व भ्रमणको कल्पना गर्नसक्ने भएका छौं, जहाँ प्रविधिले विश्व अर्थतन्त्रलाई नै चलायमान गराएको छ। आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत यसले दरिलो प्रभाव पारेको छ। वर्तमान घडीमा विश्व सामु जलवायु परिवर्तन र वातावरणीय पर्यावरण चुनौतीको विषय बनेको छ। सम्पूर्ण राष्ट्रहरूले एकढिक्का भएर पर्यावरण बचाउन आग्रह गरिरहेका छन्।

एउटा वस्तु उत्पादन गर्न आवश्यक पर्ने पार्टपुर्जा निर्माण, आपूर्ति र बस्तु तथा सेवाको अन्तिम रूप दिन अमेरिका र चीनले मात्र नभएर विश्वका धेरै राष्ट्रहरूले साधन-स्रोतको उच्चतम सदुपयोग गरेका छन। जसका निम्ति धेरै मुलुकहरू एक अर्काको परिपूरक भएका छन्‌।

एप्पल कम्पनीद्वारा उत्पादित आइफोनको नयाँ मोडल क्यालिफोर्नियाको मुख्यालयले पहिलो पटक अमेरिकाको न्युयोर्कबाट सार्वजनिक गर्ने मिति र समय तय गरेसँगै सोही मिति र समयमा विश्वका प्रमुख बजारमा सो फोन खरिद गर्न क्रेताहरूको घुइँचो लाग्ने गर्छ। अझ, अग्रिम बुकिङ गर्न संसारभरका ग्राहक लालायित हुन्छ्न्।

विश्वव्यापीकरण भनौं वा भूमण्डलीकरण (ग्लोबलाइजेसन) अथवा अन्तरराष्ट्रिय व्यापारीकरण, यी सबैको अवधारणा एकै हुन्‌। विशेषत: सञ्चार र यातायात प्रविधिमा हासिल चमत्कारिक विकासले सिंगो मानव जगतलाई नै सानो बनाएको जस्तो आभास भएको छ।

भूमण्डलीकरणका आयाम फरक छन्‌। आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, खेलकुद, साहित्य कला इत्यादि। तथापि; यो आलेख खासगरी आर्थिक भूमण्डलीकरणको सेरोफेरोलाई केन्द्रमा राखी तयार गरिएको छ।

विद्वानहरूले गरेको अनुसन्धानलाई आधार मानेर कुरा गर्दा भूमण्डलीकरणको अभ्यास मानव सभ्यताको विकाससँगै प्रारम्भ भएको मानिन्छ। अफ्रिकाको घाँसे मैदानबाट सुरू भएको मानवजातिको यात्रा युरोप हुँदै इरानको बाटो भएर गंगा मैदानमा आइपुग्दा आर्य सभ्यताको विकास भयो।

एसिया र युरोपबीच प्राचीन समयमा रेशमीमार्ग (सिल्करोड) बाट आवतजावत हुन्थ्यो। यी भूभागमा वस्तुहरूको विनिमय हुन्थ्यो। यी तथ्यलाई विश्वास गर्ने हो भने भूमण्डलीकरणको अभ्यास हजारौं वर्ष अघिबाट भएको मान्न सकिने आधारहरू छन्।

विश्वव्यापी रूपमा भूमण्डलीकरण वा ग्लोबलाइजेसन शब्दको प्रयोग कसले प्रयोगमा ल्यायो, त्यसको प्रामाणिकता भेटन सकिएको छैन। हावर्ड विश्वविद्यालयस्थित बजार शास्त्रका प्रोफेसर थ्योडोरे लेभिटले सन्‌ १९८३ ताका 'दि ग्लोबलाइजेसन अफ मार्केटस्‌' नामक आर्टिकलमा प्रयोग गरेदेखि नै यो शब्द अत्यन्तै पेचिलो र महत्वपूर्ण अन्तरराष्ट्रिय अवधारणा बन्न सफल भएको छ।

यतिखेर यो अवधारणा तेस्रो मुलुकका रूपमा हेरिने अतिकम विकसित र विकासोन्मुखदेखि शक्तिशाली र विकसित मुलुकहरूका निम्ति अति नै महत्त्वको विषय बनेको छ।

भूमण्डलीकरण विश्व बजारमा बिना रोकटोक सहज ढङ्गबाट उत्पादनका स्रोत र साधनहरू, उत्पादित बस्तु तथा सेवाहरूको प्रवाह गराउने अवधारणा तथा क्रियाकलाप हो।

कतिपय खोजकर्ताहरूले यसलाई प्रजातन्त्र, उदारीकरण र पुँजीवादको विजयको प्रतीकका रूपमा पनि व्याख्या गरेका छन्‌ र मूलत: राष्ट्रिय सीमाहरूको महत्त्वलाई जोड दिएका छन्‌। शक्ति राष्ट्रहरूले २१ औं शताब्दीको महान उपलब्धि ठानेका छन्‌ भने तेस्रो मुलुकहरूका निम्ति अभिशाप सावित भएको बुझेका छन्‌। यसलाई विरोधाभाष ढङ्गबाट पनि हेर्ने गरिएको छ।

बितेका चार दशकयता भूमण्डलीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने अवधारणाहरू पुँजीवाद, निजीकरण, खुला बजार र नवउदारवादको विश्वव्यापी विस्तारले विश्वको व्यापार, लगानी, बजार संरचना, उत्पादन, वितरण, रोजगार, व्यवसायिक कानुन आदिको स्वरूपमा परिवर्तन नै ल्याएको छ।

कुनै पनि बस्तु तथा सेवाको पूर्ण उत्पादनलाई चार चरणमा बुझ्न सकिन्छ। वस्तु तथा सेवाको परिकल्पना, बहुमूल्य पाटपुर्जाको उत्पादन, कम मूल्य पर्ने पाटपुर्जाको उत्पादन र जडान।

यसरी, भूमण्डलीकरणको लोकप्रियता वृद्धिसँगै यी सबै कार्य एकै देशमा सीमित नभएर उत्पादनका अघिल्ला दुई कार्य विकसित देशहरूमा र पछिल्ला दुई कार्यहरू तेस्रो मुलुकहरूमा सम्पन्न हुने गरेका छन्‌।

खुला बजारमा पनि प्रभाव

विश्व बैंकको एक प्रतिवेदन अनुसार ७० को दशकमा विश्व व्यापारको योगदान विश्वको कुल गार्हस्थ उत्पादनमा २७ प्रतिशत थियो भने सन्‌ २०१८ मा यसको योगदान ५९ प्रतिशत पुगेकोदेखिन्छ। दोस्रो विश्वयुद्धपछि ७५ वर्ष यताको अवस्था हेर्दा वस्तुहरूको विश्व निर्यात ३०० प्रतिशतले बढेको पाइन्छ।

विश्वमा १९ औ शताब्दीको मध्यतिर मानिसको औषत आयु २९ वर्ष मात्र थियो। अहिले ७२ वर्ष पुगेको छ। भौतिक विकास, प्रविधिको प्रयोग, लगानी, उत्पादकत्व, नवीनतम खोज एवम्‌ अनुसन्धान, शिक्षा, आय-आर्जन, मुलुकहरू बीचमा आपसी अन्तरनिर्भरता र शान्ति-सुरक्षामा वृद्धि इत्यादिलाई भूमण्डलीकरणका असल प्रभाव मान्न सकिन्छ।

अब केही दुर्बल प्रभावका मुद्दाहरूमा कुरा गरौं। विश्वविख्यात विज्ञ तथा जानकारहरूले गरेको अध्ययनअनुसार सन्‌ १९९० को एसियाली र २००८ को विश्व वित्तीय संकट, २००१ को अमेरिकी विश्व व्यापार केन्द्र माथिको आतंककारी हमलादेखि अहिलेको यो कोभिड महामारी, जलवायु परिवर्तनदेखि वातावरणको विनाशलाई पनि उग्र पुँजीवाद, अधिक खुला बजार, नवउदारवाद, अत्यधिक सहज यातायात र समग्रमा भूमण्डलीकरणकै उपज मानिएको छ।

भूमण्डलीकरणको अवधारणा आत्मसात गरी बहुराष्ट्रिय कम्पनीहरूले विश्व बजारबाट ब्रम्हलुट गरिरहेका र कमाइको लगभग ८३ प्रतिशत मात्र १ प्रतिशत पुँजीवादीले कब्जा गरेको पाइन्छ।

यसरी सीमित व्यक्तिहरूले मात्र कमाइ गरिरहँदा उत्पन्न हुने मानवीय तथा प्राकृतिक प्रकोपको भागिदार भने विश्वभरका गरिब र निमुखा मानिसहरू हुनुपरेको छ।

विश्वव्यापीकरण होइन : अमेरिकीकरण

अमेरिका लगायत कतिपय पश्चिमा राष्ट्रहरूले आफ्नो नीति र प्रविधिमार्फत विश्वका गरिब तथा विकासोन्मुख राष्ट्रमा राज गर्ने रणनीतिको रूपमा यो अवधारणा विकास गरेका छन्।

यो व्यवस्था विश्वव्यापीकरण नभएर अमेरिकीकरण हो भन्ने भनाइहरू पनि भेटिन्छन्। गरिब देशका अशिक्षित र असक्षम नागरिकहरूलाई विश्वव्यापीकरणले देश विकास हुन्छ भन्ने अफवाह फैलाएर त्यस मुलुकको राजनीति, समाज, धर्म, संस्कारमा विकृती फैलाउँदै, आफ्नो प्रभाव जमाउँदै प्राकृतिक स्रोतको दोहन, अतिकम विकसित र विकासशील देशहरूका मानवीय संशाधन तथा कच्चा पदार्थहरूलाई भेटे नि:शुल्क, नभए कौडीको मूल्यमा हक जमाउने, गरिब मुलुकहरूबाट पुँजी पलायनदेखि साना, मझौला र घरेलु उद्योग तथा व्यवसायलाई प्रतिस्पर्धामार्फत निर्मम हत्या गरेको पाइन्छ।

भूमण्डलीकरणको नयाँ विकल्पको विषयमा कुरा गरौं। कोरोना महामारीसँगै विश्वभर अब भूमण्डलीकृत राजनीति र अर्थतन्त्रले ठूलो प्रभाव पार्ने देखिन्छ। मौजुदा भूमण्डलीकरणको अवधारणा र स्वरूपलाई परिष्कृत र थप गतिशील तवरले पुनर्व्याख्या गर्नुपर्ने भएको छ।

उन्नतीको मार्ग आवश्यक

अहिलेसम्म चासोको विषय र प्रयोगको अवधारणा विश्वसामु असफल हुन लागेको हो। तर, हामी माझ धेरै प्रश्नहरू खडा छन्‌।

केही छलफल र विश्लेषणका आधारमा दुई वटा विकल्प तयार भएका छन्। पहिलो-यथावत भूमण्डलीकरणको अवधारणा र स्वरूपलाई परिष्कृत र गतिशील हुने तवरले तेस्रो मुलुकहरूको उन्नती र हित हुनेगरी अभ्यास गराउनुपर्छ।

दोस्रो-अबको मार्ग ग्लोबलाइजेसन होइन ग्लोकलाइजेसनको हो। विश्वस्तरमा वैचारिक मन्थन गर्दै स्थानीयस्तरमा भएका उत्पादनका साधनहरूको उच्चतम सदुपयोगद्वारा अन्तरराष्ट्रियस्तरका वस्तु तथा उत्पादनमा तल्लीन भएर आत्मनिर्भर बन्नुपर्छ।

कोरोनाको अन्त्यसँगै विश्वबजारसँगको अन्तर-निर्भरतालाई प्रश्रय दिनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.