|

सिमरा : सप्तरीका सात वर्षीय बालक राउल चौधरीले एकै दिन ५५ किलोमिटर साइकल यात्रा गरे।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जले अघिल्लो साता आयोजना गरेको ‘साइकल यात्रामा–२०७७’ मा सहभागी मध्येका सबैभन्दा कान्छा थिए चौधरी। उनले ६५ वर्षीय पूर्वप्रधानसेनापति गौरवशम्शेर राणा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर साहसहित १ सय ९५ जना सँगै निकुञ्जभित्र साइकल यात्रा गरेका थिए।

लगातार ७ घण्टाको यात्रापश्चात् चौधरीलाई प्रोत्साहनस्वरुप प्रदेश २ सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले ५१ हजार र नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी बाबुकृष्ण कार्कीले १८ हजार नगद प्रदान गरेका थिए।

सानै उमेरमा साइकल यात्रा थालेका चौधरीजस्तै बुटवल गोलपार्कका ८ वर्षीय मनिष श्रेष्ठ पनि निकुञ्जले आयोजना गरेको साइकल यात्रामा सहभागी थिए। ५ वर्षको उमेरदेखि साइक्लिङ सुरु गरेका शाक्यले देशभर हुने साइक्लिङमा आफू सहभागी हुने गरेको बताए।

साइकल यात्रा कहिलेकाँही गाह्रो भए पनि असाध्यै रमाइलो हुने गरेको बताउँछन् पूर्वप्रधानसेनापति गाैरवशम्सेर राणा। ‘साइक्लिङका कारण आज म ६५ वर्षसम्म पनि तन्दुरुस्त भएर हिँडेको छु, स्वस्थ रहनु यसको मुख्य फाइदा हो, त्योबाहेक देशभरका साइकल यात्रीसँग भेटघाट हुन्छ। सम्पर्क हुन्छ’, राणाले भने।

कोभिड –१९ देखि देशभर नै साइक्लिङ नयाँ रुपमा उदय भएको धेरैको बुझाइ छ। पर्यटकीय क्षेत्रहरू प्रचारप्रसार गर्ने उद्देश्यले हाल देशभर नै साइक्लिङ समूहले स्थानीय प्रशासनमा संस्था नै दर्ता भएर औपचारिक रुपमै बढेका छन्। 

वीरगञ्ज साइक्लिङ क्लबकी नुतन सरावगी कोभिड-१९ पछि औपचारिक रुपमा साइक्लिङ सुरु गरेको बताउँछिन्। ‘स्कुल क्याम्पस पढ्दा साइकल हाम्रो आवश्यकता थियो, विवाहपछि पुरुषहरूले मात्रै साइकल हाँकेको ठाँउमा हामी सहभागी भयौं। आज लाग्छ, हामी कुनै फिल्डमा पछाडि छैनौं आत्मविश्वास पनि बढेको छ’, सरावगीले भनिन्, ‘महिला भएर पुरुषहरूले जत्तिकै साइक्लिङ गरिरहेका छौ’, निकुञ्जले आयोजना गरेको साइकल यात्रा वीरगञ्ज साइक्लिङ क्लबबाट ६ महिला सहभागी भएका थिए।

सरावगीले एकै दिन ७७ किलोमिटरसम्म साइक्लिङ गरेको बताउँछिन्। ‘हामीलाई साइकल यात्रा सुरु गरेपछि ५ महिनामा पर्सागढीसहित आफ्नै जिल्लाभित्र धेरै रमाइलो ठाउँ घुम्ने मौका मिल्यो, अहिले प्रत्येक दिन नयाँ अनुभव हुन्छ’, उत्साहित हुँदै उनले भनिन्, ‘बाहिर घुम्न जाँदा प्रायः होटलमा जाने खाना खाने, फिल्म हेर्न मात्रै गरिन्थ्यो, साइक्लिङ सुरु गरेपछि लागिरा'छ फेरि विद्यार्थी जीवन फर्केर आएको छ।’

सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा १३ वटा जिल्लाबाट १ सय ९५ जना साइकल यात्री सहभागी थिए। जहाँ सामान्य नागरिकदेखि विश्व साइकलयात्री सहभागी भए।

कोभिडपछि सिमराका युवाहरूले पनि ‘बारा राइडर्स एसोसिएसन' नामक संस्था नै दर्ता गरेर बाराका पर्यटकीय क्षेत्रमा साइक्लिङ सुरु गरेका छन्। ललितपुरकी ५५ वर्षीय उर्मिला शाक्य पनि सानो छँदा स्कुल जाँदा–आउँदा, गाग्रीमा पानी ओर्सादा सुरु गरेको साइकल यात्रा अहिलेसम्म नटुटेको  बताउँछिन्।

‘साइकल यात्राको फाईदा त कति कति विशेषत: मलाई साइकलमा पर्यटकीय क्षेत्रहरू घुम्दा असाध्यै रमाइलो लाग्छ’, साइकल यात्रामा सहभागी हुन बारा आएकी ललितपुरकी शाक्यले भनिन्।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले स्थानीय अर्थतन्त्रसँग राष्ट्रिय निकुञ्जलाई जोड्दै लैजाने हो भने कालान्तरमा एकदमै ठूलो फाइदा लिन सकिने बताउँछन्, ‘मार्केटिङलाई बढीभन्दा बढी प्रोत्साहन दिने, पर्यटन समूहलाई निकुञ्जसँग जोड्ने अभियानअन्तर्गत नै यसलाई संसारभर फैलाउन साइक्लिङ सुरु गरिएको हो’, साहले भने, ‘यस्तो कार्यक्रमले भोलिका दिनमा स्वास्थ्यको कारणले बढ्ने आर्थिक बोझलाई कम गर्छ,साइक्लिङलाई नियमित कर्म बनाउने हो भने यसले दिने फाइदा धेरै हुन्छ।’ 

नेपालका शहरहरू साइकलमैत्री हुनुपर्छ : विश्व साइकलयात्री साह 

विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर साहले नेपालका सहरहरू साइकलमैत्री हुनुपर्ने माग गरेका छन्। साइकलको माध्यमबाट संसारको १ सय ५० देश घुमिसकेका साहले सडकमा अरु यातायातका  साधनको जति नै अधिकार साइकलको पनि हुनुपर्ने बताएका हुन्।

‘नेपालका सहरहरू साइकलमैत्री हुनुपर्छ भन्ने मेरो माग हो, सडकमा अरु यातायातका साधन लाई जति अधिकार छ, त्यति नै अधिकार साइकलको पनि हुनुपर्छ’, साहले भने, ‘साइकल कुदाउने मान्छेका लागि छुट्टै सुरक्षित लेन हुनुपर्छ भनेर हामीले धरानदेखि पश्चिम धनगढी, सुर्खेतसम्म एउटा अभियान चलाएका छौ’, पछिल्लो समय देशभर सडक पूर्वाधारहरू निमार्ण तथा बिस्तार भइरहँदा साइक्लिङका लागि छुट्टै लेन भने कमै ठाउँमा निमार्ण भएका छन्।

‘भौगोलिक बनावटका कारण माउन्टेनबाइकका लागि नेपाल संसारकै स्वर्णभूमि भएकोले साइकलबाट पनि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले अभियान नै चलाएका छौं’, उनले भने।

साइकलको माध्यमबाट अन्नपूर्ण बेसक्याम्प, खप्तड, सगरमाथा आधार शिविर र संसारकै सबैभन्दा लामो र उचाइमा रहेको ग्रेड हिमालयन ट्रेल दार्चुलाबाट सुरु भएर ताप्लेजुङ सीमा साइकल यात्रीहरूले पार गरिसकेका छन्।

नेपालमा ठूला सहरहरूमा भन्दा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहाड तथा हिमाली क्षेत्रहरूमा साइक्लिङ हुने गरेको छ। ‘अबको पर्यटन, साइकल पर्यटन भनेर हामी लागिरहेका छौं’, साइकलयात्री साहले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.