रियलाइज गर्दा सानो भइँदैन, झन् त्यसले शक्ति प्राप्त हुन्छ

|

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र विभिन्न कारणले सिर्जना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले 'सेकतापका' गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताएका छन्।

पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशनविपरीत वरिष्ठ नेता माधव नेपाल र नेता झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता आयोजना गरेको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन्। अन्तरविरोधहरूमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त दाहालले एमालेभित्रका अन्तरविरोधलाई प्रयोग गरेको उनको दाबि थियो।

एमालेभित्रको अन्तरकलहबारे न्युज एजेन्सी नेपालले महासचिव पोखरेलसँग अहिले उत्पन्न परिस्थितिको बिजारोपण, कम्युनिष्ट आन्दोलन तथा वर्तमान समस्या समाधानबारे गरेको कुराकानी

नेकपा एमालेभित्र के भएको हो अहिले?

नेकपा एमालेभित्र भएका कुरा सार्वजनिक नै भइरहेको छ। तर यसको कारण बुझ्न खोज्नुभयो भने त्यसका दुईवटा पाटा छन्। पहिलो पाटो भनेको हिजो नेकपा एमाले र माओवादी केन्द्रको बीचमा जुन किसिमले पार्टी एकीकरण भएको थियो, स्वरुपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो, किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने।

राजनीतिक स्थायित्वका लागि त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो। तर सारमा के भयो भन्दा विचारलाई व्यवस्थित गर्ने काम अलिकति भएको थिएन। संगठनलाई व्यवस्थित गर्ने काम भएको थिएन र नेतृत्वको मामिलामा व्यवस्थित गर्ने काम भएको थिएन।

 किन त्यस्तो आलोकाँचो निर्णय भयो त?

पार्टी एकीकरण गर्ने सन्दर्भमा जुन नेतृत्व केन्द्रहरू थिए, ती केन्द्रहरूमा रहेका आग्रह हाबी भए। त्यो आग्रह हाबी भएका कारणले त्यो महान् र पवित्र एकता परिपक्व हुन नपाई सम्पन्न भएको थियो। त्यसकारणले के भन्न सकिन्छ भने यो एकताका बेलामा जुन भ्रुणमा समस्या थिए। त्यही समस्या प्रकट भयो। त्यसको उत्कर्षमा पुगेको हो।

अर्को कारण भनेको नेकपा एमालेभित्र हिजो देखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा पक्षधरता, गुटबन्दीको स्थिति थियो। त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थियो। त्यसलाई व्यवस्थित गरिसकेका थिएनौं। त्यही व्यवस्थित गरिनसकेकै अवस्थामा हामी एकताबद्ध भयौं। एकताबद्ध भए पनि पूर्वघटकभित्र रहेको अन्तरविरोधहरू चलायमान नै थिए। त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो। त्यसकारणले अहिले जे भएको छ यसको पृष्ठभूमिमा यो कारण हो भनेर बुझ्नु पर्छ। कारण ठिक ढंगले नबुझ्ने हो भने समाधान के हुन्छ भनेर भन्न सकिँदैन।

केही कमजोरीका कारण आज यो अवस्था सिर्जना भयो। अब कसरी समाधान गर्नुहुन्छ?

अहिले जुन उचाइमा हामी पुगेका छौं, यही उचाइमा चुनौतीहरू पनि आए। जुन उचाइमा चुनौती आए, सामना गर्ने सामर्थ्य पनि हामीले आर्जन गर्नुपर्छ। त्यो सामर्थ्यका लागि एउटा भावनात्मक आधार भनेको कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउनुपर्छ। यो राष्ट्रको आवश्यकता हो। जनताको आवश्यकता हो।

विगतमा हामी जो जसले कमी कमजोरी गरेको भए पनि त्यसलाई एउटा वस्तुनिष्ठ भएर त्यसको आत्मसमीक्षा पनि हुनुपर्छ। आत्मसमीक्षा गर्दा आफ्ना कमिकमजोरी रियलाइज गर्दा सानो भइँदैन। कमजोर भइँदैन। झन् त्यसले शक्ति प्राप्त हुन्छ।

यतिबेला नेकपा एमालेको नाममा जेजस्ता कुरा भइरहेका छन्। त्यो बढो दुःखद् छ। जनता र कार्यकर्ताले मन नपराउने कुराहरू हुन्। ती मन नपराउने कुराचाहिँ हामीले स्टप गर्नुपर्छ।

नयाँ स्तरमा एकताको लागि पहल र प्रयत्न गर्नुपर्छ। हामीले के अठोट र संकल्प गर्नुपर्छ भने आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्नु हाम्रो कर्तव्य हो। पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउनुपर्ने हाम्रो कर्तव्य हो। यो कर्तव्य हाम्रो कुनै वैयक्तिक ढंगले या कुनै टिम विशेषको मात्रै कुरा होइन। यो राष्ट्रिय आवश्यकता हो। त्यसकारणले कमी कमजोरी भए हामी आफैंबाट भए। अब यसलाई सच्याउने आँट पनि हामी आफैंले गर्नुपर्छ।

यसमा कुनै एउटा पक्ष निरन्तर गलत र कुनै एउटा पक्ष निरन्तर सही कदापि हुँदैन होला नि?

यो गल्ती कमजोरीको कुरा मात्रै होइन। पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई, जुनसुकै कुरालाई पनि सतप्रतिशतमा बुझ्नु हुँदैन। सापेक्षतामा बुझ्नुपर्छ। प्रतिशतमा बुझ्नुपर्छ। कमीकमजोरी भएका हुन सक्छन्। कहीँ धेरै मात्रामा कमजोरी भएका हुन सक्छन्। कहीँ कमी होलान्। तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ। गम्भीर कमजोरी भए पनि त्यो नेकपा एमालेभित्रकै साथीहरूबाट भएका हुन्। त्यसलाई सच्याउने आँट गर्नुपर्छ। त्यो साहस गर्नुपर्छ। मैले अघि नै भनेँ, कमजोरी सच्याएर मान्छे सानो भइँदैन। यसले आन्दोलनलाई नै बल पुग्छ र व्यक्तिलाई पनि उसको मोरल हाई पनि हुन्छ।

त्यो गर्नु जरुरी छ। के गर्न हुने र के गर्न नहुने भन्ने कुरा त केही आधारभूत सीमारेखा त हुन्छन् नि। जस्तोः पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो। पूर्वपार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो। अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो। यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्‍याैं।

अब अचम्म कुरा के हो भने महाधिवेशन चैतमा गर्ने भनेको छ। छिट्टै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौं। त्यो भन्दा अझै छिटो हो भने माघ मा नै गरौ। अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिनँ। महाधिवेशनको तयारी गरौं अनि त्यो नगरिकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउने खालको कुरा भो भने त्यो कस्तो देखिन्छ? त्यो कुन खालको कमजोरी हो? त्यो कुन खालको गल्ती? त्यो हामीले बुझ्नु जरुरी छ।

जस्तोः पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो। पूर्वपार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो। अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो। यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्‍याैं।

एउटा पार्टीको दुई वटा समूहले आआफूलाई वैधानिक भनिरहेका बेला आम जनताले कसलाई के हेरेर सही मूल्यांकन गर्ने?

यो आज वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ। आत्मालोचना गरिरहनुपर्छ भनिरहँदा यी विगतका कुरा हेर्न जरुरी छ।

अर्को कुरा निर्वाचनका बेलामा नेकपालाई भोट दिने भनेर हामीले वामगठबन्धन बनायौं। त्यसबेला हामीले तात्कालीन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेरै लडियो।

विभिन्न कारणले केपी ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो। त्यसैले पनि उहाँ विजयी बन्नुभयो। हाम्रो पार्टी विजयी बन्यो। संसदीय दलको नेता सर्वसम्मत हुनुभयो। संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्नुभयो। माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको रुपमा उहाँलाई नै प्रस्तुत गर्यो। दुई वर्ष बित्न पाएको छैन बीचैमा प्रधानमन्त्री छोड्नुपर्छ भनेर धक्का मारेर हटाउने जस्तो खालको कुरा गर्यो भने कस्तो देखिन्छ? यो कुरा कुन तहको बदनियतपूर्ण कुरा हो भनेर भन्नुपर्छ।

वरिष्ठ नेता माधव नेपाल पक्षले त नेपाल कम्युनिष्ट पार्टी माओवादी को एकता बिथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको भन्ने दाबी गर्दै आएको छ नि। त्यसलाई स्विकार्नुहुन्छ?

कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाइयो। त्यो अभियोग अत्यन्तै संगीन छ। त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनका लागि मात्रै नालायक होइन केपी ओली, पार्टी सदस्य पनि रहन नसक्ने।

त्यत्ति मात्रै होइन फाैजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने खालका अभियोग, एउटा संगीन अभियोग लगाइसकेपछि एकताको जग कसरी कायम रहन सक्थ्यो? त्यो जग कसरी टिक्न सक्थ्यो? त्यस्तो बेलामा प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओलीले आफैं खुमलटार गएर पुष्पकमल दाहाललाई भन्नुभयो, तपाईले जुनखालको अभियोग लगाउनुभएको छ, यो अभियोगलाई म अस्वीकार गर्छु, तपाईंले फिर्ता लिनुहोस्। पार्टीका आन्तरिक समस्याबारे छलफल गरौं, यदि गर्नुहुन्न भने आधा शताब्दीको मेरो राजनीतिक जीवनमाथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ। जनता न्यायाधीश हुन्। न्याय दिने जनतासँग मैले जानुपर्छ भनेर उनले बताउनुभयो। तर त्यसलाई गम्भीरताका साथमा लिइएन।

कुरो के हो भने अन्तरविरोधहरूमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्व्यस्त हुनुभएको पुष्पकमल दाहाल हुनुहुन्थ्यो। पूर्व एमालेभित्र विभिन्न कारणले सिर्जना भएका अन्तरविरोधहरू थिए। त्यही अन्तरविरोधलाई प्रयोग गरेर उहाँ अगाडि बढ्न चाहनुभयो। दुर्भाग्यले त्यसबेलाका नेकपा एमालेका नेताहरू पनि हिजोदेखिका संञ्चित अन्तरविरोधहरूलाई पुष्पकमल दाहालजीको सेकताप प्राप्त गरेर अगाडि बढाउन खोज्नुभयोजस्तो लाग्छ। यो आरोप होइन। मेरो बुझाइ हो।

यो बीचमा धेरै राजनीतिक घटना भए, अबको कार्यदिशा के हो?

हिजो नेकपा भएको कालमा जेसुकै भएको होस्। अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आइपुग्यौं। अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो। त्यो पूर्व अवस्थामा आइसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्न कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ।

गाउँघरतिर घरझगडा धेरै हुन थाल्यो भने मानो छुट्याउने चलन छ। अहिले मानो छुट्याएर घर झगडा मिलाउन सकिँदैन?

तनावका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो लाग्दैन मलाई। सामान्य निजी पारिवारिक विषयमा पनि आजकल श्रीमान् श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने सल्लाह गरेरै अब तिम्रो हाम्रो यो जोडी नचल्ने भो अब हामी अलगअलग रहौं भनेर भन्छन् रे।

त्यो अभ्यास पनि प्रारम्भ भएको छ। राजनीतिमा त के भो र? राजनीति यही समाजमा गर्ने हो। हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसहरूले जज गर्ने हुन्। त्यसकारण यदि सम्बन्ध कायम नरहन सक्दा त सल्लाहले नै गर्दा भइहाल्छ, केही पनि फरक परेन।

अब त्यसमा चाहिँ सम्बन्धित पक्षहरू जोजो छौं। हाम्रो व्यवहार नचल्ने भयो। व्यवहार नचल्ने भएपछि आफ्नो आफ्नो गरौं है भन्ने खालको कुरो हुन्छ नि। त्यसो भन्न पनि सकिन्छ। अब हेरौं कसरी जान्छ?

नेकपा एमालेको महासचिवको नाताले म के भन्न चाहन्छु भने हामीले त्यसो गर्नुभन्दा पनि अहिलेको अवस्थामा भरसक आफ्ना कमीकमजोरी के हुन् ती सच्याउने, आत्मसमीक्षा गर्ने, यसलाई जित र हारको विषय बनाउनु हुँदैन। हामीले गल्ती गर्‍याैं। हामीले नै गर्‍याैं। गल्ती कमजोरीको नोक्सानी हामी सबैले नै बेहोर्नुपर्ने। लाभका अंशियार पनि हामी आफैं हौं।

दोश्रो कुरा ...यो नै सबैभन्दा उत्तम र गर्नुपर्ने कुरा हो। म सबै साथीहरूलाई  यहीँ आग्रह गर्न चाहन्छु। त्यसलाई कुनै तनावमा इरिटेसनमा र कुण्ठा पालेर, द्वेष भावका साथ प्रस्तुत नभइकन लागेका कुरा खुलस्त भन्नुपर्छ।

त्योभन्दा फरक ढंगले जानु हुँदैन। कमीकमजोरी छन् भने पनि 'विथ डिउ प्रोसेस' सच्याउने केके कुरा हुन सक्छ, सच्याउनुपर्छ। यसरी जानुपर्छ भन्ने मलाई लाग्छ। होइन, यदि त्यसरी जान नसक्ने हो भने पनि किन हामीले तत मम गरिरहन पर्यो र? राजनीति आफ्नो स्वेच्छाले गर्ने हो। एउटा मान्यतालाई लिएर हामीले राजनीति गर्ने हो। देश र जनताको नाममा राजनीति गर्ने भनिसकेपछि के गर्दा 'इज अफ माइन्ड' (मनको चैन) हुन्छ। त्यस अनुरुप गर्न सकिन्छ।

दुई समूहको आआफ्नो अडानले आफ्ना कार्यकर्ता कतै भड्किएलान् कि भन्ने चिन्ता छैन? के बुझ्ने एमालेको सामान्य मतदाताले?

यो हाम्रो पार्टीको जीवन कस्तो छ भने। हामीले अनेक उतारचढाव झेलेका छौं। उतारचढाव भोगेका छौं। हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन्। एकता गर्दाको अनुभव पनि छ। एकता टुटेर दुःख पाएको अनुभव पनि छ हामीसँग। अनि ती अनुभव प्राप्त गरेका नेता साथीहरू पनि हुनुहुन्छ हामीसँग। हाम्रो पार्टीले अनेकखालका उतारचढाव झेल्दै आएको छ। हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राख्नुपर्छ।

नयाँ स्तरमा एकताको लागि पहल र प्रयत्न गर्नुपर्छ। हामीले के अठोट र संकल्प गर्नुपर्छ भने आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्नु हाम्रो कर्तव्य हो। पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउनुपर्ने हाम्रो कर्तव्य हो। यो कर्तव्य हाम्रो कुनै वैयक्तिक ढंगले या कुनै टिम विशेषको मात्रै कुरा होइन। यो राष्ट्रिय आवश्यकता हो। त्यसकारणले कमी कमजोरी भए हामी आफैंबाट भए। अब यसलाई सच्याउने आँट पनि हामी आफैंले गर्नुपर्छ।

संयमता राख्नुपर्छ। एकले अर्कालाई आरोप लगाउने जस्तो मात्रै कुरा गर्नु हुँदैन। हामीले यतिबेला पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने जरुरत छ।

आज नेकपा एमालेको जीवनमा देखापरेको यो कुराले हामीलाई यो पार्टीको नेतृत्वमा अगाडि बढेको आन्दोलनलाई कसरी अगाडि बढाउने, यसमा आधारित भएर पार्टीलाई कसरी अगाडि बढाउने? हाम्रो पार्टीको राजनीतिक कार्यदिशा र पार्टी निर्माणको दिशा के हो? त्यसमा केन्द्रित भएर बहस छलफल केन्द्रित गर्ने। हामीले कुनै पनि किसिमको अधिनायकवाद मञ्जुर गर्दैनौ भन्दछौं।

हाम्रो संगठनात्मक सिद्धान्तमा कतिपयचाहिँ अधिनायकवादको गन्ध आउने केही कुरा छन् भने त्यो अभ्यासलाई पनि पुनः व्यवस्थित गर्नुपर्ने जरुरत छ। पार्टीले सरकार सञ्चालन गर्ने भनेको कुन किसिमले हो? हाम्रोजस्तो देशको विशिष्ठ अवस्थामा पार्टीले सरकार चलाउने भन्नाले के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई ख्याल गर्नु जरुरी छ। र लोकतान्त्रिक अभ्यासको नाममा हामीले विगतमा जेजे कुरा गरेका छौं, त्यसलाई पनि रिभाइज गर्नुपर्ने जरुरत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.