'ओली प्रवृत्ति अन्त्य भए एकता सम्भव'

|

काठमाडौं : सत्तारुढ नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ। सर्वोच्चले नेकपाको एकता भंग गरेर एमाले ब्यूँताइदिएपछि एमालेमा दुई स्पष्ट चिरा परिसकेको छ।   

गत शुक्रबार बसेको ओली पक्षको बैठकले खनाल नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेपछि एमाले फुटको संघारमा पुगेको हो। 

ओली पक्षले एकलौटी रुपमा गरेको निर्णय फिर्ता हुनुपर्ने अडान नेपाल पक्षले राखिरहेका छन्। तर, प्रधानमन्त्री ओली आफ्नो निर्णयबाट फिर्ता हुने टसमसमा छैनन्। दुवै पक्षले आआफ्नो अडान कायमै राखेर अगाडि बढ्दा पार्टी फुटतिर अग्रसर भएको छ।  

गुट भेलामा जानेलाई कारबाही गर्ने 

प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी शर्मा ओलीले आज संसदीय दलको बैठक राखे। तर, ओली इतरको समूहले संसदीय दलको बैठक बहिष्कार गर्‍यो। 

तर, नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको विधि र विधानविपरीत गुट भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। बालुवाटारको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। 

पार्टीको विधानविपरीत चल्नेका लागि कारबाही गर्न विधान संशोधनका लागि कार्यदलसमेत गठन गरेको छ। ओलीले प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौडेल सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको हो।  

यस्तै बैठकले २४ सदस्यीय संसदीय बोर्डसमेत बनायो। बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई सदस्य बनाएर ओलीको नेतृत्वको बोर्ड गठन गरेको हो। 

यस्तै बैठकले पार्टीको विधि र विधानविरुद्ध चल्नेलाई कारबाही गर्ने निर्णय गरेको एक सांसदले बताए। 

‘संसदीय दलको नेताले अनिवार्य उपस्थित हुन आग्रहसहितको बैठक बोलाएपछि उहाँहरू बाटैबाट फर्किनुभयो भन्ने जारी आयो। त्यसैले बैठकले पार्टीको निर्णय नमान्‍नेलाई कारबाही गर्छ’, ती नेताले भने। 

‘एकताको पक्षमा आउनुहुन्छ’

पार्टीभित्रको विवाद समाधान गरेर पार्टी एकता हुने केन्द्रीय सदस्य शेरबहादुर तामाङ बताउँछन्। 

‘उहाँहरू आजको बैठकमा आउनुभएको छैन। अर्को बैठकबाट उहाँहरू आएर पार्टीभित्रको विवाद समाधान गर्न छलफलमा बस्नुहुन्छ’, उनले भने, ‘उहाँहरू अब आउनुभएन भने के गर्ने भन्ने विषय त पार्टीको कुरा भयो। आज त संसदीय दलको बैठक बसेको न हो।’ 

ओलीले थपे अर्को विवाद 

ओलीइतर समूहले बहिष्कार गरेको संसदीय दलको बैठकमा ओलीले संसदीय बोर्ड गठन गरेका छन्। २४ सदस्यीय बोर्डमा असन्तुष्ट खेमाबाट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल मात्रै सदस्य बनाएका छन्। 

आफू प्रमुख रहेको बोर्डमा ओलीले खनाल नेपालबाहेक अन्य २२ जना आफू निकटका सांसदहरूलाई समावेश गरेका छन। ओलीले आफूले गुटलाई नमान्ने टिप्पणी गर्दै आइरहेका छन्। 

ओलीको फागुन २८ को एकलौटी निर्णयले एकताको सम्भावना पातलिएको अवस्थामा यो निर्णयले फेरि दूरी बढ्ने देखिन्छ। 

'ओली प्रवृत्ति अन्त्य भए एकता सम्भव'

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि दुवै समूहले आआफ्नो ढंगले कार्यक्रम चलाइरहेका छन्। यता ओलीइतर समूहका राष्ट्रिय कार्यकर्ता भेला हिजोबाट सानेपा जारी छ। त्यो बैठक आज टुंग्याउने तयारी गरिरहेको छ। 

ओलीइतर समूहको भेलामा ओली प्रवृत्तिको अन्त्य गरेर पार्टी पार्टीलाई एकताबद्ध गरेर लानुपर्ने नेताहरूले धारणा राखेका छन्। संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको नेता भीम आचार्यले दाबी गरे।

ओलीले आफ्नो गल्तीलाई सच्चाएर चैत ७ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई स्थगित गरेर अर्को बैठक बोलाउनुपर्ने अर्का नेता ठाकुर गैरे तर्क गर्छन्।पार्टीभित्रको स्वेच्छाचारी गतिविधि सच्याएर अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ।

भेलाले पार्टीभित्रको जड नै ओली प्रवृत्ति भएको निष्कर्षसमेत निकालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.