|

दुल्लुदेई दैलेख सम्म जाथी हान्यो खम्म

खाक फाल तिर्सना झाल घाम लागन्ती सम्म...

फागुन २६ गते शुरू भएको ‘कुणा कर्णाली’, कर्णाली उत्सवको दोस्रो संस्करणले फागुन २९ सम्मको चार दिनमा कर्णालीलाई समेट्ने र स्मरण गर्ने प्रयास गर्‍यो।

तीमध्ये ‘हाम्मो मान्नवी’ अर्थात् हाम्रो भूगोल, हाम्रो धर्तीलाई सम्झेर कर्णाली चिनाउने प्रयास साह्रै भावनात्मक थियो। समग्रमा नेपालको धर्ती विश्वमै अलौकिक र आकर्षक त छँदैछ नै, त्यसमा कर्णालीले थपेको सौन्दर्यलाई कुनै विशेषणले पुष्टि गर्न खोजेपनि अपूर्ण नै हुनेछ।

प्रकृतिले अपार सौन्दर्य र विविधता दिएको छ कर्णालीलाई। उत्सव अवधिभर विचार, विमर्श र मन्थन भयो–प्रकृतिको अपार प्रेम पाएर पनि सरकारको प्रेम र ध्यानाकर्षण किन पाएन कर्णालीले? अपार सम्पदा हुँदाहुँदै विकासको प्राथमिकतामा कर्णाली किन पछि परिरहेछ? सरकारी स्तरबाट किन उपेक्षित रह्यो? कर्णालीमा धेरै समस्या छैनन्, तर कर्णालीले समाधान पाउँछ भन्ने आश्वासन र भरोसा पाउन छोडेर भौगोलिक विकटताको बहानामा यसलाई पछि पार्ने प्रयास भइरहेको त होइन?

अदूरदर्शी नेतृत्व

प्राकृतिक सुन्दरतामात्रै भएर भौतिक पूर्वाधार, विकास र योजना आउने होइन। विदेशिएका नेपालीलाई अमेरिकाको न्यूयोर्क शहरबाट कर्णालीको प्राकृतिक सुन्दरताले लोभ्याए पनि यहाँका जनताले बिरामी हुँदा सिटामोल र पढ्ने किताब समयमा नपाउँदा कति पीडा हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ।

कुरा ठूला गरेर नपुग्ने एजेण्डासहित चुनावमा भोट माग्ने नेताले एकपटक जनताको घरदैलो पुगे भने थाहा पाउने थिए-अशिक्षा, गरिबी र पछौटेपनलाई उकास्न आफूले के गर्नुपर्छ? नेतृत्व तहको अदूरदर्शिता परिणाम : कर्णालीबासीहरू सुनको सिरानी हालेर नुनको खोज्दै हिँड्न बाध्य छन्।

आफ्नै नाभीबाट निस्केको सुगन्ध थाहा पाउन नसकेर सुगन्धकै खोजीमा दौडेको कस्तूरी झैं विकास माग्न यहाँका नेतृत्व काठमाडौंमै पुग्नुपर्ने हो र?

विकास भनेकै स्थानीय तहमा उपलब्ध स्रोत, साधन, जनशक्ति र दक्षताको भरपूर प्रयोग गर्दै जीवनस्तर सुधार्नु हो। निकै सम्भावनायुक्त भूगोललाई बेवास्ता गरी सुनको कमण्डलु लिएर भीख माग्ने स्थिति नेतृत्व तहले नै सृजना गरेका छन्। युवा शक्ति विदेशिन या राजधानी छिर्न बाध्य छन्, केही आपतविपद्‌ पर्दा आड-भरोसा दिने युवाहरू भेट्न मुस्किल परिरहेछ।

कर्णालीका अभिभावक/जनसमुदायबाट यी वेदना र यथार्थता उत्सवमा पोखिए। त्यति मात्र कहाँ हो र, कर्णालीमा बसेर कर्णालीका मात्र समस्या र विषय सम्बोधन भएनन्, उत्सवले त राष्ट्रिय राजनीति, नीति निर्माण र यसको कार्यान्वयन, पूर्वको नेतृत्व पश्चिमको भूगोलबाट जन आवाज र योजना प्रक्रिया र कार्यान्वयनको अवस्था र हेलचेक्रायाई समेत ओकल्ने मौका मिल्यो।

विज्ञ र स्थानीय एकै मञ्चमा बसेर कर्णालीकै बहानामा नेपाली पन र नेपाली मनका भावना साटासाट गरे। नेतृत्व तहले थोरै माथि उठेर जनसवालमा चासो देखाउने हो भने जवाफदेहीपन विकास हुने थियो।

कर्णालीको संस्कृति, प्रकृति र समाजलाई नेतृत्व तहको आँखाबाट नियाल्नु जरूरी छ। सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय विकासका सवालमा कर्णालीकै नेतृत्व दूरदर्शी हुनुपर्ने देखिन्छ। कर्णालीले हचुवा नीति, योजना, प्राथमिकता र खर्च प्रणाली ल्याउनुपर्दैन। बनेका योजनालाई कार्यान्वयन गर्नतर्फ जोड दिने हो भने कमजोरी र अदूरदर्शिताले स्थान लिन सक्दैन।

योजना र नीति निर्माण गर्दा ठूला योजना शुरू गर्ने र त्यहाँका जनतामै ऋण थोपरिने गरी योजना बनाउनुभन्दा उपलब्ध स्रोत, साधन र प्राथमिकतालाई जोड दिँदै विकासको फल सतप्रतिशत उपभोग हुने किसिमले योजना बनाउनु दूरदर्शी नेतृत्वको गुणवत्ता हुनेछ।

खस राज्यको विरासत

खस राजाहरूले राज्य गरेको कर्णालीको धर्ती आफैँमा गौरवान्वित भूगोल हो।​

सयौं वर्ष अस्तित्व सम्हालेको खस राज्यले खस भाषालाई जसरी विकास गरेको थियो आजसम्म पनि यसको महत्व उत्तिकै रहेको छ। देवनागरी लिपि सिञ्‍जामै फेला परेको बताइन्छ। नेपाली भाषाको उत्पत्ति पनि सिञ्‍जामा नै भएको भन्ने तथ्य विभिन्न इतिहासमा लेखिएको पाइन्छ। कर्णालीबासीहरूले आज पनि खस भाषा बोल्दा लाग्छ-उहाँहरूले कुराकानीको भाषा होइन, साहित्य, कथा र कविताको भाव व्यक्त गरिरहनुभएको छ।

कर्णालीमा रहेका विभिन्न धार्मिक–सांकृतिक, वेषभूषा र गुफा, मन्दिर, ३०० वर्षभन्दा पुराना मूर्तिहरू, स्थानीय पञ्चेचेबाजा लगायतका स्थानीय सम्पदालाई संरक्षण गरेर राख्न सक्ने हो भने कर्णालीलाई संग्रहालयको धर्ती भनेर चिनिनेछ।

यस्ता पुरातात्विक सम्पत्ति र धरोहरको संरक्षणमा सम्बन्धित निकायको ध्यान जानुपर्छ जसमा नेतृत्व तहको भूमिका महत्व रहनेछ। नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा, से–फोक्सुन्डो ताल, सबैभन्दा लामो कर्णाली नदी, पाँचल र सुलिगाढ झरना, भाषा, संस्कृति र वेषभूषाको उद्गमथलो सिञ्‍जा सुसज्जित छ। कर्णाली आफैँमा ऐतिहासिक धरोहर हो भनेर चिनाउने प्रशस्त आधारहरू छन्, जसले हाम्मो मान्नवीको मर्मलाई सहज रूपमा उजागर गर्न सक्नेछ।

कर्णालीको उचाई

डोल्पाको छार्काभोट र तरापले विश्वको नक्सामा सबैभन्दा उचाइमा रहेका बस्ती भनेर चिनाउन सफल भएको छ। विश्वको सबैभन्दा अग्लो ठाउँमा धान फल्ने छुमचौर ज्युलोले यसको उचाई उचालेको छ।

पर्यटकीय र अध्ययन–अनुसन्धानको लागि आकर्षक धर्ती, जल, जमिन र जडीबुटीको अनुपम भण्डार हो कर्णाली। जसको उचाई विकासको आधारमा नाप्न सकिनेछ।

कर्णाली क्षेत्र अथाह खनिज सम्पदाले भरिपूर्ण क्षेत्र हो। हालसम्म कर्णाली नदीमा सुन, तामा, जस्ता, सिसा तथा प्राकृतिक तेल र ग्यासको सम्भाव्यता अध्ययन भइसकेको छ। ३२ हजार मेगावाट विद्युत क्षमता बोकेको कर्णाली नदीलाई प्रयोगमा ल्याउन सकेको दिन सिंगो नेपाललाई झिलिमिली पारी विदेश निर्यात गर्न सकिन्छ। कर्णाली क्षेत्र सेतो सुन अर्थात् जलश्रोतको खानी हो भन्दा अनुपयुक्त हुँदैन।

अथाह जलस्रोत प्रयोग गरेर सिंगो कर्णालीलाई हरित र उर्वर कर्णाली बनाउन सकिन्छ। त्यस्तै कर्णाली नदी र्‍याङ्खिटङको लागि सुनकोसी नदीपछिको उत्कृष्ट गन्तव्य हो।

कान्जीरोवा, जगदुल्ला, पत्रासी, कान्ति, चण्डी, चाङ्ला, नालाकांकर र सिस्ने हिमशृङखला साहसिक पर्वतारोहण र स्कीका लागि उपयुक्त छन्। पवित्र कैलाश मानसरोवर पदयात्राको लागि कर्णाली क्षेत्र प्रमुख द्वार हो। रारा ताल र से–फोक्सुन्डो ताल पर्यटकीय हिसाबले प्रमुख गन्तव्य हुन्।

समग्र कर्णाली क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकेको खण्डमा कर्णाली क्षेत्रले राज्यको अर्थतन्त्रलाई त्यत्तिकै मजबुत पार्न सक्छ।

स्थानीय उत्पादन प्रकृति देन

कर्णाली उत्सवमा राजनीतिक विषयवस्तु र सवाल मात्र कहाँ उठे र? यो धर्तीमा पाइने सल्ला, धुपी, द्यार र ओखरका जंगलको संरक्षण र सम्वर्द्धन गर्नसके वनपैदावारबाट मनग्य आर्थिक लाभ लिन सकिन्छ भन्ने स्मरण गराइयो।

सिलाजित, डालेचुक, द्यारको तेल, ओखर आरू, ढुटेलाको तेलको अन्तर्राष्ट्रिय मूल्य उच्च छ। यार्सागुम्बा, गुच्ची च्याउ, चिराइतो, पाँचऔले, सुगन्धवाल जस्ता सयौं प्रजातिका जडीबुटी उचित प्रशोधन, प्रयोग र निर्यात गरेमा राज्यको अर्थतन्त्रलाई ठूलो टेवा मिल्ने बारेमा बहस चल्यो। जडीबुटीको उचित औद्योगीकरण र बजारीकरणलाई प्रोत्साहन गरी आफ्नै जडीबुटीबाट निर्मित औषधी महँगोमा किन्नुपर्ने बाध्यता हटाउन सकिने समाधानको बाटो निस्क्यो।

स्थानीय चिया घोडमच्चोको प्रवर्द्धन र बजारीकरण गर्नसके चियामा समेत आत्मनिर्भर हुनसक्छ भन्ने सम्भावनाको खोजी गरियो। पशुपालन र कृषिको लागि समेत कर्णालीको धर्ती उपयुक्त देखियो। यहा उपलब्ध घाँसे भूमि, खर्कहरूको कारण याक, चौँरीगाई, घोडाघोडी, भेडाबाख्रा पालनको लागि उपयुक्त देखियो।

स्थानीय ज्ञान र सीपलाई घरेलु उद्योगमा लगाई राडी, पाखी, गलैँचा र अन्य ऊनी कपडा उत्पादन गर्न सकेमा आयातलाई केही हदसम्म घटाई राष्ट्रिय पुँजी बिदेसिनबाट बचाउन सकिने सवाल स्थानीय आफैले उठाए। कर्णालीको धर्ती स्याउ, सिमी, कालीमार्सी धान, कोदो, फापर, चिनो र कागुनो खेतीको लागि पनि वरदानयुक्त उर्वरभूमि हो भनेर पुन विचार विमर्श भयो।

आधुनिक तथा वैज्ञानिक कृषि प्रणाली, उन्नत बीउबिजन, कृषि औजार र कृषि प्रचार–प्रसारलाई कृषकसामु पुर्‍याउनसके कर्णालीको धर्तीबाट सहजै कृषि क्रान्ति शुरुवात हुनेछ।

कर्णालीको फापरको लगड अर्थात् रोटीले केन्द्रीय राजधानीको पाँचतारे होटेलमा पाइने फापरको केकसरह स्थान पाउने सामर्थ्य राख्दछ। स्थानीय श्रम र सीपको स्थानीय क्षेत्रमै प्रयोग गरी स्वावलम्बी र स्वाभिमानी कर्णालीवासीको पहिचान दिनको लागि उत्सवमा विविध आयामबाट बहस चल्नुले यहाको धर्तीको महत्व अरू उकासिएको छ।

म पारी गैजाने थिए नित्र गंगा नित्र 

मै जसो दुःखारी क्वै नाई चौध अञ्चल भित्र।

डोटी राम्रा डडेल्धुरा अछाम राम्रा साँफे

मलाई पनि उडाई लैजा हिउचुलीका डाँफे...

सुन भेटिने कर्णालीमा कालीगढ खोजेर गहना कुद्ने काममा अब ढिला गर्नुहुन्न। किनकी, हाम्मो मान्नवी उच्च छ, कर्णालीको धर्ती आफैँमा समृद्ध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.