ओलीले वास्ता गरेनन्, ठिल्लेको विद्यालय यात्रा टुंगिने चिन्ता

|

मुगु : मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–८ बस्ने छोरी र देशकै सम्मानित पद प्रधानमन्त्री बाबा। छोरीको कपालमा चुप्फा, गलामा माला, ती झोत्ता लुगा, बाबाको नेपाली टोपी त्यो कालोकोट,कालैचस्मा,चिटिक्क परेका दौरासुरुवाल र सम्मानित पद।

२०७५ साल वैशाख १ गते रारातालको किनारमा बाबा र छोरीको मयालु हेराइको नजरले देश विदेशको नजर रारा तालको किनारमा तान्यो। सबैले आँकलन गरेकी  एक टुहुरी छोरीले लामो समयपछि बाबासरह माया पाउँदाको  हेराइको नजर हो।

बाबाले पनि यो सम्मानित पदमा रहँदा अरूका छोरीलाई त्यसरी माया गर्ने अँगालो हाल्ने कुरै भएन। आफ्नै छोरी भनेर त नै माया गरेका, अंगालो हालेका होलान्?

छोरीले पनि देशकै प्रधानमन्त्रीलाई बाबा भन्न पाउँदाको त्यो क्षण मनभित्र कस्तो महसुस भएको थियो होला? छोरी सानो बोल्न नसक्ने भए पनि उसको आत्मा बोल्यो होला त्यतिखेर।अहिले ठ्याक्कै त्यसको उल्टो भएको छ। बाबाले छोरी बिर्सेका छन् भने त्यो नाबालक छोरीको उस्तै विजोग भएको छ।

कर्णाली रारा पर्यटन वर्ष २०७५ को वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर छोरीसरह बनाएका मुगुकी ठिल्ले साङमु लामालाई विद्यालय भर्ना गरिदिएसँगै उच्च शिक्षा हासिल गर्ने र राम्रो मान्छे भन्ने सपना आमा छिर्जुमा थियो। तर, त्यसो हुन सकेन बरु अहिले ठिल्लेले बुबाको मायाभन्दा गिल्ला गर्ने पद पाएकी छन्।

उनलाई सबैले प्रधानमन्त्रीकी छोरी भनेर गिल्ला मात्र गर्छन्। प्रधानमन्त्रीले लामालाई अभिभावकत्व सुटुक्क अभिभावकत्‍व  ग्रहण गरेका भए कसैलाई थाहा हुने थिएन होला। नेपालकै ठूलो ताल रारा र देश तथा विदेशको हेराइको नजरबीच अभिभावकत्व ग्रहण गरेपछि त्यो प्रधानमन्त्रीकी छोरी उपमा पाउनु नौलो कुरा भने होइन। तर, त्यो उपमा नाम गिल्ला गर्ने, जिस्काउनेमै सीमित भएको छ।

स्कुल जानै छाडिन्

प्रधानमन्त्रीले अभिवाकत्व ग्रहण गरेको समयमा ८ वर्ष भएकी लामा अहिले ११ वर्षकी भएकी छन्। ३ वर्षमा उनमा केही उपलब्धि हासिल भएन, केही परिवर्तन आएन। बरु प्रधानमन्त्रीकी छोरी भनेर सबैले जिस्क्याउने र गिल्ला गर्ने तनाव र साथीभाइको हेपाईका कारण विद्यालय जानै छोडेकी छिन्।

३ वर्षअघि अभिभावकत्व ग्रहण गरेका प्रधानमन्त्री ओलीले ठिल्लेको विद्यालय भर्ना गर्नुका साथै माध्यमिकस्तरसम्म पढाउने प्रतिबद्धता जनाएसँगै आमा छिर्जु लामा पठनपाठनमा राहत हुने भन्दै खुसी भएकी थिइन्।

प्रधानमन्त्रीले वास्ता गरेनन्

आफू एकल महिला भए पनि छोरीको पठनपाठनका लागि छोरीले प्रधानमन्त्रीलाई बाबा पाएकी भन्दै फुरुंग भएकी आमा छिर्जुमा अहिले आशा निराशामा परिणत भएको छ। तर, मिडियाका अगाडि प्रतिबद्धता जनाएका प्रधानमन्त्रीले खासै चासो दिएका छैनन्।

परिवारलाई जम्मा दुई पटक गरेर २० हजार नगद र केही लत्ताकपडा पठाएको पाएको ठिल्लेकी आमाले बताइन्।

तर, खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी छन्।

उपमा प्रधानमन्त्रीकी छोरी, घरमा  खाना छैन ,स्कुल जाउँ हातमा कापी कलम छैन। सबैले प्रधानमन्त्री छोरी भन्दै गिल्ला गर्ने। अप्ठारो परेको बेला छोरीले बाबालाई सम्झने, बाबा भने वास्ता नगर्ने भएपछि प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेर छोरी मान्नुको अर्थ के? नागरिक अगुवाको भनाइ यही छ।

घरको आर्थिक अभाव र तनावका कारण निकै तीक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुंगिने चिन्तासमेत बढ्दै गएको छ।

लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन्। उनको दिमाग तीक्ष्ण भए तापनि पठनपाठनमा आवश्यकता पर्ने स्टेसनरीका सामान कापी, कलम, नहुँदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ। यता, बुद्ध माध्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुईपटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाट समेत नभएको बुझिएको बताए।

ठिल्ले लामालगायत अन्य मुगु जिल्लाका बालबालिकालाई प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्यलगायतका अन्य मन्त्रीले अभिभावकत्व ग्रहण गरेका थिए। उनीहरूको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.