|

ललितपुर :‘साहित्यमा आदिवासी सौन्दर्य लेखौँ, अग्रगमनको यात्रामा अघि बढौं,’ भन्ने नारासाथ आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको पहिलो राष्ट्रिय भेला शनिबार शुरू भएको छ। 

देशभरका विभिन्न ८ वटा राज्य समितिबाट भेलामा सहभागी हुन आएका विभिन्न भाषाका साहित्यकारहरूको उपस्थिति सहितको उक्त भेलालाई सम्बोधन गर्दै कवि तथा गीतकार भूपाल राईले आदिवासी, जनजातिहरूले आफ्ना मुद्दाहरूलाई राजनीतिकरण गर्दै सत्तासम्म पहुँच पुर्‍याउनका लागि सामूहिक रूपमा लाग्नुपर्ने बताए।

त्यसैगरी नेपाल लेखक संघका अध्यक्ष समेत रहेका कवि श्रवण मुकारुङले देशभरका आदिवासी, जनजातिको सौन्दर्यशास्त्रलाई सैद्धान्तिकरण गरेर मूलप्रवाहमा ल्याउन महासंघलाई सुझाए।

नेवाः देय दवुका सल्लाहकार डा. पुष्पराज कर्णिकार, पत्रकार सञ्जु ब्लोन, अभियन्ता तथा मधेश मामिलाकी अध्येता रिता शाह लगायतले सम्बोधन गरेको भेलामा डा. तारालाल श्रेष्ठले आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता र अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्था सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए।

भेलामा जनजाति महिलाको अवस्थाबारे बोल्दै अनुसन्धाता कैलाश राईले आधुनिक राज्यको विकाससँगै आदिवासी, जनजाति महिलालाई श्रमिकमा रुपान्तरण गरिएको विचार व्यक्त गरिन्। राज्यले आदिवासी, जनजाति महिलाको जीवन दर्शनलाई उपेक्षा गर्दै एकल जातीय चिन्तन र भाष्य निर्माण गरेको उनले बताइन्।

आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले आदिवासी जनजातिको दृष्टिबाट साहित्य लेख्दै नेपाली इतिहास पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

भेलालाई सम्बोधन गर्न पुगेका लेखक, पत्रकार तथा नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले आदिवासी साहित्यकार आफैंमा प्रतिरोधको नाम भएको बताए। लोकतन्त्रलाई पुनःपरिभाषित गर्न आदिवासी जनजातिको मौलिक ज्ञान, सीप समाजको मूलधारमा आउनुपर्ने आवश्यकता रहेको वाग्लेले औँल्याए।

त्यसैगरी साहित्यकार महासंघका संयोजक लेखक राजन मुकारुङले एकल भाषा, चिन्तन, दर्शन र सौन्दर्यबोध निर्माणमा लागिरहेको राज्यसँग प्रतिरोध गर्न महासंघको स्थापना भएको बताए। उनले भने, ‘नेपालमा अहिलेसम्म एउटै दर्शन, धर्म, संस्कृति, जाति, सभ्यताको मात्रै सौन्दर्य लादियो। अब त्यसका विरुद्ध नयाँ सौन्दर्य निर्माण गर्ने हो। सौन्दर्यशास्त्र निर्माण गरिएको कुरालाई लागु गर्नका लागि यो महासंघ निर्माण भएको हो।’ आदिवासी, जनजातिमा विकसित हुँदै गएको राजनीतिक चेतनाले नै महासंघ निर्माण गरेको उनको भनाई थियो। 

आइतबार समाप्त हुने भेलाले घोषणापत्र पनि सार्वजनिक गर्नेछ। यसका साथै देशभरका आदिवासी, जनजातिका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान गर्न प्राज्ञिक परिषद समेत गठन गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.