समानान्तर कमिटीको गतिविधिमा तीव्रता

|

काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को एकपक्षीय निर्णय गर्दै जाँदा सत्तारुढ एमालेभित्रको विवाद उत्कर्षमा छ। 

ओलीले बालुवाटारमा आफू पक्षका नेताहरूलाई बोलाएर एकलौटी निर्णय गर्न थालेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट त छँदै छ, जसले पार्टीभित्र विवाद मात्र हैन, स्पष्ट तीन चिरा भएको छ। 

ओली र खनाल–नेपाल समूह एकअर्काविरुद्ध खुइल्याउन उत्रे पनि अर्का नेता वामदेव गौतमले पार्टी एकता जोगाउन भन्दै अभियान चलाइरहेका छन्। एकता भंग हुनुअघि नै अभियान थालेका गौतम अहिले एमालेभित्र मतैक्यता खोजिरहेका छन्।  

तर, गाैतमले चलाएको एकता अभियानको कुनै अर्थ नभएको प्रधानमन्त्री ओलीले शनिबारको संसदीय दलको बैठकमा जवाफ फर्काइसकेका छन्। ‘दुई वटा पार्टीभित्र पो एकता अभियान हुन्छ। अहिले पार्टी एउटै छ। अनि एकता अभियानको अर्थ के हो?’ ओलीले वामदेवलाई यस्तो जवाफ दिएका थिए। तर, नेता गौतमले पार्टीभित्रको देखिएको दरार हटाएर एकताबद्ध नगरेसम्म आफ्नो अभियान नरोकिने बताए।  

त्यसो त ओलीले बालुवाटारमा आफूनिकट नेतालाई बोलाएर एकलौटी निर्णय गर्दैगर्दा असन्तुष्ट खनाल-नेपाल समूहले पनि समानान्तर कमिटीको गतिविधि बढाइरहेका छन्। 

यद्यपि ओलीइतर समूहले बहिष्कार गरेको केन्द्रीय कमिटी बैठकलाई ओलीले गुट भेलाको संज्ञा दिँदै यस्तो कार्य गर्नेमाथि कारबाही प्रक्रिया बढाउने निर्णय गरे। बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। 

शक्ति थप्दै ओली !

ओलीले सार्वजनिक रुपमै अब आफू अल्पमतमा पर्ने कुनै निर्णय नगर्ने बताइसकेका छन्। बोलीको मात्रै नभएर व्यवहारमा पनि उनले आफ्नो गतिविधिलाई तीव्रता दिएका छन्। 

शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार आफ्नो बनाएका छन्। उनले अब पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकारसमेत पाएका छन्। 

अदालत निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षले गर्ने गरी अख्तियारी तोकेको छ। पार्टीको निर्णयविपरीत चल्नेहरूलाई कारबाही गर्न विधान संशोधनका लागि कार्यदलसमेत गठन गरेको थियो। 

एमालेको २ सय ६४ सदस्यीय स्वतः आयोजक कमिटी बनाइएको छ। २०७८ मंसिर २ देखि ६ सम्म हुने १० औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा हाल विद्यमान २ सय ६४ सदस्यीय कमिटी स्वतः आयोजक कमिटीमा परिणत भएका छन्। जसमा अध्यक्ष र महासचिव मात्रै हुने भएका छन्।

नेपाल समूहको बहुमतको दाबी! 

ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा खनाल–नेपाल समूहको ३८ सांसदको हस्ताक्षरसहितको पत्र बुझायो। तर, प्रधानमन्त्री ओलीको गुटको कुरा नसुन्ने भन्दै बैठकमा उपस्थित हुनुपर्ने जवाफ फर्काए। एमालेको १२१ जना सांसदमध्ये ३८ जना मात्रै खनाल–नेपाल समूहमा देखिएका छन्। 

तर, नेता नेपालले शनिबार युवा संघको भेलालाई सम्बोधन गर्दै पार्टीका सबै कमिटीमा आफ्नो बहुमत भएकाले ओलीले बैठक बोलाउन नमानेको दाबी गरे। २२ जनाको स्थायी कमिटीमा १२ जना, ४५ जनाको पोलिटब्युरोमा २५ जना र केन्द्रीय कमिटीमा ९७ जना आफ्नो पक्षमा रहेको उनले दाबी गरिरहे। 

त्यसो त ओलीले ओलीइतर समूहले बहिष्कार गरेको केन्द्रीय कमिटीको बैठकबाट माओवादीका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए। सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएपछि ओली समूहमा लागेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत २३ जना केन्द्रीय कमिटी राखे।

खनाल–नेपाल समूहले ओलीको त्यो निर्णय फिर्ता नभएसम्म पार्टी एकताको सम्भावना नरहेको दाबी गर्दै आएको छ। तर, ओली आफ्नो निर्णयबाट ‘टसमस’ नभएर एकलौटी एकपछि अर्को निर्णय गर्दै आइरहेका छन्। यो समूहले ओलीविरुद्ध लड्ने दाबी गर्दै पार्टी फुटको घोषणासमेत नगर्ने दाबी गर्दै आइरहेको छ। 

समानान्तर कमिटीको गतिविधिमा तीव्रता

ओलीले केन्द्रीय कमिटी विस्तार गरेपछि खनाल नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेर गतिविधिलाई तीव्रता दिएका छन्। अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले समानान्तर कमिटीको गतिविधि रोक्न विज्ञप्ति जारी गरेरै निर्देशन दिएका थिए। 

तर, खनाल–नेपाल समूहले ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला रोकेन। लगत्तै यो समूहले जनसंगठनहरूमा पनि समानान्तर कमिटी गठनलाई निरन्तरता दिन थालेको छ। ओलीविरुद्ध भण्डाफोर गर्न तल्लो तहसम्म कमिटी गठन गर्ने निर्णय गरिसकेको छ। 

यो समूहले चैत ६ गते अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनाएका छ। जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ गठन गरेको थियो। यस्तै शनिबार र आइतबार चलेको कार्यकर्ता भेलाले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी गरेको छ। युवा संघको क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जिएम महासचिव चयन गरेको छ। 

‘ओलीको निर्णय स्वीकार्य छैन’

ओली समूहको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको नेतामध्ये एक हुन् घनश्याम भूसाल। तर, उनले ओलीविरुद्ध उत्रेकाहरूलाई तर्साउन खोजिएको टिप्पणी गरे। 

भूसालले पार्टीलाई विधि र विधानअनुसार चलाउन खोज्दा ओलीकै कारण समस्या बल्झिरहेको दाबी गरे। 'हामी पार्टीलाई व्यवस्थित रुपमा चलाउन चाहन्छौँ। पार्टीलाई निजी नभएर सामूहिकतामा चल्नुपर्छ’, उनको भनाइ छ।  

यस्तै अर्का नेता भीम रावलले पनि ओलीले आफूसहित पार्टी निर्वाचित नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद भएको टिप्पणी गरे। ओलीले अवैध रुपमा बैठक बसालेर आफूसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भन्दै यो आफूले अस्वीकार गर्ने पनि स्पष्ट पारे।  

रावलले ट्विटमा लेखेका छन्, ‘अवैध कमिटीको कथित निर्णयबाट म समेत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका साथीहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ। यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु।’ 

राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति निमन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने ओलीले सोधेको स्पष्टीकरण आफूले पूर्ण रुपमा स्वीकार नगर्ने उनको तर्क छ। 

वामदेवको फरक मत 

एमालेभित्रको विवाद अर्को धारमा देखिएका नेता हुन् वामदेव गौतम। सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्यूँत्याएपछि खुसी भएको तर्क गर्दै एमाले एकतामा लागिरहेका छन्। 

उनले पार्टीभित्रको विवादको क्रममा कतै नलागेर पार्टी एकताको पक्षमा उभिएको दाबी गरे। उनले आफू संसद् विघटन र अविश्वासको प्रस्ताव आउँदासमेत एकताको पक्षमा लागेको बताए।

बैठकमा सहभागी भएपछि उनले ओली समक्ष आत्मसमर्पण नगरेको र नगर्ने पनि प्रस्ट्याए। ओली पार्टी अध्यक्ष भएकाले समूह भन्न नमिल्ने बताएका छन्। तर, ओलीको कार्यशैली गलत रहेको उनको दाबी छ। 

‘फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन, त्यसले गरेका निर्णय फिर्ता लिनैपर्छ,’ गौतमले भनेका छन्, ‘पार्टीभित्र रहेका कमरेडहरूलाई उहाँहरूको अनुपस्थितिमा कुनै कारबाही गर्न मिल्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.