|

धनकुटा : बिहानीपख सधैँ झैँ कुखुराको बास्यो। त्यसपछि गाउँका सबै मानिस उठेर नियमित काममा लागे।

गाउँका अगुवा मुखिया बा सबै गाउँलेको 'घरमा के छ कसो छ?' भनी सोध्दै हिँडिरहेका थिए। सबैले ती मुखिया बालाई नमस्कार गरे।

त्यसपछि केही समयमै गाउँ नै हल्लिन थाल्यो। त्यहीबेला कोही भने ‘ऐया मरेँ... बचाउ बचाउ, म त मरेँ, बचाउ!’ भन्दै चिच्याउन थाले‌।

​लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गाडी साइरन बजाउँदै गाउँ पुग्यो। व्यक्तिगत सुरक्षा तयारीसाथ आएका सुरक्षाकर्मीहरूमध्ये केहीले घाइेतलाई स्टेचरमा राखेर सुरक्षित स्थानतर्फ लान थाले भने कोही घरमा पुरिएका मानिसको उद्धार गर्न थाले।

खुला ठाउँमा रेडक्रसकर्मीहरू प्राथमिक उपचार गर्न व्यस्त देखिन्थे। गम्भीर घाइतेलाई थप उपचारका लागि एम्बुलेन्समार्फत अन्यत्र पठाउन थालियो।

त्यहीबेला जिल्ला प्रशासन कार्यालयको ब्यानर तल बसेका धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जिल्ला विपद्‌ व्यवस्थापन समितिको र चौबीसे गाउँपालिकाको ब्यानर तल बसेका गाउँपालिका अध्यक्ष खजिन्द्र राईले गाउँपालिकाको विपद्‌ व्यवस्थापनको आकस्मिक बैठक बोलाए। 

झट्ट हेर्दा धनकुटाको चौबीसे गाउँपालिका-६, राजारानीको मझुवाटारमा ठूलै विपद्‌ आइ परेजस्तो देखिन्थ्यो। तर, त्यहाँ वास्तविक कुनै विपद्‌ नभई जिल्ला विपद्‌ व्यवस्थापन समितिले चौबीसे गाउँपालिकाको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी धनकुटाको प्राविधिक सहयोगमा आयोजना गरेको भूकम्प, आगलागी र सडक दुर्घटनामा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यासको पहिलो भाग हो यो। 

त्यसको केही समयपछि भएको कृत्रिम घटना अभ्यासको दोस्रो भागमा सोही गाउँमा अवस्था सामान्य बन्दै गइरहेको देखाइयो। तर, केही मादक पदार्थ सेवन गरेका युवाको लापरबाहीले  गाउँमा पुन: अर्को विपद्‌ (आगलागी) निम्तिन्छ।

आगलागी हुँदापनि खोज तथा उद्धारमा त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिन्छन्‌ भने प्राथमिक उपचारमा रेडक्रसकर्मी तैनाथ हुन्छन्‌।

कृत्रिम घटना अभ्यासको तेस्रो भागमा ट्राफिक प्रहरी सडकमा सवारी चेकजाँच गरिरहेका देखिन्थे। निकै सवारी चेक गरिसकेपछि एक जना अलिक फरक तरिकाको केटो हेल्मेट नलगाइ मोटरसाइकलमा केटी लिएर आएको देखिन्थ्यो।

सवारी चेकजाँचमा रहेका प्रहरीले मोटरसाइकल रोक्न सिट्ठी बजाएपनि उसले मोटरसाइकलको गति बढाउँदै लाँदा विपरित दिशाबाट आएको गाडिमा ठोक्एिर दुर्घटनामा परि मोटरसाइकलमा सवार दुवै जना शक्त घाइते हुन्छन्‌। दुवैलाई थप उपचारका लागि पठाइन्छ। 

भूकम्प, आगलागी र सवारी दुर्घटना जस्ता विपद् आइलागे कसरी पूर्वतयारी गर्ने भनेर कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी अभ्यास गरिएको चौबीसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए। उनले विपद् आएमा कसरी उद्धार कसरी गर्ने भन्ने, कसरी तयारी गर्ने र पूर्वतयारी गर्ने भन्नेबारे योजना बनाउन सहज गाउँपालिकालाई सहयोग भएको जानकारी दिए।

विपदका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी भएको राईको भनाइ छ। 

विगतमा यस्ता कार्यक्रम सदरमुकाममा वा सदरमुकामको नजिकमा हुने गरेका थिए। तर, यो पटक भने विपदमा पूर्वतयारी गरी प्रतिकार्य गर्न गाउँमा पनि सहज होस्‌ भनेर सदमुकामबाट ६० किलोमिटर टाढा कृत्रिम अभ्यास कार्यक्रम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। विपद्‌का घटना जतिबेला र जहाँसुकै हुनसक्ने भएकाले पूर्वतयारीस्वरुप  कृत्रिम अभ्यास गरिएको उनले बताए।

नेपाल सरकारको विपद्‌ तयारी तथा प्रतिकार्य योजना मार्गदर्शन, २०६७ को प्रथम संशोधन २०७६ अनुसार कुनै पनि विपद्‌ पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिसकेपछि त्यसलाई प्रमाणीकरण गर्न अभ्यास गर्नुपर्छ भन्ने मार्ग निर्देशन अनुसार कृत्रिम अभ्यास गरिएको रेडक्रस धनकुटाका सभापति हरिकुमार राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.