भीम रावल भन्छन् : पत्रमा के छ मलाई थाहा छैन

|

काठमाडौं : पार्टीको नियम उल्लघंन गरेको भन्दै नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ। पार्टी महासचिव ईश्वर पोखरेलले तीन दिनभित्र जवाफ फर्काउनका लागि स्पष्टीकरण पत्र पठाएका छन्। 

नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई एमालेले तीन दिने स्पष्टीकरण पत्र पठाएको छ। तर, एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित भएको दावी सहित नेता रावलले अध्यक्ष केपी शर्मा ओलीको अवैध बैठकको कुनै निर्णय नमान्ने तर्क गर्छन्। 

‘उहाँको बैठकको आधिकारिकता कहाँ छ ? हामीलाई उहाँले कारवाही प्रक्रिया अगाडि बढाउन मिल्छ ?’ उनले थाहाखबरसँग भने, ‘उहाँको अवैध बैठकले हामीलाई कारवाही गर्ने कुरा नै हास्यास्पद छ।’

उनले आफूले पत्र नहेरेको र पत्रमा के उल्लेख गरेको छ जानकारी समेत नभएको बताउँछन्। ‘पार्टीको विधान १३ (क), १४ र ६४ को ठाडो उल्लघंन गरेर पार्टी अध्यक्षले केन्द्रीय कमिटीमा थप्ने र राख्ने निर्णय गरिराख्नुभएको छ। उहाँको अवैध बैठकको कुनै निर्णय स्वीकार्य छैन’ उनले भने, ‘पार्टीबाट सोधिएको भनिएको स्पष्टीकरण पत्रको कुनै अर्थ छैन।’

पार्टीमा ओलीको स्वेच्छाचारी कदम नचल्ने दाबी उनकाे दाबी छ। ‘पार्टीमा ओलीले स्वेच्छाचारी, निरंकुश र मनपरितन्त्र चलाई राख्नुभएको छ। कारवाहीको कुनै अर्थ छैन’ उनले भने, ‘अध्यक्ष ओलीले पार्टीको ९ औँ महाधिवेशनको विधान र संविधान उल्लघंन गर्नुभएको छ। उहाँलाई कारवाही गर्नुपर्ने देखियो।’

यता, नेता नेपाल समूहको प्रचार विभाग प्रमुख योगेश भट्टराई स्पष्टीकरण सोध्नेहरू नै लाखौँ प्रश्नको घेरामा भएको टिप्पणी गर्छन्। 

एमालेले चार नेतालाई स्पष्टीकरण पत्र घरघरमा पुर्याएपछि नेता भट्टराईले लेखेका छन्, ‘सोध्नेहरू स्वयं लाखौ प्रश्नको घेरामा छन्।’

चार नेताहरुलाई पत्र आएपछि ओली इतरका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। अबको रणनीति तय गर्नका लागि आन्तरिक छलफल चलिरहेको एक नेताले बताए। 

यता, प्रधानमन्त्री ओली समूहका नेता तथा प्रमुख सचेतक विशाल भट्टराई स्पष्टीकरण पत्र काट्दैमा तर्सिनुपर्ने कुनै कारण नभएको तर्क गर्छन्।

‘हामी पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने पक्षमा छौँ। अहिले हाम्रो पहल सबैलाई समेटेर एकजुट भएर मिलेर जाने नै हो’ उनले भने।

नेकपाको एकता भंग गरेपछि ब्यूँतिएको नेकपा एमाले विभाजनको संघारमा पुगेको महसुस गर्न थालिएको छ। पार्टी अध्यक्ष ओली एकलौटी ढंगले चलेको भन्दै बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तीव्रताको साथ अगाडि बढाइरहेको छ। 

ओलीले एकलौटी रुपमा फागुन २८ गते बैठक बसेर माओवादी केन्द्रबाट आफ्नो खेमामा उभिएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेपछि एमालेभित्रको विवाद चर्किएको छ। 

खनाल–नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेर ओलीको कदमविरुद्ध पछि नहट्ने निष्कर्ष निकालेको थियो। अध्यक्ष ओलीले कारवाही गर्ने भनेर तर्साउन खोजेको भन्दै कारवाही भोग्न तयार रहेको नेता भट्टराईले टिप्पणी गरेका थिए। 

शनिबार ओली पक्षको बालुवाटारमा बसेको भेलाले ओलीलाई पार्टीभित्र थप शक्तिशाली बनाएको छ। ओलीले अब समानुपातिक सांसदलाई राख्न र हटाउन पाउने अधिकारसमेत आफ्नो हातमा लिएका छन्। 

यस्तै, बैठकले समानान्तर कमिटीको गतिविधि अगाडि बढाउने विरुद्ध कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.