डडेल्धुरा : महाकाली नदीमा साहसिक जलयात्रा र्याफ्टिङ सुुरु गरिएको छ। विश्व पानी दिवसको अवसरमा नेपाल–भारतको सीमा नदी महाकालीमा र्याफ्टिङ सुरु गरिएको हो।
दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीमा जलयात्राको सम्भाव्यता अध्ययनपछि र्याफ्टिङ सुरु गरिएको हो। सोमबार परशुरामधाममा परशुराम नरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदले र्याफ्टिङको शुभारम्भ गरेका हुन्।
साहसिक पर्यटकका लागि दीर्घकालीन रुपमा महाकालीमा बोट सञ्चालनका लागि पनि टेवा पुग्ने भएकोले महाकालीमा र्याफ्टिङ सुरु गरिएको हो। दुई वटा बोट कञ्चनपुरको खल्ला मुसेट्टिसम्म जाने कार्यक्रमअनुसार नगरप्रमुख साउँदले सोमबार बिहान र्याफ्टिङको शुभारम्भ गरेका हुन्।
आन्तरिक तथा छिमेकी भारतका पर्यटक धार्मिक क्षेत्र परशुरामधाममा भित्र्याउन र्याफ्टिङ सञ्चालन गरिएको नगरप्रमुख साउँदले बताए।
पूर्णगिरिमा आउने भक्तजनलाई जलयात्रामार्फत परशुराममा ल्याई कञ्चनपुरको महेन्द्रगरमा रहेको सिद्धनाथमा लगिने बताइएको छ। यसले परशुराम क्षेत्रको धार्मिक पर्यटकहरूको संख्यामा वृद्धि हुने विश्वाससमेत गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।