थप एक सय २७ ठाउँमा ट्राफिक बत्ती जडान गरिने

|

काठमाडौं :  राजधानी उपत्यकाभित्र रातको समयमा मालवाहक सवारीसाधन चल्ने समय तोकिने भएको छ।

सडकमा सवारीसाधनको चाप बढेकाले ट्राफिक जाम व्यवस्थित पार्न यस्तो योजना ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताएका छन्।

उनका अनुसार लकडाउन खुलेपछि अहिले सडकमा सवारीसाधनको चाप बढ्दो छ। जसकारण ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ।

‘लकडाउन खुलेपछि साविक अवस्थामा झैं सवारीसाधन चलेका छन्,’ उनले भने, ‘राजनीतिक कार्यक्रमहरू सडकमै हुने गरेको छ, त्यसैले ट्राफिक दबाब बढेको छ, यही समस्यालाई समाधान गर्न रातमा चल्ने मालवाहक सवारीसाधनलाई एक समयमा मात्रै चल्न दिने योजना बनाएका छौँ, छलफलबाट समय तोकेर लागू गर्छौं।’

समय तोकेपछि सवारीसाधन स्वत:स्फुर्त रूपमा चल्ने उनको बुझाई छ। उनका अनुसार अहिले सडकमा १६ लाख सवारीसाधन छन्। सडकको आकारले यति धेरै सवारीसाधन थेग्न सकिरहेको छैन।

अधिकारीले थपे, ‘पहिला ५/६ लाखको हाराहारीमा सवारीसाधन चल्दा समस्या हुँदैन थियो, तर अहिले त समस्या बढ्दै गयो।’ उनले साना सवारीसाधन 'पीक आवर' अर्थात चापको समयमा बाहिर ननिकाल्न उद्योगी व्यवसायलाई अनुरोध गरेको बताए। स्कुल बसहरूलाई पनि अब निश्चित समयमा सिमित गर्ने उनले जानकारी दिए। 

एक सय २७ ठाउमा ट्राफिक लाइट थप्ने

प्रवक्ता अधिकारीले प्राविधिक रूपले ट्राफिक जामको व्यवस्थापन गर्न एक सय २७ ठाउँमा नयाँ ट्राफिक बत्ती जडान गर्ने महाशाखाको योजना रहेको बताए।

‘हामीले जाम र दुर्घटना हटाउन भएसम्मका सबै विधि तथा प्रकृया अपनाएका छाैं, हाम्रै पहलमा बिएन्डबी अस्पताल,एकान्तकुना, लैनचौर, एकेडेमी मोड लगायत ३२ ठाउँमा ट्राफिक बत्ती हालेका छौँ, अब कमलपोखरी, एयरपोर्ट, गैरीधारा लगायत अन्य एक सय २७ ठाउँमा बत्ती थप्छौँ।’

ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले पनि पैदलयात्रुको सुरक्षा गर्न बत्ती राख्ने काम पहिलो प्राथमिकतामा राखेको बताए। उनले भने, ‘यात्रुहरूको सुरक्षाका लागि विभिन्न संस्था र स्कुलका स्वयमसेवक खटाएका छौं, दुई महिनादेखि निरन्तर यो कार्यक्रम चलाएका छौँ, यसले सेवा-भावसँगै यात्रुहरू सुरक्षित हुनेछन्।’

सोमबारबाट राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरी ९५ जना विद्यार्थीहरूलाई स्वयंसेवक सम्बन्धी प्रशिक्षण दिई सवारी तथा पैदल यात्रीको चाप हुने विभिन्न चोक, आकाशेपुल र जेब्रा क्रसिङमा १० दिनसम्मका लागि स्वयंसेवक परिचालन गरेको महाशाखाले जनाएको छ।

किन बिग्रन्छ ट्राफिक बत्ती ? 

महाशाखाले ट्राफिक जाम हटाउन ट्राफिक बत्ती जडान गरेपनि कतिपय ठाउँमा बत्ती बल्न छाडेका छन्। बर्खायाममा छिट्टै बत्ती बिग्रने गरेको छ।

महाशाखाका प्रवक्ता अधिकारी भन्छन्, ‘अहिले हाम्रो लगानीले मात्रै बत्ती जोडेका छैनौँ, विभिन्न संघसंस्थासँग मागेका पैसाले जाेड्छौं, उनीहरूले नै प्राविधिक खोजेर बत्ती हाली हामीलाई हस्तान्तरण गर्छन्, कतिपय ठाउँमा त्यसको मर्मतसम्भार नगर्दा बिग्रेको हुनसक्छ।’ उनले बिग्रेका बत्ती मर्मतसम्भार गर्दै जाने बताए। 

दैनिक तीन हजार सवारीसाधन कारबाहीमा

महाशाखाका प्रवक्ता अधिकारीले दैनिक तीन हजारको हाराहारीमा सवारी साधनलाई कारबाही गर्ने गरेको बताए। उनले भने, ‘कारबाहीलाई तीव्र बनाएका छौँ, माघ महिनामा मात्रै कारबाहीबाट ४ करोड रुपैयाँ राजश्व उठाएका छौँ।’

उनका अनुसार सवारीसाधन धनीले ट्राफिक नियम उल्लघंन गरेबापत ५ सयदेखि एक हजारसम्म जरिवाना गराउने गरेको छ। एक हजारभन्दा बढीको कारबाही परेको खण्डमा महाशाखाले यातायात कार्यलयमा पठाउने गरेको छ। 

उनले पहिलेभन्दा अहिले कम सवारीसाधन दुर्घटना हुने गरेको जानकारी दिए। अधिकारीले भने, ‘दैनिक हुने गरेका घटना विश्लेषण गर्दा अहिले सवारीसाधनबाट सर्वसाधारण र यात्रुको ज्यान जाने दर घटेको छ, कहिलेकाहीँ एक/दुई जनाको जान जान्छ, पहिले धेरै हताहती हुन्थ्यो।’

हाल दैनिक २० देखि २५ वटासम्म सवारीसाधन दुर्घटना हुने गरेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.