|

रुकुम (पूर्व) : रुकुमपूर्वका किसानहरू यतिखेर आलु रोप्ने सुरसार गरिरहेका छन्। चैत महिना लागेसँगै किसानहरू आलु रोप्ने सुरसारमा लागेका हुन्।

गाउँमा किसानलाई बर्खे आलु रोप्ने चटारोले कृषकमा उत्साह छ, तर आलुको बीउ अभाव भएपछि उनीहरू निराश छन्। 

अहिले कृषक आलु रोप्न दिनभर खेतबारी सफाइ गर्ने काम भइरहेको छ। पुरुषहरू खनजोत र महिला डोकोमा गाई भैंसीको मल बोक्न व्यस्त भएका छन्।

आकासे पानी परेको खण्डमा फागुन महिनाको दोस्रो हप्तादेखि बर्खे आलु रोप्न शुरू हुने गरेकोमा चैत महिनाभित्र आलु रोपि सक्नुपर्ने कृषकहरू बताउँछन्‌। 

यस वर्ष आकासे पानी नपरेको र आलुको बीउ अभाव रहेकोले भर्खरै आलु रोप्ने काम सुरसार गरिएको भूमे गाउँपालिका–२, गाबाङका जुनकुमार रोका मगरले बताए। विगत वर्षहरूमा गाउँमा आलुको बीउ भण्डार गरिएको प्रशस्त पाइने गरेको बीउ यो वर्ष बीउ अभाव भएको उनले जानकारी दिए।

रोका मात्रै होइनन्‌, जिल्लामा तीन गाउँपालिका रहेको पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा बीउ अभाव हुँदा आलु रोप्ने समयमा कृषक चिन्तित बनेका छन्। 

भारतबाट आयात

गाउँमा आलुको बीउ अभाव भएपछि भूमे गाउँपालिका–२ स्थित रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भारतको हिमाञ्चल प्रदेशबाट बीउ ल्याएको व्यवस्थापक सन्दीप अधिकारीले बताए।

आलु रोप्ने समय शुरू भइसक्दा पनि गाउँमा बीउ अभाव भएपछि यस ठाउँमा अनुकूल हुने बीउ गाउँपालिकाको समन्वयमा भारतको हिमाञ्चल प्रदेशबाट ल्याइएको हो।

पहिलो चरणमा एक २० क्विन्टल ल्याइएकोमा प्रतिकिलो ७५ रुपैयाँका दरले सबै बीउ बिक्री भइसकेको सहकारीले जनाएको छ। कृषकले पुन: माग गरेपछि दुई/तीन दिनमै भारतबाट एक सय ३० क्विन्टल बीउ आउन लागेको सहकारीले जानकारी दिएको छ।

गत वर्ष कम उत्पादन हुँदा बीउ अभाव

जिल्लाको तीन गाउँपालिकामध्ये पुथाउत्तरगंगा गाउँपालिकामा प्रशस्त मात्रामा आलु उत्पादन हुने गरेको थियो।

गत वर्ष उत्पादनमा कमी आएपछि हाल आलुको बीउ अभाव भएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)ले जानकारी दिइन्। गत वर्षहरूमा यहाँका कृषकले बेच्नका लागि समेत बीउ आलु उत्पादन गर्ने गर्थे।

सलह कीराले खाइदिएपछि गत वर्ष आलु उत्पादनमा कमी आएको स्थानीय कृषकले जनाएका छन्। अलिअलि उत्पादन भएको आलु पनि खन्ने बेलामै सबै बिक्री भइसकेकोले अहिले बीउ अभाव भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.